विश्वविद्यालय तहमा शिक्षाशास्त्र संकायको अध्ययन दक्ष शिक्षक बनाउने उद्देश्यले सञ्चालित छ । विद्यालय तहमा कक्षा ११ देखि नै शिक्ष्ाँशास्त्रको अध्यापन हुनुका साथै विश्वविद्यालय तहमा स्नातक र स्नात्तकोत्तर तहमा शिक्षाशास्त्रको पठनपाठन हुन्छ । विश्वविद्यालय तहमा शिक्षाशास्त्र संकाय सञ्चालनमा आएको दशकौं भइसक्दा पनि शिक्षा क्षेत्रमा सन्तोषजनक सुधार हुन सकेको छैन । शिक्षाशास्त्र संकाय अध्ययन गर्ने विद्यार्थीले शिक्षण अभ्यासका लागि निश्चित समय विद्यालयमा पुगेर अध्यापन समेत गर्नुपर्ने हुन्छ । यसै सन्दर्भमा हेटौंडा क्याम्पसमा स्नातक तहमा अध्ययनरत छात्र ललित घलान र छात्रा सन्चमाया मोक्तानसँग समृद्ध समाज दैनिकका लागि डीबी बर्तौलाले गर्नुभएको कुराकानीः
ललित घलान र सन्चमाया मोक्तान
शिक्षक बन्ने भन्ने हिसाबले शिक्षाशास्त्र संकाय पढ्न कसरी ईच्छा जाग्यो ?
ललितः सानैदेखि एउटा असल र ईमान्दार शिक्षक बन्ने मेरो उद्देश्य थियो जस अनुसार एसएलसी पश्चात प्लस टु तहमा मैले एजुकेशन लिएर पढेँ । अहिले स्नातक तहसम्म आईपुग्दा प्रमुख विषय गणित लिएर स्नातक तहमा पढिरहेको छु ।
शिक्षण पेशाका सकारात्मक पक्षहरु के–के देख्नु हुन्छ ?
सन्च मायाः आर्थिक, सामाजिक लगायतका सबै पक्षमा राम्रो देख्छु । मैले बुझ्दै गर्दा हाम्रो लागि सबै भन्दा ठुलो आवश्यकता भनेको आर्थिक पक्ष हो । शिक्षा क्षेत्रमा आर्थिक रुपमा पनि व्यवस्थित छ । आर्थिक रुपमा हामीले आय आर्जन गर्न सक्छौं । त्यो एउटा स्रोतको रुपमा भयो । सामाजिक रुपमा चै शिक्षासँग सम्बन्धित व्यक्तिलाई समाजमा एउटा छुट्टै ईज्जत र सम्मानको दृष्टिले हेर्छ । यसलाई हामीले सकारात्मक अवसरको रुपमा लिन सक्छौं ।
शिक्षण बाहेक समाजमा अरु थुप्रै पेशाहरु छन् शिक्षक नै बन्न चै के कुराले प्रेरित गर्यो ?
ललितः शिक्षा क्षेत्रमा भएको बिसंगति, बिकृति, शिक्षक माथि यो समाजले हेर्ने कुदृष्टि, सरकारी पक्षबाट शिक्षक माथि भैरहेको अपहेलना, त्यसको एउटा निकास म शिक्षक भएर गर्न सक्छु भन्ने एउटा अभिप्रायले मैले शिक्षण पेशा रोजेको हुँ ।
सन्च मायाः कुनै पनि पेशामा जान सर्बप्रथम योग्य बनाउने व्यक्ति भनेकै शिक्षक हो । शिक्षक बिना कुनै पनि व्यक्ति अन्य पेशामा लाग्न योग्य वा दक्ष बन्न सक्दैन । त्यसैले समग्र रुपमा हेर्दा शिक्षक नै एउटा त्यस्तो खम्बा हो जसले हरेक पेशामा रहेका व्यक्तिको प्रतिनिधित्व गरिरहेको हुन्छ । व्यक्तिगत ईच्छाले आफु कुनैपनि सेक्टरमा जान पाईने भयो तर त्यसका लागि दक्ष बनाउने भनेको शिक्षकले नै हो । सबैलाई शिक्षण पेशामा जानका लागि यो अनुरोध होईन तर कुनै पनि पेशामा जान ईच्छुकलाई योग्य बनाउने चै मेरो उद्देश्य हो ।
विद्यार्थीहरु, समुदाय, शिक्षकहरु या भनौं समग्र शिक्षा प्रणालीमा देख्नु भएको खराब पक्ष के हो ?
ललितः शिक्षा क्षेत्रमा खासै खराबी पक्ष म देख्दिन । विद्यालय पक्षले त्यहाँको व्यवस्थापकीय पाटोलाई राम्रो नगरेको अवस्थामा त्यहाँ विद्यालयस्तरमा संचालित शिक्षामा समस्या भइरहेको त म पर्याप्त देख्छु । समाजले पनि जति त्यहाँ गर्नुपर्ने भूमिका नगरेको देखिन्छ र अहिले शिक्षा क्षेत्रमा शिक्षकहरुको अल्छिपना जटिल समस्या बन्दै गइरहेको पनि म देख्छु । घण्टी लागेपछि पनि शिक्षक समयमा कक्षा कोठामा नगईदिने, गइहाले पनि समय अगावै कक्षाबाट बाहिरिदिने यस्तो समस्याहरु चै समयमै समाधान हुनु पर्छ ।
अभ्यास शिक्षण (टिचिङ प्राक्टिस) मा जाँदा सामुदायिक विद्यालयको के कस्तो अवस्था पाउनु भयो ?
सन्च मायाः केहि पक्षमा सकारात्मक र केहि पक्षमा नकारात्मक अवस्था देखियो । मैले देखेको चैं विद्यालयमा विद्यार्थीहरु पढाईमा भन्दा बाह्य कुरामा ध्यान केन्द्रित भएको पाएँ । शिक्षकसँगै अभिभावकले पनि विद्यार्थीप्रति चासो अलि कम दिएको पाएँ ।
अभ्यास शिक्षणको अनुभव के कस्तो प्राप्त गर्नु भयो ?
ललितः पहिलो दिन अभ्यास पढाईमा जाँदा त्यहाँको विद्यार्थीले टिचरलाई गर्नुपर्ने सम्मान मैले पाईन । त्यहाँ विद्यार्थीमा अनुशासनको कमि मैले पाएँ । एउटा साथीलाई जस्तो मलाई व्यवहार गरे त्यहाँका विद्यार्थीले । अनि मैले पढाई रहँदा हल्ला गरिरहने प्रवृत्ति पनि पाएँ । त्यो खालको एउटा तितो अनुभव मैले पहिलो दिनमा पाएँ । मैले अध्यापन गराई रहँदा त्यहाँको व्यवस्थापनको पाटाहरु पनि एकदमै कमजोर रहेको मैले पाएँ । स्कुलमा नौं, दश कक्षालाई पढाउँदा मैले यस्तै अनुभवहरु पाएँ ।