कृष्ण प्रसाद पौडेल, शाखा अधिकृत, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर

विद्यालय शिक्षा परीक्षा (एसईई) भोलि शुक्रबारबाट देशव्यापीरुपमा सुरु हुँदैछ । मकवानपुरमा पनि एसईईको तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाईले जानकारी दिएको छ । २४ वटा परीक्षा केन्द्रमा जिल्लाभरका १ सय ३६ विद्यालयका ७ हजार १ सय ३८ जना परीक्षार्थी एसईईमा सहभागी हुनेछन् । परीक्षाको तयारीका विषयमा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका शाखा अधिकृत कृष्ण प्रसाद पौडेलसँग समृद्ध समाज दैनिकका लागि डीबी बर्तौलाले गर्नुभएको कुराकानीः

मकवानपुर जिल्लामा एसईईको तयारी कस्तो हुँदैछ ?
पौडेलः राष्ट्रिय परीक्षा बोर्डले गरेको सुचना र निर्देशन अनुसार जिल्लामा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले आवश्यक तयारी करीब करीब पूरा गरेको अवस्था छ । अहिलेसम्म जिल्लामा परीक्षा केन्द्र निर्धारणदेखि लिएर केन्द्र अध्यक्षहरुको नियुक्तिसम्मका कामहरु सबै सम्पन्न भैसकेका छन् । आवेदन फारम, प्रवेशपत्र वितरणका कामहरु पनि सबै सम्पन्न भैसकेका छन् । केन्द्राध्यक्षहरु नियुक्ति भैकन उहाँहरुका लागि अभिमुखीकरणको कार्यक्रमहरु संचालन भइसकेको छ ।

स्वयम् बिद्यालयका प्रधानाध्यापकहरु नै अहिले केन्द्राध्यक्ष हुने व्यवस्था गरिएको रहेछ । माध्यमिक तहको स्थायी भएका शिक्षक मात्र त्यो विद्यालयको केन्द्राध्यक्ष हुने जहाँ माध्यमिक तहका शिक्षकहरु प्रधानाध्यापक हुनुहुन्न त्यस्ता विद्यालयमा चैं अन्तका विद्यालयबाट केन्द्राध्यक्षको व्यवस्था गर्ने कुरो थियो । आखिर के कस्तो खालको सोचाईको आधारमा व्यवस्थालाई परिवर्तन गरियो ?
पौडेलः गत बर्षसम्म राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जुन निर्देशिका तयारी गरेको थियो त्यो निर्देशिकामा माध्यमिक तहका स्थायी शिक्षक मध्येबाट केन्द्राध्यक्ष बनाउनु पर्ने प्रावधान थियो । यसपाली निर्देशिकामा परीक्षा बोर्डले नै संशोधन गरेर सम्बन्धित विद्यालयका प्रधानाध्यापक नै त्यो विद्यालयको केन्द्राध्यक्ष रहने प्रावधान परिवर्तन गरी पठाएको हुँदा जिल्ला समन्वय समिति मकवानपुरले पनि त्यसअनुसारको व्यवस्थालाई कार्यान्वयन गरेर सम्बन्धित विद्यालयहरुको प्रधानाध्यापकहरुलाई नै केन्द्र अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको छ ।

परीक्षा केन्द्र परिवर्तन गरेर विद्यार्थीहरुलाई एसईई जुन तरिकाले लिने व्यवस्था गरिँदै छ यसले कतै विद्यार्थीहरुलाई कोरोनाको मारमा पढ्न नपाएको अवस्थामा अन्याय परेको जस्तो लाग्दैन ?
पौडेलः असोज कार्तिकदेखि नै विद्यालयहरु संचालनमा आएर पठन–पाठन अघि बढेको अवस्था हो । गत बर्ष जस्तो पठनपाठन हुँदै नभएको अवस्था होईन । त्यसो भएको हुनाले धेरै ठाउँमा धेरै विद्यार्थीहरु र शिक्षकहरुले मिहिनेत गर्नु भएको छ । विद्यार्थीहरुले जहाँसम्म राम्रै गर्नु हुन्छ भन्ने हामीले विश्वास लिएका छौं ।

एसईई संचालन तयारीको सन्दर्भमा मकवानपुरमा के कस्तो खालको अनुगमन र अवलोकन गर्ने काम हुन्छ ?
पौडेलः हाम्रो जिल्लामा जम्मा २४ वटा परीक्षा केन्द्रहरु रहने छन् । पहिला त केन्द्रको अध्यक्ष नै पहिलो अनुगमनकर्ता हुन त्यसपछि जिल्लाबाट पनि जिल्ला परीक्षा समन्वय समिति र सम्बन्धित शिक्षा अधिकृतहरुले त्यसलाई अनुगमन निरीक्षण सुझाव पृष्ठपोषण गर्ने काममा संलग्न रहनु हुन्छ । र जिल्ला परीक्षा समन्वय समितिले पनि एउटा टिमहरु खटाएर निश्चित सम्भव भएसम्म सबै परीक्षा केन्द्रमा पुग्ने गरी त्यसको व्यवस्था गरेको छ ।

थोरै समयको अबधिमा ग्रेडका अवस्थाहरु परिवर्तन भैरहेको कुराले पनि विद्यार्थीहरु अन्यौलमा परेको भन्ने पनि आउँछ यस सन्दर्भमा तपाई के भन्नु हुन्छ ?
पौडेलः कुनै पनि नयाँ व्यवस्था भनौं या पद्दति लागु गर्दा हठात लागु हुने त होईन । माथि विज्ञहरुको तहमा, मन्त्रालयको तहमा परीक्षा बोर्डले धेरै छलफल गरेर त्यो ग्रेडिङ पद्दति लागु गरेको हो । तथापि पहिला गरेको ग्रेडिङ पद्दतिले शैक्षिक गुणस्तर मापन गर्ने कुरामा अलिकति कहि कमि भयो । यसले पुग्दैन यसलाई सुधार गरेर जानु पर्छ भन्ने मत बढ्दै आएपछि करीब चार पाँच बर्षपछि फेरि केहि परिवर्तन गरेको छ र अहिलेको ग्रेडिङ पद्दतिले निश्चित ग्रेड भन्दा तलकोलाई ३५ प्रतिशत भन्दा तलकोलाई सर्टिफिकेट प्रदान नगरिकन अर्काे बर्षका लागि तयारीमा राख्ने व्यवस्था गरेको छ । निश्चित रुपमा पनि यसले पहिला भन्दा अलिकति गुणस्तर मापनको हिसाबमा सहयोग पुर्‍याउँछ र हाम्रो पठनपाठन अलि कमजोर भएको अवस्थामा नतिजा चै धेरै तल खस्कने हो कि भन्ने चिन्ता हामी सबैलाई छ ।