हेटौंडाः सुमो व्यवसायीहरुले सडकण्डहरुको बन्द भएको मौकामा चर्को भाडा लिने गरेको पाइएको छ । हेटौंडा हुँदै काठमाडौं जाने र आउने यात्रुहरुलाई सुमो व्यवसायीहरुले चर्को भाडा लिने गरेको पाइएको हो
सोमबारसम्म त्रिभुवन लोकपथ सडकखण्ड अन्तर्गतको हेटौंडा–सिमभञ्ज्याङ–पालुङ–चित्लाङ हुँदै थानकोट निस्कने सडकखण्ड मात्र सञ्चालनमा थियो । काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड, भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौं सडकखण्ड, सिस्नेरी–दक्षिणकाली सडकखण्ड भने पहिरो तथा पुलमा क्षति पुगेका कारण अवरुद्ध थियो । सोही मौकामा हेटौंडाका सुमो व्यवसायीहरुले यात्रुहरुसँग चर्को भाडा लिएका हुन् ।

सोमबार त्रिभुवन राजपथको पालुङबाट चित्लाङ हुँदै काठमाडौं आवतजावत गरेको सुमो व्यवसायीहरुले प्रतियात्रु १ हजार रुपैयाँ लिएका थिए । अरुबेला नियमित ६ सय ५० रुपैयाँ भाडादर रहेकोमा अहिले ३ सय ५० रुपैयाँ बढाएर १ हजार रुपैयाँ पु¥याएको हो । ‘अहिले वर्षाका कारण सडक धेरै ठाउँमा बिग्रेको छ । हामीले पनि यात्रुहरुको मागअनुसार जोखिम मोलेर गाडी निकालेका छौं । यो सडकखण्डबाट अहिले ६ घण्टाभन्दा बढी समय लाग्छ । यति भाडा त लिनैपर्छ के गर्नु’, एक व्यवसायीले भने । सडकखण्डमा राम्रोसँग आवतजावत गर्न सम्भव भएपछि र अन्य सडकखण्डहरु खुलेपछि साविककै भाडादरमा आउने जाने व्यवस्था हुने पनि उनले बताए ।

सोमबार हेटौंडाबाट काठमाडौं जाने यात्रुको संख्या भने कम थियो । उनीहरुले अत्यावश्क काम भएर जानुपरेको बताएका थिए । ‘काठमाडौं पुग्नै पर्नेछ । भाडा जति भए पनि तिर्नैप¥यो । नभए गाडी नै छैन भनेर भन्छन्’, एक यात्रुले भने । सुमो व्यवसायीहरुले अहिले सडकको अवस्थालाई देखाएरमात्र नभई चाडपर्वको समयमा हरेक वर्ष यात्रुहरुसँग चर्को भाडा लिने गरेका छन् । नजिकिँदै गरेको चाडहरु (दशैं, तिहार र छठ) मा अझ विशेषगरी सुमो व्यवसायीहरुले यात्रुहरुसँग चर्को भाडा लिने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सीताराम रिजालले नागरिकले चर्को भाडा तिर्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभयो । यसमा प्रहरीले विशेष निगरानी राख्ने भन्दै उहाँले चर्को बढी भाडा लिएको पाइएमा प्रहरीमा खबर गर्न आग्रह गर्नुभयो । उहाँका अनुसार चर्को भाडा लिएको भन्ने गुनासो बाहिर आए पनि प्रहरीमा भने कुनै खबर आएको छैन । यसो हुँदा बढी भाडा लिने यातायात व्यवसायीहरुलाई कारबाही गर्न नसकेको उहाँको भनाइ छ । गतवर्ष मकवानपुर प्रहरीले खबर पाएअनुसार बढी भाडा लिने व्यवसायीलाई कारबाही गरेर भाडा फिर्ता गर्ने काम गरेको उहाँले बताउनुभयो ।