आश्रम सञ्चालक समितिका अध्यक्ष सिद्धिलाल श्रेष्ठलाई नगद एक लाख सहयोग गर्नुहुँदै खिना गिरी ।

हेटौंडाः सामान्यतः व्यक्ति बेसाहारा भएपछि, खान–लाउन नसक्ने भएपछि वृद्धाश्रमको आश्रयमा पुग्छन् । आश्रमका सञ्चालकले त्यस्ता व्यक्तिलाई सहयोग मागेर, विभिन्न स्रोत खोजी गरेर खाने, बस्ने, स्वास्थ्य उपचारको व्यवस्था मिलाउने गर्छन् । तर, आश्रममा आश्रितले नै आश्रमलाई सहयोग गरेका छन् ।

हेटौंडा–२, चौकीटोलस्थित ओम वृद्धाश्रममा आश्रित खिना गिरीले आफू बस्दै आएको आश्रमलाई नै एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ । सोमबार बिहान आश्रम सञ्चालक समितिका अध्यक्ष सिद्धिलाल श्रेष्ठलाई नगद एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ । गिरीले आश्रमको अक्षयकोषमा राख्ने गरी एकलाख रुपैयाँ सहयोग गर्नुभएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यसअघि पनि गिरीले बेला बेलामा सहयोग गर्ने गर्नुभएको छ ।

“२०६४ सालमा आश्रम स्थापना भएदेखि नै बस्दै आउनुभएका खिना गिरीले आश्रमलाई बेला बेलामा सहयोग गर्दै आउनुभएको छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “सोमबार बिहानै पनि उहाँले एक लाख रुपैयाँ नगदै हस्तान्तरण गर्नुभयो ।” आश्रमको अक्षयकोषमा ३२ लाख ६४ हजार रुपैयाँ रहेको जानकारी गराउनुहुँदै अध्यक्ष श्रेष्ठले अब अक्षयकोष ३३ लाख ६४ हजार रुपैयाँ भएको बताउनुभयो ।

ओम वृद्धाश्रममा ३० जना ज्येष्ठ नागरिक आश्रित हुनुहुन्छ । हरेकदिन विभिन्न क्षेत्रका व्यक्ति, संघ, संस्थाले आश्रमलाई नगद तथा खाद्यान्न सहयोग गर्दै आएको छ । आफ्नै जमिन र भवन रहेको आश्रममा आश्रितलाई स्याहार गर्न २ जना कर्मचारी नियुक्त गरिएको छ ।