हेटौंडाः हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा कोरियाको सियोलमा भएको सहरी सुरक्षा सम्बन्धी कार्यक्रममा सहभागी भएर बुधबार स्वदेश फर्कनुभएको छ । सोमबार र मंगलबार भएको सम्मेलनमा सहभागी हुन उपमेयर लामा शनिबार कोरिया प्रस्थान गर्नुभएको थियो । उपमेयर लामा एक्लै कोरिया पुग्नु भएको हो । नेपालबाट हेटौंडा उपमहानगरपालिकाको मात्रै प्रतिनिधित्व रहेको थियो । सहरी सुरक्षासम्बन्धी कार्यक्रममा विभिन्न देशका १० वटा नगरपालिकाका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमबाट १० बुँदे घोषणापत्र समेत सार्वजनिक गरिएको छ । उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै उपमेयर लामाको यो पहिलो विदेश यात्रा हो । यसअघि व्यक्तिगत रुपमा उपमेयर लामाले चीन भ्रमण गर्नुभएको थियो ।