नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा ।

स्थानीय तहको निर्वाचनमा मतदाताले मतदान गर्न ७ दिन बाँकी छ । निर्वाचनमा होमिएका राजनीतिक दल, तिनका उम्मेदवार, पार्टीका नेता, कार्यकर्ता, स्वतन्त्र उम्मेदवार सबै मतदाताको घरघर पुगेका छन् । पार्टी नेतृत्वमा उम्मेदवार छनोटदेखि चुनावी अभियान सञ्चालन गर्ने, आफ्नो रणनीति बनाउने र प्रतिस्पर्धी दलको योजनाको अध्ययन गरी थप योजना बनाउने चुनौति छ । आसन्न निर्वाचनको एक साता मात्रै अवधि बाँकी रहँदा सत्तारुढ दल बीचको गठबन्धनको अगुवाई गरिरहेको नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामासँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समृद्धः पालिकादेखि सम्भव भएसम्मका वडामा गठबन्धन बनेको छ । गठबन्धनको चुनावी माहौल कस्तो बनेको छ ?
लामाः गठबन्धनको सन्दर्भमा हामीले वृहत छलफल गरेर आजको अवस्थासम्म आइपुगेका छौं । जिल्लाका ८ वटा गाउँपालिकामा प्रदेशस्तरबाट अत्यन्तै सौहाद्र्धपूर्ण वातावरणमा निर्णय भएर निर्वाचन परिचालन समितिहरु, निर्वाचनको प्रक्रियाहरु सोँचेजस्तै अवस्थामा हिँडिरहेका छौं । नगरपालिकामा पनि त्यही ढंगले हामी हिँडिरहेका छौं । सामान्य एक, दुईवटा वडाहरुमा हामीले अझै मिलाउनुपर्ने काम बाँकी छ । त्यसका लागि नगरस्तरीय गठबन्धनको छलफलबाट मिलाउने तर्खरमा छौं । विशेष गरेर यो गठबन्धनको सन्दर्भमा देखिएका कमिकमजोरीहरु घटाएर मतदान गर्ने बेलामा सबै समस्या समाधान हुन्छ र यो गठबन्धन सफल हुन्छ भनेर अत्यन्तै विश्वास जागेर आएको छ ।

समृद्धः पालिकास्तरमा सहमतिका आधारहरु के के थिए ? कुन दलले नेतृत्व गर्ने भनेर कसरी निश्चित गर्नुभयो ?
लामाः नेतृत्व लिने भन्दा पनि सहमतिका आधारमा गठबन्धन भएको छ । कतिपय ठाउँमा नेकपा माओवादी केन्द्रको अध्यक्ष छ, कतिपय ठाउँमा नेपाली कांग्रेसको अध्यक्ष छ, कतिपय ठाउँमा नेकपा एकीकृत समाजवादीको नेतृत्व छ । मिल्न सक्ने अवस्थासम्म गठबन्धन भएको छ । मिल्न नसक्ने अवस्थामा पनि मित्रवत् प्रतिस्पर्धा गर्ने र एकले अर्कोलाई गाली नगर्ने, अक्षेप नलगाउने, निर्वाचन आचारसंहितामा रहेर स्वतन्त्र ढंगले मत माग्ने सहमति भएको छ । त्यसैको आधारमा परिचालित भएको छ ? निर्वाचन जित्ने आधारमा, पहिलेको नतीजा, गठबन्धनलाई जिताउन सक्ने आधारमा उम्मेदवार चयन गरेका छौं ।

समृद्धः १० वटा पालिका र १०२ वटा वडामध्ये गठबन्धनमा रहेको दलहरुले कति प्रतिशत नतीजा आफ्नो पक्षमा पार्छ भन्ने आँकलन गर्नुभएको छ ?
लामाः यो प्रतिशतको आधारमा हामीले आँकलन गरेका छैनौं । हाम्रो सामँन्य समस्या भएका कारण समस्या समाधानतर्फ मात्रै हाम्रो ध्यान केन्द्रित भएको छ । बाहिरको हल्ला, स्वतन्त्र व्यक्तिको विश्लेषणका आधारमा गठबन्धन अत्यधिक रुपमा सफल हुन्छ भन्ने छ ।

समृद्धः गठबन्धनभित्र भन्दा पनि कांग्रेसभित्रै विशेषगरी ईन्द्र बहादुर बानियाँको बढी हस्तक्षेप रह्यो र उम्मेदवार चयन गर्ने विषयमा एउटा पक्षलाई अवसर दिएन भन्ने गुनासो छ । कांग्रेसले आफ्नो उम्मेदवारलाई छनोट गर्दा के कुरालाई आधार बनाएर, कसरी छनोट ग¥यो ?
लामाः नेपाली कांग्रेसले उम्मेदवार छनोट गर्दा केही आधारभूत कुरालाई ध्यानमा राखेर गरेको छ । सवैभन्दा पहिले गठबन्धन, गठबन्धनले पनि रुचाएको, गठबन्धनलाई चुनावी मैदानमा डो¥याउन सक्ने आधार बनाएका छौं । यस्तै राम्रो, स्वच्छ, निश्पक्ष र यो मान्छेलाई गठबन्धनको उम्मेदवार बनायौं भने हामी निर्वाचन जित्न सक्छौं भन्ने व्यक्तिलाई उम्मेदवार बनाएका छौं । उम्मेदवार छनोटको प्रक्रिया एक पक्षीय भयो भन्ने कुरा चैं होइन । सबैलाई समेट्ने प्रयास भएको छ । उम्मेदवारहरुलाई हेर्ने हो भने पनि त्यस्तो देखिँदैन ।

