२०६३ सालको सहकारी दिवस झल्झली सम्झँंदै छु । सहकारी स्वर्ण महोत्सव थियो, त्यो वर्ष । संयोग त्यो साल र यस वर्षको सहकारीको उमेर वर्ष मिलेको पनि रहेछ । तर मिलेन उस्तै गरी मनाउने अवसर । खास्सै आफ्नो जन्मदिन मनाईंदैन तर सहकारी दिवस र सहकारी स्थापना दिवस साताभर कार्यक्रम नै कार्यक्रम गरी मनाईन्थ्यो । हामीलाई यतिखेर कहाँ फुर्सद हुन्थ्यो र । आजको दिनमा । कुन ठाउँबाट कतिजना सदरमुकाम उतार्ने । उत्कृष्ट र्यालीकर्ता पुरस्कृत गरिन्छ । सबैलाई सूचना पुग्यो पुगेन होला । बस समयमा हिँडेन भने टाढादेखि आउनु पर्छ । कार्यक्रम बिहानै हुन्छ । यी यस्ता धरै कुरा । हरेक दिवसको कम्तीमा ५ दिन अघिदेखि बेफुर्सद काममा दौडने बानी परेको मान्छेहरु हामी सहकारीकर्मी ।
अझ स्वर्ण महोत्सव वर्षमा त सात दिन अघिदेखि लगातार कार्यक्रम गरिएको थियो । सहकारी लोक दोहोरी (सहकारी सहकारीमा प्रतिस्पर्धा गरी उत्कृष्टलाई जिल्लामा प्रतिस्पर्धा), सहकारी बहस प्रतियोगिता (सहकारीका सदस्यहरु माझ), सहकारी हाजिरीजवाफ प्रतियोगिता, गाउँ, टोल बस्तिमा सहकारी शिक्षा, प्रजनन् स्वास्थ्य शिक्षा कार्यक्रम आदि संघको प्रतिनीधिहरुको उपस्थिति भएरै गरिन्थ्यो ।
जिल्लाभरका सहकारीका सबै विषयगत सहकारी संघहरु तथा सहकारीको सरकारी कार्यालयको नियमित बैठक बस्ने । आपसमा मिली योजना तर्जुमा गर्ने कार्यक्रम गर्ने । आपसी साझा धारणा बनाई कार्यक्रमलाई अगाडि बढाउने जस्ता क्रियाकलापले जिल्लाको सहकारी अभियानलाई बलियो बनाउन थप बल पुगेको थियो । भने अर्को तिर देशका अन्य भागका सहकारीकर्मीहरुको लागि यो सहकारी सञ्जालको अभ्यास नमुना अभ्यासको रुपमा पनि देखियो ।
स्वर्ण महोत्सव वर्षमा हाम्रो सडकमा मुख्य नारा थियो । सहकारी मन्त्रालय स्थापित हुनैपर्छ । पछि स्थापित पनि भयो । जसको परिणम आज सातै प्रदेशले अन्य विषयसँग जोडिएर भएपनि आफ्नै मन्त्रालय प्राप्त गरेको छ । सहकारी क्षेत्रमा सुधार गर्नुपर्ने, सरकारी संयन्त्र बनाउनु पर्ने थप आवश्यकताहरु त प्रसस्तै बाँकी रहेको छन् । तैपनि सहकारी ऐन, नियमावलीहरु ल्याउन, सहकारी क्षेत्रका लागि भावनात्मक तथा अन्य मनोवल बढाउन निक्कै मद्दत पुगेको छ ।
दिवसलाई स्थापित गर्न त्यसपछि पनि निरन्तर यस्ता कार्यक्रमहरु हरेक वर्ष चल्दै आए । वर्ष अनुसार सहकारीका नाराहरु फेरिए । कार्यक्रमहरुमा पनि फेरबदल आयो पछिल्ला वर्षहरुमा । रक्तदान, सडक मानवमुक्त नेपाल बनाउने अभियानमा सहयोग, हस्पिटलहरुमा फलफूल वितरण यी कार्यक्रमको साथमा निरन्तर सहकारी प्रभातफेरी । प्रभातफेरीमा थरी थरीका मौलिक बाजागाजा, झाँकी, प्लेकार्ड, माईकिङ मार्फत् सहकारीका आवश्यकताका, पहिचानका भनाईहरु, नाराहरु । सहकारीकर्मीका लामा–लामा लस्कर, आ–आफ्ना पहिचानसहितको उपस्थिति । यसदिन र यस कार्यक्रमले सहकारी भनी सम्बोधन गर्न असमर्थ वर्गलाई सहकारीमय वातावरण दिन ठूलो टेवा पुगेको हो । राज्य पुनर्संरचनासँगै स्थानीय तहस्तरीय सहकारी जागरण अभियानले अझ मूर्तरुप धारण गर्दै आएको छ ।
