राजन दाहाल खुशराज

जनमतलाई दलहरुले आफ्ना कमजोरी ढाकछोप गर्ने प्रयास गरेका छन् । अन्तरघातको लेपन लगाएर पानी माथिको ओभानो बन्ने प्रयत्न गरेको देखिन्छ । आफैंभित्र भएका कमजोरीको निर्मम समीक्षा गरेर नागरिक माझ आत्मालोचित हुने आँट गर्ने नेता र दल नै जनपक्षीय हुने छ । कमजोरी स्विकार गर्नुलाई नेताहरुले आत्मसम्मानमा ठेस लागेको महसुस गर्दै आएका छन् । त्यसैले आज देश धेरै ठाउँमा उनीहरुले सोँचे भन्दा भिन्न मतपरिणाम आएको छ ।

दल र नेताहरुकै कारण यस पटकको स्थानीय तह निर्वाचनमा करिव चार सय जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । नेताहरुका उडन्ते भाषण, दुष्ट व्यवहार, सुशासनको कमीले गर्दा नागरिकले विकल्प खोजेका हुन् । स्थानीय तह निर्वाचनकै आधारमा संघ र प्रदेशमा पनि स्वतन्त्र उम्मेद्वारहरुले विजय हासिल गरे भने दलहरुको अस्तित्व नै संकटमा पर्ने पक्का छ । दलीय व्यवस्थाकै लागि यो सुखद् पक्ष हुन सक्दैन । व्यवस्था जोगाउने हो भने दलहरु सुध्रनुको विकल्प छैन ।

दलबाट टिकट नपाएर स्वतन्त्र चिन्हमा उठेकाहरु फेरी दलकै सदस्य हुन सक्छन् । तर जो व्यक्ति हिजो कुनै दलमा थिएन र पनि विजयी भए उनीहरु भोलि पनि त्यही परिचयका साथ काम गर्न चाहन्छन् । यस्ता व्यक्तिहरुको लोकप्रिय मतबाट दलहरुले पाठ सिक्नु पर्दछ । उनीहरुले ठूलो र हावादारी भन्दा जनताको दैनिक जीवनलाई प्रभावित पार्ने विषय बस्तु प्रति प्रतिवद्धता जनाएका छन् । तर दलहरुले हावादारी घोषणापत्र बनाएका र कुनै बर्ष पनि त्यो पूरा नभएपछि नागरिक विकल्पको खोजीमा लागेका हुन् ।

नेताहरु अविश्वासी बन्दै जाने र स्वतन्त्रहरुले लोकप्रिय मत पाउने तथा हिन्दु राज्य र राजतन्त्रको वकालत गर्ने दलको मत संख्या बढ्ने अवस्था प्रति दलहरु अहिले पनि चिन्तित छैनन् । हेटौंडामा अनपेक्षित मत पाएका दीपक बहादुर सिंहले मंसिरमा हुने संघीय निर्वाचनमा उठ्ने र जित हासिल गर्ने घोषणा गरिसकेको अवस्था छ । त्यही अनुसार योजना बनाउन र प्रचारमा लागेको आभाष भएको छ । तर दलहरु जनताले दिएको मतलाई घात र अन्तरघातको संज्ञा दिँदै कारवाहीको डन्डा चलाउने योजनामा देखिन्छन् ।

पुराना दल र नेताहरुमा चुनाव चिन्हले फरक पार्दछ भन्ने भ्रम थियो । आम नागरिकमा पनि त्यो मान्यताले लामो समयदेखि डेरा गरेकै हो । तर पछिल्लो समय सचेत मतदाताले चुनाव चिन्ह भन्दा पनि उम्मेद्वार छनौट गरेका छन् । दलहरुले छनौट गरेका भन्दा जनताका लागि भोलि उपयोगी हुने अपेक्षासहित चिन्ह भन्दा व्यक्ति छनौटको परम्परा विकास भएको छ । मतदातामा देखिएको यो सचेतनाले लोकतन्त्र अव सुदृढ हुँदै गएको देखाउँछ । मतदाताको मन जित्नका लागि दलहरुले उम्मेद्वार छनौट गर्दा तीन पटक सोच्नु पर्ने बाध्यता श्रृजना भएको छ ।

चुनाव चिन्ह त संकेतका लागि मात्र हो । त्यो कुनै अजम्वरी विषय होइन । आज एउटा चिन्ह र भोलि अर्को चिन्हबाट उम्मेदवार बन्न सक्छन् भने जनताले पनि सोही अनुसार मतदान गर्न सक्छन् । यसको पछिल्लो उदाहरण स्वतन्त्र उम्मेद्वारहरुको विजय नै हो । त्यस्तै नयाँ दलहरुले पाएको मत तथा अन्य दलबाट फुटेर बनेका दलका उम्मेद्वार जित्नु भनेको चिन्ह हैन व्यक्ति ठूलो हो भन्ने सन्देश दिएको छ । व्यक्तिलाई होइन चिन्हलाई भोट हाल्छन् र हामी जित्ने छौं भन्ने अहम् अब त्याग्नु पर्दछ ।

