गएको शनिबार म (सिएम रिमाल), रविन्द्र सरको मोटरसाइकलको पछाडि बस्दै बाटो लागेँ । साथमा हुनुहुन्थ्यो मेरा अभिन्न मित्रहरू रोशन चौलागाईं, रुपा ढुङ्घेल, कबिर गौतम, प्रमिता कार्की र श्याम पराजुली सर । मकवानपुरको पूर्वी भागमा अवस्थित रमणीय स्थल लटरमेश्वर हाम्रो गन्तव्य थियो । हामीले गन्तव्यभन्दा पनि यात्रालाई महत्व दिँदै हेटौँडाको घाम, हावा र गफ मिसाएर खोरभन्ज्याङतिर दौडियौँ । खोरभन्ज्याङ पुग्नेबित्तिकै शीतल हावाले हामीलाई स्वागत गर्यो, कहिलेकाहीँ बादलले अनुहार छेक्थ्यो अनि जङ्गलको ओढारमा छिर्दा लाग्थ्यो यो यात्रा त कुनै फिल्मी दृश्य जस्तै बन्न लाग्यो ।
उकालो चढ्दै गर्दा मोटरसाइकल कहिले दौडिन्थ्यो त कहिले हाम्रै सास फेर्ने गतिझैं सुस्त हुन्थ्यो । गफगाफ चलिरहन्थ्यो कोही भन्थे, ‘तल झरेर सिधैँ जडीबुटी टिप्नुपर्ला जस्तो छ ! कोही ठट्टा गर्थे, ‘यी बादल त लजाएर हामीलाई लुकाइरहेका छन् !’
जति उकालो लाग्दै गयौँ, उति दृश्य थप रोमाञ्चक हुँदै गयो । हरियाली, झरना अनि बाटोमै देखिएका अनौठा ढुङ्गाहरू सबैले हाम्रो आँखा लोभ्याइरहेका थिए । तर यो केवल दृश्यको कथा थिएन । कहिलेकाहीँ जङ्गलभित्र बाटो नै हराउँथ्यो अनि हामी आफैँले बाटो बनाउँथ्यौँ । हिलोमा चिप्लिँदै, लड्दै, उठ्दै अघि बढ्नुको आफ्नै मज्जा थियो । रोशन सर एकपटक लड्नुभयो अनि धूलो टाँसिएको कपडामा उभिएर ठट्टा गर्दै रुपा मिसले भन्नुभयो, ‘मेरा बुढा हिलो लागे पनि हिरो छन् मान्छे त !’
मानिसको चिसो स्वास र छेवैको खोँचको डर ! प्रमिता मिस डराउँदै भन्नुहुन्थ्यो, ‘अब गुफा भित्रको शिवजी आफैँ बाहिर नआइदिएर त हो नि यसरी भेट्नै पर्ने भएको ?’ तर उत्साह झन बढ्दै गयो । साँघुरा घुम्तीहरू, चिप्लो बाटो, कहिले खुला आकाश, कहिले बादलको घेराबन्दी सबैले हामीलाई अगाडि बढ्न बाध्य बनाइरहेका थिए । अन्ततः हामी ८८०० फिट अग्लो त्यो गन्तव्यमा पुग्यौँ, जहाँ आस्था र उचाइ एकसाथ भेटिन्छन् ।

लटरमेश्वरको गुफा अगाडि पुगेका थियौँ तर त्यहाँको भीड देख्दा एकछिन त लाग्यो, ‘भगवान शिवभन्दा पहिले त मानिसकै परीक्षा हो ।’ गुफामा पस्नका लागि लाइन लागिएको थियो । मानिसहरू चुपचाप, कतै भक्तिभावमा त कतै मोबाइलको फ्ल्यासमा । हामी पनि सोही लाइनमा उभियौँ । हाँस्दै, फोटो खिच्दै, भक्तिमा डुब्दै । रविन्द्र सरले भन्नहुन्थ्यो, ‘गुफाभित्र फोटो खिच्न नपाइए पनि भगवान साक्षात् देख्न पाइन्छ रे साथीहरु ।’
त्यहाँ केहीबेर बिताएर जब फर्कने बेला आयो तब बल्ल थकाइ महसुस हुन थाल्यो । तर बादलसँग लुकामारी खेल्दै तल झर्ने यात्रा छुट्टै रोमाञ्चक बनिरहेको थियो । जङगलको बाटो अब ओझेलमा परिसकेको थियो र कहिले एकअर्कालाई हराउँथ्यौँ त कहिले चिच्याउँदै बाटो खोज्थ्यौँ । प्रमिता कबिर सरले पछाडिबाट भन्नुहुन्थ्यो, ‘अब तल खस्यौँ भने… बादललाई टेकेर हिँड्ने होइन है !’
