स्थानीय तहको निर्वाचनको माहोल निकै अघि बढेको छ । जनताको मताधिकारको उच्चतम् प्रयोग गर्ने अवसर निर्वाचन हो । लोकतान्त्रिक शासन व्यवस्थामा आवधिक निर्वाचन जनअधिकार उपयोगको सुनौलो मौका हो । तर नेपालमा यसलाई नागरिक अधिकार प्रयोग भन्दा दुरुपयोग गर्ने गराउने पद्दतिको रुपमा विकास गरिएको छ । नियमन गर्ने निकाय र व्यक्तिहरुले अधिकार दुरुपयोगमा आँखा चिम्लनुपर्ने अवस्था बन्दै गएको छ । यस्ता घटना र व्यवहार स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सबैभन्दा ठूला अवरोधक हुन् । बाधाहरु नहटाएसम्म जनअधिकार संरक्षण गर्ने गरी निर्वाचन हुन सक्दैन । निर्वाचनलाई जनपक्षीय बनाउने क्रममा निर्वाचन आयोग, राज्यका निकायदेखि सञ्चार माध्यमको पनि ठूलो भूमिका हुने गर्दछ ।

उम्मेद्वार को हुने भन्नेदेखि उसका बारेमा जानकारी दिने सबैभन्दा प्रभावकारी माध्यम सञ्चार क्षेत्र नै हो । यसको प्रभावकारितालाई सदुपयोग गराउने जिम्मेवारी सञ्चारकर्मीको हो । तर पछिल्लो समय दुबै पक्षबाट दुरुपयोग गराउने प्रक्रिया र पद्दतिको विकास भएको छ । आमसभा, भेला, गोष्ठी गर्नुभन्दा कुनै सञ्चार माध्यममा दिएको अन्तरवार्ता वा कुराकानी निकै प्रभावकारी हुने गर्दछ । यही तथ्यका आधारमा अन्य विज्ञापन दिनुभन्दा उम्मेद्वारहरु सञ्चार माध्यमबाट प्रस्तुत गर्न इच्छुक हुने गर्दछन् । सकेसम्म उम्मेद्वारहरुले सञ्चार माध्यमलाई आफ्नो पक्षमा पार्ने प्रयास गर्नु स्वभाविक हो, तर प्रयोग हुने वा नहुने, पक्ष लिने वा निष्पक्ष रहने भन्ने जिम्मेवारी सञ्चारकर्मीहरुको इमान्दारितामा भर पर्दछ । निर्वाचनलाई आम नागरिकको पक्षमा पार्ने वा कुनै उम्मेद्वार वा दलका पक्षमा उपयोग गराउने भन्ने अहम् भूमिका पत्रकार स्वयम्को हुने गर्दछ ।

निर्वाचनको समयमा सम्प्रेषण गरिने समाचारको विषयवस्तु, तथ्यांक, सूचना, दुष्प्रचार, घृष्णास्पद अभिव्यक्तिको नियन्त्रणजस्ता कुराहरु महत्वपूर्ण हुने गर्दछन् । कुनै उम्मेद्वारको विपक्षीलक्षित धारणालाई कुन रुपमा पाठक श्रोतासम्म पु¥याउने भन्ने विवेक सञ्चारकर्मीले पु¥याउनै पर्दछ । घृणात्मक अभिव्यक्तिलाई जस्ताको तस्तै समाचार बनाउने हो भने द्वन्द्वको अवस्था आउन सक्छ । समाजप्रति जिम्मेवार समाचार बनाउने हो भने पक्ष वा विपक्षभन्दा पनि वास्तविक तथ्यहरुलाई आधार बनाइनु पर्दछ । चुनावी समाचारहरु कसरी प्रस्तुत गर्ने भन्ने विषयमा निर्वाचन आयोगले सञ्चारकर्मीहरुलाई अभिमुखीकरण आयोजना गरिरहेको हुन्छ । अमुक उम्मेद्वारको पक्षभन्दा नागरिकका आवश्यकता, जननिर्वाचितले हिजो गर्ने नसकेका र गर्न आवश्यक कुराहरु उजागर गराउन सक्नु पर्दछ ।

निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र तथा भयरहित बनाउने काममा सूचना तथा सञ्चारको भूमिका हुने गर्दछ । यसका लागि दल र उम्मेद्वारको व्यवहार, आचरण, उनीहरुले गर्ने पारदर्शिताजस्ता कुरामा निर्वाचन आयोग आफैं कति प्रभावकारी छ भन्ने कोणबाट पनि सूचनाहरु सार्वजनिक हुनु पर्दछ । स्वतन्त्रपूर्वक समाचार सम्प्रेषण गर्ने वातावरण छ कि छैन भन्ने पक्ष महत्वपूर्ण हुन्छ । यसमा निर्वाचन आयोगदेखि राजनीतिक दल तथा उम्मेद्वारहरुले भूमिका निर्वाह गर्नु पर्दछ । कुनै पनि निर्वाचन आम नागरिकले आफ्नो अधिकार उपयोग गर्ने गरी निश्चित अवधिका लागि प्रतिनिधि चयनको प्रक्रिया हो । त्यसैले राज्य, निर्वाचन आयोग, राजनीतिक दल, सञ्चार क्षेत्रदेखि आम मतदाता सचेत र सक्रिय हुनु पर्दछ । यी सबै पक्षले निर्वाचनमा खेल्ने भूमिकाको मूल्यांकन गर्नसक्ने दायित्व सञ्चार माध्यमको हो ।