स्थानीय तहको निर्वाचन–२०७९ मा चर्चाको केन्द्रमा रहेको पालिका हो हेटौंडा उपमहानगरपालिका । प्रदेशकै राजधानी भएको बागमती प्रदेशकै एकमात्र उपमहानगरको नेतृत्वका विषयमा चासो हुनु स्वभाविक हो । उपमहानगरको नेतृत्वको विषयमा गठबन्धन दलमा भएको किचलोले नेकपा एकीकृत माओवादी केन्द्र र राप्रपाका जिल्ला अध्यक्षहरुले नै पार्टी छाड्ने स्थिति समेत बनेको छ । एकातर्फ गठबन्धन अर्कोतर्फ एक्लो एमालेबीच प्रमुख प्रतिस्पर्धा हुने स्थिति छ । आसन्न निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार नेकपा एमालेका अनन्तप्रसाद पौडेलसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
समाजः मतदाताको मनस्थिति कस्तो पाउनुभएको छ ? चुनावी माहौल कस्तो छ ?
पौडेलः मतदातासँगको भेटको क्रममा, कोणसभा, टोलसभाको माध्यमबाट मतदाताको मनस्थिति बुझेका छौं । नेकपा एमालेकै नेतृत्वमा पहिलो कार्यकालमा हेटौंडा उपमहानगरपालिकाले गरेको कामको नगरवासीले प्रशंसा नै गरेका छन् । बाटाहरु पक्की भएका छन् । खानेपानीको व्यवस्थापन भएको छ । विद्यालयहरु राम्रा बनेका छन् । स्वास्थ्य केन्द्रहरु बनेका छन् । स्वास्थ्य सेवाको स्तरोन्नति गर्न भोलिका दिनहरु बाँकी छन् । हिजोको उपमहानगरको काम आजका लागि मत माग्ने आधार बनेका छन् ।
समाजः एकातर्फ गठबन्धन छ अर्कोतर्फ तपाइँहरु अर्थात नेकपा एमाले एक्लो छ । यस्तो अवस्थामा सकारात्मक नतिजा प्राप्त गर्न अहिले नेकपा एमालेका लागि जटिल पक्ष के छ भन्ने लागेको छ ?
पौडेलः नेकपा एमालेको प्रतिस्पर्धी भनिएको गठबन्धन तल्लोस्तरको आवश्यकताले बनेको भन्दा पनि माथिबाट थोपरिएको गठबन्धन भएको हुँदा गठबन्धन आफैं बिलखबन्दमा परेको छ । आम कार्यकर्ताहरु यो केन्द्रले गरिदिएको गठबन्धनप्रति सन्तुष्ट देखिएको छैन । पछिल्ला दिनसम्ममा विस्तारै उहाँहरुले सन्तुष्ट पनि बनाउँदै पनि लैजानु होला । तर, गठबन्धनमा जोडिएको पार्टीले जसलाई उम्मेदवार बनाएको छ उहाँको धरातल थोरै मजवुद भएको भए गठबन्धनले थोरै सहयोग गरिदिँदा विजयको आधार बन्न सक्थ्यो होला । तर, आफ्नै धरातल अत्यन्तै कमजोर भएकोले र गठबन्धनमा भएकाहरु सबैले ठूलो सहयोग गरे मात्रै जित हासिल हुने स्थिति देखिन्छ । अर्को राप्रपाको उम्मेदवारको विषयमा त धेरै टिकाटिप्पणी गर्न चाहान्न । लामो समयदेखि राजनीति, जनताको सुख, दुखबाट टाढा रहेको, यत्रा भूकम्प, कोभिड, लकडाउनको समयमा हामी बीचमा छौं । तर, उहाँ अहिले टपक्क टप्केर आएर उम्मेदवार दिने परिस्थित भएकोले जनताले मूल्यांकन गर्छन् । गठबन्धन र अन्य उम्मेदवारसँग आत्तिनुपर्ने अवस्था छैन । २०५४ र २०७४ को निर्वाचनमा जस्तै प्रतिस्पर्धीलाई हामी परास्त गर्छौं ।
समाजः तपाइँको व्यक्तिगत पक्ष र पार्टीको कुन पक्षले मेयरको रुपमा तपाइँसहित एमालेका उपमेयर, वडा अध्यक्ष र सदस्यका उम्मेदवारलाई मतदान गर्नुपर्छ भन्ने ठान्नु हुन्छ ?