समृद्धः गठबन्धनमा संलग्न दलहरुबीच विश्वास र सौहाद्र्धताको स्थिति के छ ? विश्वासको वातावरण बनाउन के गरिरहनुभएको छ ?
लामाः गठबन्धन गर्ने परिपत्र पाएसँगै हामी हाम्रो जिल्लाको उच्च तहको नेताहरुसँग बसिरहेका छौं । जतिपनि समस्या आउँछन् ती समस्या समाधान गर्नतिर सहमत छौं । हाम्रो गठबन्धन मित्रवत् छ । गठबन्धन भएका पदमा एकदम आत्मीयता र विश्वासका साथ अगाडि बढेका छौं । गठबन्धन नभएका ठाउँमा मित्रवत् रुपमा बढ्ने, गठबन्धनका उम्मेदवारलाई विजयी बनाउने प्रयास छ । गठबन्धनलाई आँच आउने अवस्था नरहोस् भनेर सतर्क छौं । हाम्रो गठबन्धन सफलता उन्मुख छ ।

समृद्धः तपाइँहरु घरदैलोमा पनि सहभागी भइरहनुभएको छ । गठबन्धनलाई लिएर मतदाता कति सन्तुष्ट देख्नुभएको छ ?
लामाः गठबन्धनको सवालमा मतदाताहरु एकदम आकर्षित नै छ । मकवानपुरको सन्दर्भमा विशेषगरी नेकपा एमालेले बीसौं बर्ष स्थानीय निकाय, स्थानीय तहमा नेतृत्व गरे पनि जिल्लामा परिवर्तन, राहत महसुस हुने खालको काम नभएकोले नेकपा एमालेप्रति विश्वास कम भएको महसुस हामीले गरेका छौं । त्यसमाथि गठबन्धनका ५ दल एक भएर हिँडिरहेको अवस्थामा गठबन्धनलाई मत दिँदा दलको सहमतिमा स्थानीय सरकार चलाउँछ । त्यसो भयो भने जनताको कुरा बढी सुन्छ कि भन्ने कुरा आइरहेको छ ।

समृद्धः गठबन्धन दलका उम्मेदवारले कतिपय ठाउँमा साझा चुनाव चिन्ह लिएको छ भने कतिपय स्थानमा आआफ्नो चुनाव चिन्ह लिएर उम्मेदवार बनेका छन् । माओवादीले कांग्रेसलाई, कांग्रेसले समाजवादीलाई, समाजवादीले माओवादीलाई भोट मागिरहेको छ । यसले मतदातामा सिर्जना हुने अन्यौल र उनीहरुलाई वास्तविक उम्मेदवार र चुनाव चिन्हमै मतदान गर्न प्रेरित गर्ने योजना के छ ?
लामाः हामीले अहिले मत माग्ने क्रममा नै उम्मेदवारको चिन्ह र फोटो राखेरै मत मागिरहेका छौं । गठबन्धन भएको ठाउँमा एउटै चुनाव चिन्हमा लड्ने सहमति भइसकेको छ । त्यसमा समस्या छैन । सीमित केही वडाहरुमा भने आआफ्नो पार्टीको चुनाव चिन्हमा मित्रवत् प्रतिस्पर्धा गर्ने भनिएपछि त्यहाँ प्रशिक्षण र जानकारी गराइसकेका छौं । त्यस्ता ठाउँमा मेयर र उपमेयरमा हाम्रो साझा उम्मेदवार हो भनेका छौं । वडामा मित्रवत् प्रतिस्पर्धा भनेका छौं । त्यही ढंगले हामी मतदातालाई मतदान गर्ने प्रशिक्षण सुरु गरिसकेका छौं ।

समृद्धः स्थानीय तहमा आआफ्नो वस्तुस्थिति बुझ्ने अवसर पनि हो निर्वाचन । यो छुट्टाछुट्टै निर्वाचन नलडेर गठबन्धन गर्दाखेरी दलको अवस्था पनि बुझ्न नसकिने र मतदाताले पनि आआफ्नो खालको मनस्थितिलाई उपयोग गर्न नपाउने । यो अलि न्यायोचित भएन भन्ने पनि छ नि ?
लामाः यस्तो छ अब अहिले गठबन्धन गर्नुलाई बाध्यता या आवश्यकता भनौं या नेपालको राष्ट्रिय राजनीतिबाट घटित उपज भनौं कि भन्नुपर्ने अवस्था आउँछ । नेपालको संविधान, राज्य व्यवस्थालाई तलैदेखि बचाउनका लागि कार्यकर्तालाई प्रशिक्षित गराउन पनि गठबन्धन हो भन्ने बुझ्नुपर्ने छ । यसकारण जतिपनि गठबन्धन भएको छ यो नेपालको राजनीतिमा एउटा सुरुवात पनि हो । गठबन्धन गर्दा नेपालको राजनीति बलियो हुन्छ कि भन्ने कुरा पनि हो । तर के कुरा बुझ्नु पर्छ भने नेपाली कांग्रेसको बहुमत सरकार पनि टिकेन, नेकपाको वृहत शक्तिशाली सरकार पनि टिकेन । अब सरकार टिकाउनका लागि पनि गठबन्धन चाहिन्छ भनेर तल्लो तहदेखि नै गठबन्धनको संस्कार बनाउनका लागि पनि यो हामीले सुरु गरेका हौं । यो गठबन्धन सफल भयो भने नेपालको राजनीतिमा एउटा नयाँ मोड आउन सक्छ ।