स्थानीय तहको निर्वाचन–२०७९ मा चर्चाको केन्द्रमा रहेको पालिका हो हेटौंडा उपमहानगरपालिका । प्रदेशकै राजधानी भएको बागमती प्रदेशकै एकमात्र उपमहानगरको नेतृत्वका विषयमा चासो हुनु स्वभाविक हो । उपमहानगरको नेतृत्वको विषयमा गठबन्धन दलमा भएको किचलोले नेकपा एकीकृत माओवादी केन्द्र र राप्रपाका जिल्ला अध्यक्षहरुले नै पार्टी छाड्ने स्थिति समेत बनेको छ । चासो र चर्चाका बीच हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार गठबन्धन दलबाट नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामासँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
समाजः हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि गठबन्धनको साझा उम्मेदवार भएर घरदैलो गरिरहनुभएको छ । घरदैलो गरिरहँदा मतदाताको मनस्थिति कस्तो पाउनुभएको छ ?
लामाः गठबन्धन दलमा उत्साह छ । मतदाताले राजनीतिक परिवर्तन हेर्न चाहेको छ । गठबन्धनमा सहभागी दल र मतदाता दुवैको उत्साह राम्रो छ । निर्वाचनको माहौल तातेको छ । मतदाताको मनस्थिति हामीप्रति सकारात्मक बन्दै गएको छ ।
समाजः मेयर पदको उम्मेदवारको रुपमा तपाइँका सवल पक्षहरु के के छन् ?
लामाः सवैभन्दा सवल पक्ष गठबन्धनमा आवद्ध दलले विश्वास गर्नु हो । त्यसपछि हेटौंडाका मतदाताले मलाई मेयरको रुपमा हेर्न चाहेको छ । संविधान रक्षार्थ हाम्रो अठोट, समृद्ध हेटौंडा बनाउने संकल्पका साथै म महिला उम्मेदवारको रुपमा मेरो आत्मविश्वास जसले निर्वाचनमा होमिन र सफल हुने आधारहरु हुन् ।
समाजः तपाइँको उम्मेदवारीका हिसाबले तपाइँको प्रमुख चुनौतिको विषय के हो ?
लामाः मेरा चुनौति भन्दा पनि सवल पक्षकै कुरा गर्न चाहान्छु । ५ बर्षको अवधि मैले जुन हिसाबले काम गरेँ, कुनै पनि हेटौंडावासीको समस्यालाई मैले अनदेखा गरिनँ । मैले गरिरहेको कामलाई कोरोना महामारीको समयमा होस् या पूर्वाधार विकासको काममा, सामाजिक रुपान्तरण, महिलाको सवलीकरणमा, एकल महिला, बालबालिका, लैंगिक अल्पसंख्यकको विकासमा मेरो भूमिका, वडामा ठूला योजना र बजेट निर्माणमा संयोजकको रुपमा रहेर काम गरेको देखेका जनता हुनुले चुनौतिभन्दा अवसर मात्रै देख्छु । समग्रमा भन्नुपर्दा निस्वार्थरुपमा मैले काम गरेको छु । नागरिकलाई सेवा दिएको छु । यही मेरा सवल पक्ष हुन् । चुनौति त्यस्तो देख्दिनँ ।
समाजः गठबन्धन दलमा आवद्ध नेता, कार्यकर्ता र समर्थक कति प्रतिवद्ध भएको पाउनुभएको छ ?
लामाः एकदमै प्रतिवद्ध भएको पाएको छु । अहिले हामी टोलटोलमा हिँडेका छौं । म एउटा पात्र मात्रै हुँ । गठबन्धनको जुन उद्देश्य छ, संविधानमाथि धावा बोलिसकेपछि हाम्रो गठबन्धन बनेको छ । संविधानको रक्षार्थ हाम्रो गठबन्धन बनेको हो । त्यसकारण पनि अहिले म पात्र भन्दा पनि गठबन्धनकै लागि जीत आवश्यक छ । राष्ट्र र राष्ट्रियताका लागि, संविधानको बचाउ र संविधानको कार्यान्वयनका लागि पनि अहिले जनताको मत गठबन्धनका लागि आवश्यक छ । म पात्र जिताउन भन्दा पनि समग्र मुलुकको रक्षाका लागि यो गठबन्धन प्रतिवद्ध भएर अगाडि बढेको छ ।
समाजः गठबन्धनको नेतृत्व गर्ने कांग्रेसकै कार्यकर्ताले तपाइँको भन्दा पनि अरु नै उम्मेदवारको प्रचार गरिराख्नु भएको छ नि ?
लामाः होइन त्यो एउटा भ्रामक विषय मात्रै हो । त्यसलाई स्वीकारिएको छैन । कसैकसैले गठबन्धन र नेतृत्वलाई हतोत्साहित गर्ने कार्य मात्रै भएको छ । २०७४ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार जित नजिक पुगेको, त्यसपछि कांग्रेसका अब्बल, सवल नेताहरु हुनुहुन्छ, जीवन नै पार्टीका लागि बिताउनु भएका नेताहरु हुनुहुन्छ । उहाँहरुको आकांक्षा पनि स्वभाविक हो । तर, हामीले गठबन्धन गरिरहँदा राष्ट्र र राष्ट्रियताका लागि लडिरहँदा हाम्रो पार्टी नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको नेतृत्वको अवसर पाएको छ । यो अवसरलाई उपयोग गर्न गठबन्धनका सबै नेता, कार्यकर्ता एक भएर गठबन्धनको जीतका लागि एक भएर लागिसकेको छ ।
समाजः तपाइँलाई मतदान गर्न प्रेरित गर्ने तपाइँका त्यस्ता के एजेण्डा छन् ?
