स्थानीय तहको निर्वाचनमा मतदाताले मतदान गर्न ७ दिन बाँकी छ । निर्वाचनमा होमिएका राजनीतिक दल, तिनका उम्मेदवार, पार्टीका नेता, कार्यकर्ता, स्वतन्त्र उम्मेदवार सबै मतदाताको घरघर पुगेका छन् । पार्टी नेतृत्वमा उम्मेदवार छनोटदेखि चुनावी अभियान सञ्चालन गर्ने, आफ्नो रणनीति बनाउने र प्रतिस्पर्धी दलको योजनाको अध्ययन गरी थप योजना बनाउने चुनौति छ । आसन्न निर्वाचनको एक साता मात्रै अवधि बा“की रह“दा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
समाजः मतदाताको मनस्थितिलाई कसरी बुझ्नु भएको छ ?
श्रेष्ठः मतदाता नेकपा एमालेप्रति आकर्षित भएको पाएका छौं । नेकपा एमालेले उठाएको उम्मेदवारहरु स्थानीयस्तरमा लोकप्रिय, रुचाइएका व्यक्ति छन् । त्यसैले एमालेप्रति सकारात्मक छन् । उत्साहका साथ हामीप्रति सकारात्मक प्रतिक्रिया जनाइरहनुभएको छ । मैदानमा हामी मात्रै छौं कि भन्ने जस्तो पनि लागेको छ । एमाले र गठबन्धन दलबीच प्रतिस्पर्धा हुने देखिन्छ । हाम्रो एकरुपता छ भने गठबन्धनमा थरीथरीका झण्डाले प्रभावकारिता देखिएको छैन ।
समाजः मकवानपुर जिल्लाका १० वटा पालिका र १०२ वटा वडामा कतिवटा पालिका र वडामा एमालेका उम्मेदवार विजयी हुने आँकलन गर्नुभएको छ ।
श्रेष्ठः महिले त १० वटै पालिकामा एमालेको राम्रो छ । हिजो कमजोर भएको भनिएको राक्सिराङ हो । त्यहाँ गठबन्धन भए पनि हाम्रो साथीहरु र मतदातामा एमालेप्रति आकर्षण छ । विगतमा एमालेले त्यहाँ सरकार नचलाए पनि त्यहाँ अध्यक्षले दोस्रो पटकका लागि उम्मेदवार बन्नु भएकोले पनि केही असन्तुष्टि छ । एमालेका नेता, कार्यकर्ता मात्रै नभएर स्वतन्त्र मतदाता पनि त्यहाँ एमालेकै उपस्थितिको अपेक्षा गरेका छन् ।
समाजः मकवानपुरका १० पालिकामध्ये जहाँ नेकपा एमालेले नेतृत्व गरेको थियो । त्यहाँको उपलब्धीलाई कसरी मूल्यांकन गरेको छ ? के के कुरालाई उपलब्धीको रुपमा हेरेको छ ?
श्रेष्ठः एमालेले नेतृत्व गरेको पालिकास्तरमा भएका कामहरु त धेरै नै हुन्छ । पालिकास्तरमा घोषणापत्र जारी गरेका कामहरु भएका छन् । त्यसबाट पनि थप कार्यक्रम भएको छ । त्यसलाई निरन्तरता र थप कामका लागि पनि एमालेकै नेतृत्वमा सरकार स्थापित हुनुपर्छ भन्ने ठानेका छन् । अहिले संघीय र प्रदेश सरकारमा नेकपा एमाले छैन । तर, हिजो एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरु पनि रोक्ने प्रयास भइरहेको छ । ती कामहरुलाई निरन्तरता दिन पनि नेकपा एमाले चाहिन्छ भन्ने सन्देश मतदातासम्म पुगेको छ । विकासको कामलाई निरन्तरता दिन, जनताको अपेक्षा पूरा गर्न पनि एमाले नै चाहिन्छ भन्ने बुझेका छन् ।
समाजः गठबन्धनको गतिविधि र तयारीलाई नेकपा एमालेले कसरी नियालिरहेको छ ?