पौडेलः वडा तहमा पनि हामीले राम्रा काम गरेका, मतदाताले फेरि पनि आइदिए हुन्थ्यो भन्ने वडा अध्यक्षका उम्मेदवारलाई दोहो¥याएका छौं । नयाँ उम्मेदवार पनि परिचित, वडामा काम गरिरहेको, केही पराजित भए पनि पाँचै बर्ष वडाको विकासमा क्रियाशील भएर लागिरहनुभएका उम्मेदवार हुनुहुन्छ । त्यसले गर्दा अन्य उम्मेदवार र हाम्रा उम्मेदवारबीच तुलना गर्न नसकिने अवस्था छ । म आफैं पनि दोस्रो संविधानसभा निर्वाचनपछि संविधान बनाउन योगदान गरेँ । अन्तरिम संसदको अवधिमा पनि आफ्नो निर्वाचन क्षेत्रमा पूर्वाधार विकासका कामहरु गरेँ । सडक, पुल, खानेपानी, विद्यालय लगायतका काम गरेँ । त्यो भन्दा अगाडि पनि सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष हुँदा पनि यही क्षेत्रमा बाढीपीडितलाई घर बनाएर वितरण गर्ने, सुकुम्बासी बस्तीमा लालपुर्जा वितरण गर्ने, हिजो जिल्ला विकास समितिको सदस्य हुँदा पर्यटकीय क्षेत्रको विकासका लागि काम गरेको छु । निरन्तर जनतासँगै जोडिएर काम गरेकाले पनि व्यक्तिगत रुपमा मलाई जनताले विश्वास गर्छन् भन्नेमा म विश्वस्त छु ।
समाजः मुलुकको नयाँ संरचनालाई संस्थागत गर्ने गरी संविधानसभाको सदस्य भइसक्नु भएको व्यक्ति एउटा पालिकाको प्रमुखको रुपमा उम्मेदवार हुन खोजिरहनुभएको छ । नगर प्रमुख हुनका लागि के कुराले आकर्षकण गर्यो ?
पौडेलः आकर्षण भनेको जनतासँग प्रत्यक्ष सहभागी भएर विकास निर्माणको काममा सहभागी हुन सकिन्छ भन्ने नै हो । त्यो बाहेक अरु आकर्षणको कुरा केही होइन । कुनै अरु पदीय लालसा होइन, जिम्मेवारी पूरा गर्ने कुरा हो । संसारभर अभ्यास छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएका व्यक्तिहरु पनि एउटा सहरको प्रमुख भएर काम गर्छन् । जनतासँग जोडिएर काम गर्ने कुरा हो । सुविधा र मर्यादाका हिसावले संविधानसभा या प्रतिनिधिसभाको सदस्यकै हैसियत राम्रो हुन्छ । तर, कानुन बनाउने, विधि बनाउने कुरासँग उसले धेरै सरोकार राख्दछ भने एउटा मेयर एउटा सिंगो नगरको प्रमुख व्यक्ति भएर उसले त्यो नगरको समग्र विकास, निर्माणका योजना बनाउँछ, कार्यान्वयन गर्छ । हाम्रा केही सपनाहरु छन् जो हिजोदेखि हामीले देखी आएका छौं । त्यसलाई पूरा गर्न पनि पार्टीले मलाई उम्मेदवारको रुपमा प्रस्तुत ग¥यो । मैले पनि चाहना राखेँ । त्यसबाहेक सांसदले तल्लो तहमा आएर काम गर्नुहुन्न भनेर मनमा राख्नु हुन्न । जनताको सेवासँग जोडिने कुरा हो ।
संविधान बनाउने एकजना सदस्यको रुपमा संविधानले शक्तिशाली संरचनाको रुपमा परिकल्पना गरेको देशभरका पालिकाको पहिलो कार्यकालको कामलाई कसरी हेर्नुभएको छ ?
