हेटौँडा: सभा, सम्मेलन, विशेष समारोह आयोजनाका लागि हेटौँडा–१, चौकीटोलमा हिमालयन दरबार सञ्चालनमा आएको छ । करिब ७ करोड रुपैयाँ लगानीमा साढे २ विगाहा क्षेत्रफलमा हिमालयन दरबार खुलेको हो । बागमती प्रदेशको राजधानी हेटौँडामा हेटौँडा र हेटौँडा बाहिरका व्यवसायीको संयुक्त लगानीमा खुलेको पछिल्लो समयको ठूलो परियोजनाको रुपमा हिमालयन दरबार रहेको छ ।
हेटौँडाका कमल अधिकारी, संगम पराजुलीसहित हेटौँडा बाहिरका सूर्यलाल भण्डारी, न्यूटन गौतम, होम सुवेदी, दीपक सापकोटा, ममता गौतमसहित ९ जनाको लगानीमा हिमालयन दरबार सञ्चालनमा आएको हो । ३० जनादेखि ३ हजार अट्ने ९ वटा हलसहित कलात्मक शैलीमा निर्माण गरिएको हिमालयन दरबारले भोजको कार्यक्रममा एकै दिन ६ हजार जनासम्मलाई सेवा दिन सक्ने र सभा, सम्मेलनको हकमा ३ हजार प्रतिनिधिलाई व्यवस्थापन गर्न सक्ने हिमालयन दरबार प्रालि अध्यक्ष कमल अधिकारीले जानकारी दिनुभयो ।
१२ वर्षदेखि काठमाडौंमै पार्टी प्यालेस व्यवसाय गर्दै आउनुभएका बागमती प्रदेश खेलकुद विकास परिषद्का पूर्व सदस्य सचिव सूर्यलाल भण्डारीले प्रदेशको राजधानीमा गुणस्तरीय पार्टी प्यालेसको आवश्यकता महसुस गरेर लगानी गरेको बताउनुभयो । आइतबार पुजापाठ गरेर हिमालय दरबारले अनौपचारिकरुपमा सेवा शुभारम्भ गरेको जनाएको छ । औपचारिक उद्घाटनको कार्यक्रम छिट्टै गरिने र सेवा प्रवाह पनि सुचारु हुने लगानीकर्ता सूर्यलाल भण्डारीले बताउनुभएको छ ।