श्रेष्ठः गठबन्धन भनेको ५ दल एकातर्फ छ, नेकपा एमाले एक्लो छ भनेर अंकगणितीय ढंगले राजनीतिक बुझाई हुँदैन । अर्को कुरा भनेको जनताले मत दिने कुरा हो । जनताले गठबन्धनको निर्देशनमा मत दिने होइन । जनताले व्यक्ति हेर्छ, पार्टी हेर्छ, काम हेर्छ । त्यसैले सबै दलको बीचमा एउटा साझा उम्मेदवार बनाउन ठूलो सकस देखिरहेको छ । बल्ल बल्ल बनेको समझदारीमा पनि उनीहरुबीचमै असन्तुष्टि देखा परिरहेको छ । गठबन्धनका क्रियाकलापप्रति जनताको आकर्षण नै छैन । त्यसैले गर्दा एमालेको गठबन्धनसँग त्यत्तिधेरै चुनौति छैन । गठबन्धनले स्पष्ट भिजन पनि प्रस्तुत गर्न सकेको छैन । एउटै पार्टीभित्रका जनप्रतिनिधि त मिलेर काम गर्न गाह्रो छ भने फरक फरक ५ वटा पार्टी क्षणिक गठबन्धन बनाइएको छ, सधैंका लागि पनि होइन । नेकपा एमालेलाई हराउनका लागि मात्रै गरिएको गठबन्धनले भोलिका दिनमा काम हुँदैन भन्ने जनताको बुझाइ छ । जनता मतदान गर्न निक्कै सचेत छन् ।
समाजः मतदाताले उम्मेदवार र पार्टीगत हिसाबले एमालेको कुन पक्षलाई कमजोर मानिरहेको छ भन्ने लागेको छ ?
श्रेष्ठः पार्टी र उम्मेदवारको कमजोर पक्ष भनेर व्यक्त भएको, गुनासो आएको त देखिँदैन । प्रतिस्पर्धी पार्टीले गलत क्रियाकलाप गर्ने हो कि, पैसा पो खर्च गर्ने हो कि, लोभ लालच पो देखाउने हो कि, धम्की दिने हो कि भन्ने अवस्था छ । जस्तो बुधबार मात्रै पनि १८ नम्बर वडामा बर्षाको समयमा हावाहुरीले घरको छानो उडाएका जनताले वडाकै बजेटमा २ महिनाअघि गरिएको सम्झौताअनुसार जस्तापाता लैजाँदै गर्दा रोक्ने काम भयो, राजनीतीकरण गर्ने काम भयो । त्यत्तिसम्म राजनीतिक पूर्वाग्रह राखेर जनतालाई दुख दिने काम भएको छ । यसबाट त झन जनताले बुझिसकेका छन् कि वास्तवमा एमालेले चुनावका लागि जस्ता बाँडेको छैन भनेर । यसबाट के बुझिन्छ भने गठबन्धन दल एमालेसँग हारिन्छ भनेर आतंकित भएर यस्ता हर्कत् गरिरहेका छन् ।
समाजः पालिकास्तरमा, वडास्तरमा प्रतिवद्धतापत्र तयार पार्दै गर्दा एमालेले के कुरालाई प्राथमिकतामा राखेर काम गरेको छ ?
श्रेष्ठः पहिलो कुरा त हामीले प्रत्येक वडा–वडामा प्रतिवद्धतापत्र सार्वजनिक गरेका छौं । ती प्रतिवद्धतापत्र हामीले वडा–वडामा जनताको बीचमै गएर बनाएका छौं । खासगरी सबै ठाउँमा हामीले जनताको आधारभूत आवश्यकता पूरा गर्ने विषयलाई प्राथमिकतामा राखेका छौं । गास, बास, कपासका साथै शिक्षा, खेलकुद, बाटो, भौतिक पूर्वाधारसहित प्राथमिकताहरु तयार पारेका छौं । सुशासन, जनतालाई छिटो र सरल ढंगले सेवा प्रवाह गर्ने कुरालाई प्राथमिकता दिएका छौं । ठूला योजनालाई प्रदेश र संघीय सरकारसँग साझेदारी गरेर लागु गर्ने, जनताको सहभागितामा जनताले अनुभत गर्ने कामलाई प्राथमिकता दिएका छौं ।