संप्रस पौडेल

–संप्रस पौडेल

सुधारे सुधार नसुधारे उधार भन्दै एक हुल खाइलाग्दा जत्था पत्रिकाका अफिसमा आइलागे । आइलागेका मात्रै होइनन् उखुमै जाइलागे । कुरा के भने अघिल्लो साता कौशी खेतीमा ४ वटा सिमी फलाएको समाचार संकलनमा अनलाइन मिडियावाला आएको थियो । चोकचोक अनलाइन डटकममा छापिएपछि लिंक पठाएछ । भोलिपल्ट एउटाले तपाईँको समाचार आएको छ, पत्रिकाको बार्षिक ग्राहक बन्नुपर्छ है भन्दै पत्रिका गेटभित्र हुत्याएर हिँड्यो । समाचार केराका बोक्रामा झैं चिप्लिएछन् । घरधनीको नाम गोपीलाल हुनुपर्नेमा पापीलाल लेखिदिएछन् । त्यतिन्ज्याल पत्रिकावालाले टोलभरी पत्रिका बाँडिसकेको थियो । अनलाइनबाट सार्ने अर्को टोलटोल अनलाइन डटकमले फिल्ड रिपोर्टिङको हौवा दिँदै नाम त टोपीलाल पो लेखिदिएछ । छिमेकीले तपाईँका नाम त कति कति भन्दै जिस्काएपछि पो बल्ल थाहा पाए उनले ।

अनलाइनबाट तात्तातैको सार्दा घरघर अनलाइनमा आइपुग्दा चोपीलाल पो हुन गएछ । त्यसैबाट साभार गर्दै अर्को साप्ताहिक आजै छापिएर गेटभित्र उडान भरेछ । छ्या उल्कै सडिएछ, जिरा पोको पार्न पनि लाजै हुने कस्तो पत्रिका पो पढिएछ भन्दै उपल्ला छिमेकीले पनि वचन लगाइहाले । अली अघि गरमप्रसादलाई यस्तै परेको थियो । आफूले गमलामा खुर्सानी फलाएको समाचार छाप्नेले अर्कैकी श्रीमतीलाई आफ्नो जोडी बनाएपछि ससुराली गैसक्नु भएन भन्थे ।

एउटा निजामती कर्मचारी दुखेसो पोख्दै बाटोमा निस्किए– एक घर एक अनलाइन छँदैथियो । गल्ती हुँदा सच्याउनै नपाई भाइरल भैसक्थे । ख्वाक्क खोक्न पनि नहुने, गाडी रोक्न पनि नहुने । जता पनि माइक, क्यामेरा तेस्र्याइहाल्ने । अफिसमा सेवाग्राही लाइन लागेका छन् । उता साढे सत्ताइस पटक सेतो सटमा कालो टाँक किन लगाएको भन्दै सोधेर हैरान पार्दोछ । शौचालय जाँदा पिसाब गर्न ३ मिनेट ३० सेकेण्ड लाग्ने कामलाई किन १० सेकेण्ड बढी लगाएको भन्दै सोध्दोछ । अरू त अरू नेपालको अन्तरिम संविधान २०६३ अनुसार भन्दै कानून पढाउने होइन नि यार ।

उनलाई एक मोबाइल एक मिडियावाला मोबाइल अनलाइन पत्रिकाले धुरुक्कै पारेको रहेछ । झनै नाम र पद बिग्रियो सच्याउ भन्दा पनि सच्याउन नमिल्ने च्याउसरी प्रिन्ट मिडियाले भुसुक्कै पारेछ । छापेपछि छाप्यो छाप्यो । उनी भन्थे– घर–घर पुगेर पत्रिका उठाउन सजिलो होला टोलमा टाउको उठाउनै नसक्ने पो भइयो । खरदारलाई कार्यकारी अधिकृत लेखिदिँदा हाकिमसाब रिसाएर हैरान ।

मचाहिँ कहाँ अछुतो छु र ? अली अघिको कुरा हो । हार्दिक बधाई भनेर पत्रिकामा पठाएको विज्ञापनमा हार्दिक श्रद्धाञ्जली छपाइदिएछन् । त्यसैलाई आधार मान्दै आजसम्म मान्छेहरू फोन गरेर तपाईँ मर्नु भएकोमा हार्दिक श्रद्धाञ्जली भन्दैछन् । यिनलाई पनि कति हतार भएका के शुभकामनाभन्दा श्रद्धाञ्जली दिनका लागि । मानौं यिनीहरूले त्यसो नभने त नर्कैमा डेरा पाइन्छ कि भन्ने पनि ठानेका होलान् । फेरि मरिसकेपछि मरेकैलाई फोन गर्ने जुक्ती कसले पत्ता लगायो ? उसका श्रीमती होलान्, छोरा होलान्, छोरा नभए मीत छोरा होलान्, त्यति पनि नभए नजिकै खोलानाला होलान् ।

फलफूल र घिउ बोकेर आउनुभन्दा अघि प्रमाणीकरण गर्न मरेकै मान्छेको मोबाइलमा फोन गर्नेहरू होलान् । मरेका मान्छेले पनि म मरेकै हो भनेर प्रमाणित गर्नुपर्ने पो होला कि । फोन अर्कैले उठाएमा फोन हजुर्बालाई देउ न भन्दा हुन् । हैन हैन हजुर्बा बित्नुभो भन्नुपर्ने होला । तै पनि एकचोटी भिडियो कल गर त भन्नेका संख्या पनि बढ्दा हुन् ।

उता गाउँमा पनि कम छैन । जस्ताघरे व्याउने भैंसी मरेर शोकमा थियो । पल्लो टोलबाट पलपलको बुलेटिनका कर्मचारी आएछन् । शोक परेका खबर दायाँबायाँ खासखुस सुनेर फर्किएछन् । १३ औं दिनमा त भैंसीलाई श्रद्धाञ्जली दिएको पत्रिका बोकेर पैसो माग्न आइलागेछन् । जस्ताघरे दाउरा लिएर जाइलागेपछि अब कोही पनि गाउँमा भैंसी मर्दा पत्रिकामा विज्ञापन आउँदैन । एक्ला एक्लै हुँदा त फेसबुकमा स्टाटस ठेल्थे, एकाध कमेन्ट पेल्थे । त्यसको कसले पो वास्ता गर्नु । पीडितहरू थुप्रिँदै गएपछि भने पत्रिकापीडितहरूको त संघर्ष समिति नै पो बनिसकेको रहेछ ।

आफ्नो खाँचोले एउटा मिडियालाई दिएको विज्ञापन दोश्रोले सारिदिने अनी पैसा माग्न तेश्रोचाहिँ पहिले आउने परम्परा उत्पातै फस्टाएको छ । पत्रिकाका अफिस, फलाना, चिलाना सबैसँग भेटघाट गराइसकेपछि भोलिपल्ट सानो अक्षरमा “भुलसुधार” लेखिदिए भैहाल्ने ।

यस लेखमा कसैलाई असन्तुष्टी भएमा यहाँ लेखिएकै छ ।
भुलसुधार ।
जय सिस्नुपानी ।
(लेखक सिस्नुपानी नेपालसँग आबद्ध छन् ।)