लामाः सबैभन्दा पहिलो कुरा आधारभूत आवश्यकताका कुरा नै हुन् । सवै वडामा सडक पूर्वाधारको विकास, सडक सञ्जालको विकास गर्नु हो । बागमती प्रदेशको राजधानी हेटौंडा बजारलाई सुन्दर र देशकै नमूना र समृद्ध राजधानी बनाउने एजेण्डा छ । स्वास्थ्य, शिक्षा, सामाजिक रुपान्तरण, कृषि उत्पादन, युवा, महिला, बालमैत्री नगर बनाउने कुरा, स्वास्थ्यमा सुधार ल्याउने कुरा हामीले घोषणापत्रमा पनि उल्लेख गरेका छौं । हेटौंडाको परिवर्तनका लागि हामीले आत्मसात गरेका एजेण्डाले नै हामीलाई मतदाताले मतदान गर्न प्रेरित गर्नेछ ।
समाजः गठबन्धनबीच फरक चुनाव चिन्ह छ । मतदातालाई ती कुरा बुझाउन तपाइँहरुले के गरिरहनुभएको छ ?
लामाः हामीले वडा, टोल–टोलमा, घरदैलोको क्रममा मतदाता शिक्षा दिने काम गरेका छौं । हाम्रो टोली मतदातालाई बुझाउन खटिएका छन् ।
समाजः हिजो उपमेयर निर्वाचित हुनुहुँदा नेकपा एमालेमा हुनुहुन्थ्यो । अहिले फरक पार्टीमा हुनुहुन्छ । तपाइ“ले उपमेयर भएर राम्रो काम गर्नुभएका कारण, तपाइँ महिला नै हुनुभएकोले विशेषगरी नेकपा एमालेका महिलाहरुको पनि तपाइँलाई राम्रो मत आउने अनुमान गरिएको छ नि ।
लामाः म महिला उम्मेदवार हुँदै गर्दा हेटौंडा र मकवानपुर जिल्लाकै गौरवको विषय हो । उपमहानगरपालिकाले महिला उम्मेदवार पाउँदा सवै राजनीतिक दलका महिला समूह आकर्षित हुनु स्वभाविक छ । म भन्दा पनि महिलाको अस्तित्वको कुरा छ । महिलालाई हेर्ने हाम्रो समाजको दृष्टिकोण, महिलाले अवसर पाएन भनिरहँदा यो अवसरको समय छ । यसर्थ हेटौंडावासीले कुनै एउटा पार्टी या चुनाव चिन्ह भन्दा पनि एउटा महिलालाई यत्रो गठबन्धनले महिलालाई उम्मेदवार बनाएको छ यो अवसर सदुपयोग गर्नबाट चुक्नु हुँदैन भनेर हेटौंडाका सवै महिलाहरुको पनि ध्यान केन्द्रित भएको छ ।
समाजः तपाइँ जुन राजनीतिक दलबाट प्रतिनिधित्व गरेर गठबन्धनकै उम्मेदवार बन्नु भएको छ । तपाइँकै पार्टीको जिल्ला अध्यक्षले पार्टी छाड्नु भयो । यो घटनाबाट पुगेको क्षति पुर्न, यसबाट कुनै असर पर्दैन भन्नाका लागि गठबन्धनका दलले के गरिरहेको छ ?
लामाः उहाँ अध्यक्ष हुनु भएदेखि नै जुन किसिमको सक्रियता देखाउनुपथ्र्यो त्यो सक्रियता देखिएको थिएन । किन अध्यक्ष ज्यूले यस्तो भूमिका निर्वाह गरिरहनुभएको छ ? उर्जा दिनुपर्नेमा हतोत्साहित गरिरहनुभएको छ भन्ने कुरा हाम्रो बीचमा नचलेको होइन । तै पनि अध्यक्ष हो, हामी नयाँ पार्टी हौं । उहाँलाई गाह्रो भएको हुन सक्छ भन्ने ठानेका थियौं । जब निर्वाचनको प्रक्रिया सुरु भयो उहाँले हाम्रो पार्टीले उम्मेदवार पाउँछौं, म पनि उम्मेदवार हुन्छु भन्ने सोच्नु भएको रहेछ । गठबन्धन दलबीच मिलाउँदा, पार्टीभित्र मिलाउँदा महिलालाई पनि मिलाउनुपर्छ भन्ने ठानियो । महिलाको रुपमा मलाई घरबाट टिपेर ल्याएको पनि होइन । हेटौंडा उपमहानगरपालिकाको उपमेयरको रुपमा ५ बर्षे कार्यकालमा टेस्ट भइसकेको महिला पनि हो । मलाई, मेरो कामलाई सबैले देख्नुभएको छ । चुनावमा होमिने आधार पनि थियो त्यो । हिजो पार्टीमा पनि निरन्तर लागि नै रहेको थिएँ । यत्तिको महिला भयो भने चुनाव जित्ने आधार पनि हुन्छ भन्ने ठानेर गठबन्धनको सहमति भयो । यो कुरालाई लिएर उहाँमा निराशा भएछ । अध्यक्षले नै पार्टी छोडिरहँदा २, ३ दिन चैं हामीलाई ठूलो नै क्षति हुन्छ कि भन्ने लागेको थियो । तर, पछिल्लो समय त्यस्तो निराशाजनक अवस्था छैन । हामी एकतावद्ध भएर, दृढ भएर अगाडि बढेका छौं । निर्वाचनमा हाम्रो सकारात्मक नतिजा आउनेमा ढुक्क छौं ।