संप्रस पौडेल

संप्रस पौडेल

कर भन्नाले रहरले नभई करपूर्ण तवरले सरकारले कानून बनाएर असूल्ने रकम भन्ने बुझिन्छ । नतिरेमा करकर गरिरहने, साँवाको व्याज, व्याजको स्याज, स्याजको प्याजसम्म तिर्नुपर्ने रकम नै कर हो । बाजेदेखि नातिसम्म सर्दै, झाँगिदै झाँगिदै जाने अनि नतिरेमा सलहले रुखै खाएजसरी सिंगै धनमाल नउग्राई निल्ने यसको विशेषता नै हो ।

हरेक राज्यमा खाने अन्न, लाउने लुगादेखि बस्ने बाससम्मको कर बुझाउनुपर्छ । अरू त के पिउने पानीको कर पनि अब हामीलाई नौलो भएन । करैकरको दुनियाँमा नौलोरुपमा चर्चामा ल्याउनुपर्ने करचाहिँ हावाकर नै हो । हावाकर अहिलेसम्म हाँडीगाउँमा पनि अभ्यास नभएको कर हो । यसर्थ निशुल्क पाइरहेको त्यही हावामा लाग्ने कर नै हावाकर हो भनेर बुझ्न कठिन पनि त छैन नि ।

स्थानीय सरकारले त हावाकर घोषणा गरेर मनग्ये फाइदा पो लिन सक्ने देखिन्छ । पहिलो पटक प्राणीमध्ये मानिसलाई मात्र हावाकर लगाएर हेर्ने हो भने ठूला ठूला भ्यूटावर, निजीस्रोतलाई भाडामा दिइने सरकारी व्यावसायिक भवन, बिहान बेलुका टहलिन सचिव, उपसचिवलाई सरकारी गाडी, खरदारलाई क्वार्टर, जमदारलाई सरकारी कुकुर आदि सबै हावाकरले धान्ने निश्चित छ । हावाकरकै आम्दानीबाट व्यवस्थापन हुने गरी हावाविज्ञ, हावाविद्, हावा सल्लाहकार आदि नियुक्ती गर्न पनि सक्छ । यसबाट हावा कार्यकर्ताहरू बढ्ने हुँदा तिनलाई यथेष्ट रोजगारी मिल्ने नै भयो ।

जसरी देशका जंगलले निकालेका अक्सिजन अन्तराष्ट्रलाई बेच्न सकिन्छ भने आफ्नै जनतालाई पनि उसैगरी करको दायरामा ल्याउन सकिन्छ भन्ने अध्ययनको निश्कर्ष हुन सक्छ । आखिर खुकुरी, खुँडा, हँसिया जेले हानेपनि थाप्ने त अचानो नै हो । देशमा निकालेका बिजुली विदेशमा निकै सस्तोमा र नागरिकलाई निकै महंगोमा बेच्न सफल सरकारले त्यही नजीरलाई टेक्दै हावा कर विदेशीका तुलनामा स्वदेशीलाई बढी तोक्न सक्ने नै भयो । यसको नाम हावाकर नै किन ? हामीले थुप्रै ठेट शब्दहरूको न्वारान गर्दै सभ्य “शब्द” हरू निर्माण गर्दै गइरहेका छौं । यसर्थ हावाकरलाई सभ्य भाषामा अक्सिजन कर पनि भन्न सकिन्छ । तर हावादारी निर्णय तुरुन्तै उत्तानो उल्टिन र कोल्टो पल्टिन सक्ने हुँदा हावाकर नामाकरण नै उपयुक्त हुन सक्छ ।