पौडेलः स्थानीय तह, स्थानीय सरकार जनताले महसुस गर्ने सरकार, हेर्दा देखिने, छाम्दा भेटिने सरकार हो । यो सरकारको प्रभावकारिता जति रह्यो यसले गणतन्त्र र राज्यका प्रणालीलाई बलियो बनाउँछ । गणतन्त्रप्रति विश्वास जगाउँछ । जनताको जीवनसँग जोडिएर काम गर्ने हो भने जनताले केन्द्र सरकारप्रति ध्यान नै दिनु पर्दैन । यो त्यस्तो सरकार हो । समग्र पालिकालाई हेर्दा अपवाद छाडेर, कहीँ कतै पदीय दुरुपयोग गरेका पनि छन्, प्रत्येक पालिकाले जनताको मन जित्ने कोसिस गरेका छन् । र कुनै न कुनै नमूना काम गरेर मेरो भूमिका राज्यले देखोस् भन्ने तहबाट अनुकरणीय काम गर्न खोजेका छन् । यसले पालिकाबीच प्रतिस्पर्धा जस्तो पनि भएको छ । विकास निर्माणको काम पनि पालिकामा मात्रै सीमित नराखेर माथिसम्म जाने इच्छा बोकेका जनप्रतिनिधिले काम गरेका छन् । स्थानीय सरकार गणतन्त्रको जगको ढुंगा हो । जग जति बलियो भयो गजुर अडिने आधार उत्तिकै हुन्छ । त्यसले गर्दा समग्रमा पालिका तहले जनप्रतिनिधिका आआफ्ना शैली, स्वभावका बीच पनि पूर्वाधार विकासको काम भएका छन् । अब आउने जनप्रतिनिधिले पूर्वाधार विकासबाहेक सामाजिक विकास, रुपान्तरण, अरु धेरै विषय जसले पालिकालाई सुन्दर, समृद्ध बनाउनेतर्फ दिशानिर्देश हुनुपर्छ । आफैंले मात्रै गरेर पनि हुन्न । विभिन्न विज्ञ समूह बनाएर काम गर्नुपर्ने हुन्छ ।
समाजः निर्वाचनमा सकारात्मक नतिजा आयो र तपाइँ मेयर हुनुभयो भने तपाइँले गर्ने प्रमुख योजनाहरु के के हुनेछ ?
पौडेलः जनताको जीवनसँग जोडिएर केही योजना बनाएका छौं । पूर्वाधार विकाससँग जोडिएर पनि केही कुरा अगाडि सारेका छौं । जनताको जीवनसँग जोडिएर हामीले सहरीया गरिब र असंगठित मजदुरहरुको तथ्यांक संकलन गरेर परिचयपत्र वितरण गर्ने र त्यो परिचयपत्रको आधारमा उपमहानगरपालिकाले सेवा, सुविधा प्रदान गर्ने गरी स्वरोजगार, उद्यमशीलताको क्षेत्रमा सहुलियत कर्जा या बिना धितो कर्जा प्रवाह गरेर हुन्छ सहरीया गरिबलाई आत्मनिर्भर बनाउने विशेष कार्यक्रम सञ्चालन गर्ने योजना बनाउने छौं । दोस्रोमा हामीले हेटौंडा उपमहानगरपालिकाकै मातहतमा रहेको खानेपानी व्यवस्थापन बोर्डमार्फत मासिक १० हजार लिटरसम्म पानी उपभोग गर्ने उपभोक्तालाई निशूल्क पानी वितरण गर्ने, खानेपानीको पहूँच विस्तार गर्ने योजना छ । यसका लागि हामीले अध्ययन गरेरै, आधार भएरै योजना बनाएका छौं । खानेपानी व्यवस्थापन बोर्डलाई दिइँदै आएको पुँजीगत अनुदानभित्रै मिलाउन सकिने रहेछ । अभिभावकविहिन विपन्न विद्यार्थीलाई निशूल्क उच्च शिक्षा प्रदान गर्छौं । अर्को कुरा विपन्न परिवारका विद्यार्थीलाई सुविधासम्पन्न छात्रावास सेवा उपलब्ध गराउने योजना बनाएका छौं ।
हेटौंडा अस्पताल, हेटौंडा–काठमाडौं सुरुङमार्ग, विद्युतीय बस जस्ता ठूला योजना पनि हेटौंडा उपमहानगरपालिकाले प्रदेश र संघीय सरकारसँगको सहकार्यमा गर्नुपर्ने प्रमुख कार्यहरु छन् । २५ मिटर राजमार्गको कुरा पनि छ । हेटौंडा बजारभित्रको ४ वटा राजमार्गको विकल्पको रुपमा एउटा वाइपास सडक निर्माणको कार्य पनि भइरहेको छ । कृषि उपज बिक्री केन्द्र, व्यावसायिक कम्प्लेक्स, बसपार्क, साना सवारीका साधनको व्यवस्थापनको कुरा पनि छ । प्रदेशको राजधानीको रुपमा हेटौंडामा विमानस्थलको कुरा पनि छ । यी सबै कुरालाई हेरेर हामी आगामी योजना बनाउनेछौं । उपमहानगरपालिकालाई सक्षम पनि बनाउनुपर्छ । आफ्नो साधारण खर्च धान्न सक्ने पालिका बनाउनुपर्छ । करको दर नभई दायरा बढाएर आफ्नो खर्च आफैं धान्न सक्ने सक्षम उपमहानगर बनाएर हामी महानगरको यात्रामा लाग्न सक्छौं ।