नेपालमा वि.सं. २०१३ साल चैत्र २० गते पहिलो सहकारी स्थापना भएको ईतिहासलाई लिएर राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो । ६३ औं राष्ट्रिय सहकारी दिवस मनाउनका लागि संघीय तथा जिल्लास्तरीय कार्यक्रम सञ्चालन मूल समारोह समिति बनिसकेको थियो । कार्यक्रमको ढाँचा र जिम्मेवारी समेत तय भैसकेको भए पनि विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को सनसनी र यसबाट बच्न र बचाउनको लागि सामाजिक दुरी कायम गर्नुपर्ने, भिडभाडबाट यो अकल्पनीय तरिकाले सर्ने र मानव जीवन ध्वंस हुने देखिएपछि चैत्र ११ देखि १७ र पुनःथप गरी २५ गतेसम्म सरकारले सबै नागरिकलाई घरमै बसेर यो महामारीमा सघाउन आह्वान गरेसँगै सरकारसँग ऐक्यबद्धता जनाउँदै सम्पूर्ण कार्यक्रमहरुलाई स्थगन गरियो यस वर्ष ।
यस विषम् परिस्थिमा राज्यको एक्लो लडाईले मात्र सम्भव छैन । सबै तह र तप्काबाट नागरिकको जीवन रक्षार्थ कार्य गर्नु पर्छ । यसको लागि घरमै बसीदिनु र बस्नको लागि प्रेरणा दिनु पनि महत्वपूर्ण पाटोको रुपमा रहेको छ । सहकारी अभियानकर्मीको अगाडि धेरैवटा सामाजिक सेवाका बाटाहरु देखिन्छ । जस्तै स्थानीय तह, प्रदेश सरकार वा संघीय सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषमा योगदान, यी तीनै तहसँग समन्वय गरी दैनिक ज्यालादारी मजदुरहरुलाई खाद्यान्नको व्यवस्थापन, बाटोमा अलपत्र परेकाहरुलाई खानाको प्रवन्ध, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी, सञ्चारकर्मीहरुलाई सुरक्षा सामाग्रीहरुको वितरण वा सबैखाले स्वास्थ्य सेवाप्रदायक निकायले आफ्ना सेवा सुचारु गर्न नसकिरहेको वर्तमान परिस्थितिमा सहकारी क्षेत्रको आफ्नै लगानीमा सेवाप्रवाह गर्ने स्वास्थ्य सहकारीको स्तर उन्नति तथा कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापनाको पहल ।
सहकारीहरुको शीर्षस्थ संघ राष्ट्रिय सहकारी महासंघले यी सबै क्षेत्रमा कुनै न कुनै तरिकाबाट देशभरका सहकारीहरुले पुर्याइरहेको योगदानको लागि सम्मानको साथै कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापनामा ऐक्यबद्धता जनाउन समेत आह्वान गरेको छ । परिस्थिति बदलिएको छ एकाएक जसको कारण राज्यको अर्थतन्त्रको मुख्य तीन खम्बा मध्ये एक खम्बा सहकारीले भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने योजनासहित मर्यादित श्रम र पर्यटनका लागि सहकारी भन्ने यस वर्षको मुख्यनारा लिएको सहकारी अभियानले आजआम सहकारीको टेवा स्वस्थ सदस्य र सामुदायिक सेवाभन्न शुरु गरेका छन् ।
यस विषम् परिस्थितिमा हामी सबै धैर्यवान बनौं । आफ्नो, परिवारको, ज्येष्ठ नागरिकहरुको, बालबालिकाहरुको स्वास्थ्यमा ख्याल राखौं । समस्यामा परेकाहरुलाई सघाऔं । फरक फरक समयमा फरक फरक महामारी मानव समुदायले नभोगेका होईनौं । आज एक मानवबाट अर्कोमा छिटो सर्ने र थाहै नपाई सर्ने रोग भएकाले मानव–मानव बीचको दुरी आवश्यक भयो र यो एकान्तबासको अवस्था आयो । मन्छे त्यस्तो प्रणी हो जहाँ उसलाई समस्या पर्छ उ त्यहीँ अर्को उपाय जन्माउँछ । यसैको परिणाम सहकारी ऐनले सबै किसिमका सहकारीहरुले स्वास्थ्य सहकारीमा लगानी गर्न खुल्ला गरेको विषयलाई अवसरको रुपमा ग्रहण गर्न सकिने अवस्था छ । ६३ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा नविन कार्यमा ऐक्यबद्धतासहित मंगलमय शुभकामना ।
(लेखक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरकी अध्यक्ष हुनुहुन्छ ।)