त्यसो त नाम, नारा आदिको प्रतियोगिता गराएर त्यही करमध्येको केही रकम पुरस्कार दिन पनि सकिन्छ । हावाकर आवश्यक हो वा होइन भन्ने विषयमा विद्यालय तहमा वादविवाद प्रतियोगिता चलाउन सकिन्छ नै । हावाकरसम्बन्धी कथाकविता लेखनमा लेखकहरूलाई प्रोत्साहन गर्न पनि सकिन्छ । यसका सम्बन्धमा रेडियो, टिभीमा ठूला–ठूला बहस चलाउन सकिन्छ । खर्च गर्ने तरिका कति हो कति । नसोचेको आय हुन लाग्यो भने के गर्ने ? त्यसो त अध्ययन, अध्ययन प्रतिवेदन, पर्चा, पम्प्लेट, अडियो–भिडियो सामग्री निर्माण गरेर हावाबाट आएको पैसा हावामैं खर्चिनु पनि कुन नौलो कुरा भयो र ?
हावाकरका केही बेफाइदा पनि होलान् । हावाकर लागेपछि मन्त्रीहरूलाई रुघाखोकी बढी नै लाग्न पनि सक्छ । किनमेलका लागि सपरिवार मैत्रीपूर्ण भेटघाटका नाम गरेर विदेश जाने नौलो बहानाको पहिचान त्यतै मिल्न पनि त सक्छ । उमेरअनुसार, कामअनुसार वा अवस्थाअनुसार कसैले धेरै हावा प्रयोग गर्लान्, कसैले थोरै । सरकारी भाषामा भन्ने हो भने खपतअनुसार कर लिने हो भने न्यायोचित पनि हुने देखिन्छ । त्यसका लागि एकौटा कर्मचारी खटाउने नीति बन्न सक्छ । त्यसको चर्को विरोध हुनैपर्ला । हाम्रो करले थप कर्मचारी किन पाल्ने ? हामी पाल्नै परे घरमा कुकुर र मन्त्रालयमा मन्त्री पाल्छौं । नपुगे मन्त्रालय फुटाएर, पार्टी टुटाएर, कर जुटाएर भए पनि मन्त्री पाल्छौं । हामीलाई कुकुर पाल्नुभन्दा मन्त्री पाल्नुमा गर्व पनि छ ।

हावाकरलाई अझ व्यवस्थित गर्न नाकैनिर मिटर जडान गर्न सकिन्छ । आम मानिसले बिजुलीको मिटरमा अंक बढ्नबाट जोगाउन फ्रिज, बत्ति आदिको खपत पक्कै पनि कम गर्लान् । यसैलाई अनुशरण गर्दै सेवाग्राहीहरूले गच्छेअनुसार श्वास फेर्न खोज्लान् । कञ्जुसहरू सासै नफेरी निदाउन सक्लान् । तिनलाई हावाकरमध्येबाटै सामाजिक सुरक्षा कर छुट्याएर अन्त्येष्टी गर्न सकिन्छ । त्यसपछिका हिसाबकिताब चित्रगुप्तलाई बरबुझारथ गर्न सजिलो पनि होला ।

हावाकरको विरोध गर्नेलाई केही उदाहरण दिन सकिन्छ– मानिसहरू चराझैं हावामा यात्रा गर्ने धेयले हवाइयात्रा गर्दैछन् । कोही स्काइडाइभ र प्याराग्लाइडिङ गर्दै परेवाझैं हावामा कावा खाँदैछन् । करका यी क्षेत्र पूरानै हुन् । जसरी मन्त्रालय, विभाग, पालिकादेखि वडासम्मका सरकारी कार्यालयहरू भव्य बंगलाहरू बन्न थालेका छन् उसैगरी हावाकर लागेपछि हावा महल बन्न थाल्नेछन् । झट्ट हेर्दा मयका दरबारझैं महलहरू दिनमा हावामैं बिलिन हुनेछन् भने रातमा आकाशै झलमल पार्नेछन् ।

एक्काइसौं शताब्दीमा यस्ता आविष्कार देखिन थालेपछि महाशक्ती राष्ट्र अमेरिका, चीन, रुस, बेलायत आदिलाई सह्य नहुन सक्छ । यसका विरुद्ध हामीले गुलेली र अरिंगालको अर्गानिक आक्रमण गरेर जित्न सकिने कुरै भएन । त्यसरी धावा बोल्नेलाई हावामै कावा खानेगरी पूराना साँवा व्याज सबै असूल गर्ने संयन्त्र तयार गर्नैपर्छ । त्यो सबै हावाकर लागेपछि सम्भव हुन सक्छ । ल सुरु गरौं ।
जय सिस्नुपानी ।
(लेखक सिस्नुपानी मकवानपुरमा आबद्ध हुनुहुन्छ ।)