हामी सबै थाक्दै थियौँ । म त भित्रभित्रै सोच्दै थिएँ ४० पार गरेको मान्छे यी ठिटाठिटीसँग कहाँ जुँदिन्छ र ! गोडा थाकेका, हड्डी दुखेका तर मनमा एउटा सन्तोष भने थियो मैले जीवनको अर्को मिठास बटुलेको छु । तर त्यो मिठास त्यत्तिमा मात्रै सीमित थिएन ।
मन्दिर जाँदै अर्डर नगरी छोडिएको भोजन अहिले फर्कंदा सम्झना बन्न पुग्यो । मेलै होटलवाला दाजुको नम्बर फेला पारेर जब फोन गरेँ अनि अर्डर दिएँ, ‘भाउजू, ताजा फर्सीको मुन्टा, टमाटरको अचार, घ्यूमा झानेको दाल र घ्यूको सुवास बोकेको भात ! के यति मात्र बोलेको थिएँ त्यो सुनेर हामी सबैको मुखमा पानी रसाइहाल्यो ।
हामी होटल पुग्दा भात आउँदै थियो । भोकले पेट चर्किसकेको थियो र थकाइले त झन स्वाद दोब्बर बनाइदिएको थियो । रविन्द्र सरले ठट्टा गर्दै भने, ‘भात गन्धमै खाइसकियो, कति थप्नु केही भन्ने हो कि फेरि यो आफ्नो भने चौथो पटक मात्र थियो ।’ अन्ततः भात आयो । त्यो थालको भात, मुन्टा र अचार ती कुनै पाँचतारे होटलभन्दा कम थिएनन् हाम्रा लागि । हामी सबैले त्यो स्वादलाई केवल खायौँ मात्र होइन, मनभित्र राख्यौँ पनि । भोक, थकाइ, स्वाद र मिलनको सङ्गम थियो त्यो भोजन ।
अस्ताउन लागेको घामले आकाशलाई सुन्तलाजस्तो रङ्गमा रङ्गाइरहेको थियो । हामी सबैले त्यो दृश्यलाई आँखामा कैद गर्न कोही पछि परेनौँ । कसैले मोबाइलमा, कसैकसैले भने मनभित्र पनि । झुल्किँदै गरेको घामसँगै हामी फेरि हेटौँडातर्फ लाग्यौँ । बाटो शान्त थियो, मन शान्त थियो तर गफ फेरि सुरु भएको थियो । रूपा मिसले भनिरहनु भएको थियो, ‘अब अर्को गन्तव्य कहाँ होला ?’ अनि रोशनले सरले ठोकुवा गनुभयो, ‘अब त चित्लाङ जानुपर्छ है साथीहरु !’
हामी सहरतिर फर्किरहँदा मलाई लागिरह्यो यात्रा केवल गन्तव्यमा पुग्नु मात्र होइन, त्यो त अनुभव सङ्गाल्नु पनि त हो । कहिले जङ्गलमा हराउनु, कहिले हिलोमा चिप्लनु, कहिले बादलसँग लुकामारी खेल्नु त कहिले ठट्टामै शिव भेट्नु । ती सबैले मिलेर एउटा कथा बुनेका छन्, जुन कथा म आज लेख्दै छु ।
जीवनमा यस्तो थुप्रै यात्राहरू हुन्छन् तर केही यात्राहरू जीवन्त बन्छन् । त्यो दिन, त्यो साथीहरूको साथ, त्यो मन्दिरको कोलाहाल, त्यो जङ्गलको डर, त्यो हिलोको चिप्लोपन अनि त्यो घ्यूको भात यी सबै अहिले पनि मनभित्र झलझली आउँछन् । म आज पनि त्यो बादलभित्रको बाटो सम्झन्छु, त्यो थकाइ सम्झन्छु र ती साथीहरू सम्झन्छु जसले मलाई फेरि जवान बनाइदिनु भएको थियो ।











