निर्माणको अन्तिम चरणमा पुगेको हेटौंडा अस्पतालको भवन ।

हेटौंडाः हेटौंडा अस्पतालको नयाँ भवन निर्माणको अन्तिम चरणमा रहेको छ । निर्माण कम्पनिले यही साउन महिनाभित्रै अस्पताललाई भवन हस्तान्तरण गर्ने तयारी गरेको छ । भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेसँगै अस्पताल प्रशासनले भवनको पहिलो तल्लामा आकस्मिक सेवा, काउन्टर र फार्मेसी सञ्चालनका लागि आवश्यक तयारी गरिरहेको छ ।

भदौ पहिलो सातादेखि नै आकस्मिक सेवा, काउन्टर र फार्मेसी नयाँ भवनमा सञ्चालनको तयारी भइरहेको हेटौंडा अस्पतालका सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिनुभएको छ । डा. सापकोटाका अनुसार साउन अन्तिममा भवन हस्तान्तरण लगत्तै भदौ पहिलो सातादेखि नयाँ भवनबाट व्यवस्थित रुपमा सेवा प्रदान गरिनेछ । ७० बेड सञ्चालन गर्न मिल्ने गरी नयाँ भवन निर्माण भएसँगै हेटौंडा अस्पताल २ सय बेडको अस्पतालको रुपमा विस्तार हुनेछ ।

संघीय सरकारले ५० बेड क्षमताको जिल्ला अस्पतालको रुपमा सेवा प्रदान गर्न स्वीकृति दिएको हेटौंडा अस्पतालले अहिले अस्पताल विकास समितिमातहतमा थप ५० बेड सञ्चालन गर्दै आएको छ । नयाँ भवन पूर्णरुपमा सञ्चालनमा आउँदा २ सय बेडमा सेवा सञ्चालन गर्न सकिने डा। सापकोटाको भनाइ छ ।