पुराना दलका चिन्हहरु सुरुमै छन् । मतपत्र निकै ठूलो छ । स्वतन्त्र र नयाँ दलका चिन्हरु मतपत्रको पुच्छार र बीच भागमा थिए । तर पनि मतदाताले खोजी खोजी छाप लगाएको पाइएको छ । यस पटकको निर्वाचनमा मतदाता शिक्षा नदिएको भए पनि आफुलाई मनपर्ने उम्मेद्वारको चिन्ह खोजेर छाप लगाएका छन् । चुनाव चिन्हको ट्रेडमार्कले निर्वाचन जितिँदैन । यसका लागि नागरिकको सुख–दुखमा साथ दिने र घरदैलोमा पुग्नेहरु मात्र नेता बन्न योग्य हुन्छन् ।

निर्वाचन चिन्हकै आधारमा मत हाल्ने हो भने २०१५ सालदेखि कांग्रेसको चिन्ह रुख र २०४८ सालदेखि एमालेको चिन्ह सूर्य यथावत छ । तर जनताले मतदान गर्न फरक नतिजा किन आउँछ ? किन कि नागरिक चिन्हको पछि छैनन् । उनीहरु असल व्यक्तिको खोजीमा छन् । आजीवन अमुक चिन्हमा मत दिएकोले यस पटक पनि त्यही चिन्हमा दिन्छु भन्ने परम्परावादी चिन्तन, विश्वास र दलको सिद्धान्त प्रतिको आवस्था नभएको हैन । तर अब आस्था र विश्वासले मात्र नागरिक जीवनमा केही नभएपछि परिवर्तन खोज्दै जाँदा नयाँ दल र व्यक्ति छनौट भएको यथार्थ हो ।

दलहरुले सबै मतदातालाई आफ्नो हुकुम मान्ने निरीह प्राणीका रुपमा अथ्र्याएका छन् । आज पनि त्यही मान्यताले घातको कुरा उठाएका छन् । तर उनीहरु पूर्ण स्वतन्त्र नागरिक हुन् । कसैको फरमान कार्यान्वयन गर्न आम नागरिक बाध्य छैनन् । दलहरुले अन्तरघातको कुरा गर्दा आफ्ना संगठित वा सक्रिय सदस्य बराबरको मत आए नआएको हेर्न सक्छन् । कार्यकर्ताहरु पार्टीको विधान र नियम मान्ने सर्तमा लागेका हुन्छन् । तर आम नागरिकले कसलाई मत दिने भन्ने कुरामा स्वतन्त्र छन् । हिजो एउटालाई र आज अर्कोलाई मत दिन सक्छन् ।

अन्तरघातको कुरामा पनि गज्जबको तर्क सुनिँदै आएको छ । फलानाले विपक्षी उम्मेद्वारप्रति नरम विचार राखेको छ । उसलाई स्वागत गरेको छ बधाई दिएको छ । त्यसैले आफ्नोलाई मत दिएन भन्ने कुतर्कले यतिबेला घर गरेको छ । विपक्षीलाई चर्को आवाजमा तुच्छ शव्दबाट विरोध गर्ने मात्र आफ्ना हुने र सबैलाई मिठासपूर्ण व्यवहार गर्नेहरुप्रति आशंका गर्ने पद्दती दलहरु भित्र विकास भएको छ । यही एकलकाटे चिन्तन र छुद्र व्यवहारकै कारण मतदाताले चिन्ह हैन असल व्यक्ति छनौट गर्न थालेको अवस्था छ ।

दल र सिद्धान्त सबै राम्रा छन् । तर त्यसको नेतृत्व, उसको क्षमता, उसले गर्ने व्यवहारले नागरिकमा प्रभाव पार्ने हो । सबै नागरिकप्रति समभाव राख्न सक्ने क्षमता भए मात्र अरुको समेत मत तान्न सकिन्छ । तर आफ्नैलाई पर धकेल्ने प्रयासले अर्को निर्वाचनमा झन् नकारात्मक प्रभाव पर्ने पक्का छ । त्यसैले मतदातको निर्णयलाई अनेक उपमा दिनु भन्दा आफ्नो व्यवहारमा सुधार गर्न जरुरी छ । आरोप प्रत्यारोपले आफैलाई सक्ने छ ।