नेपालको संविधान २०७२ ले मुलुक धर्म निरपेक्ष राष्ट्र रहने व्यवस्था गरेको छ । संविधानले धर्म निरपेक्षताको व्याख्या गर्दै धर्म निरपेक्षता भनेको सनातन धर्मको रक्षा र सम्बर्धन गर्ने भनेर विचित्रको व्याख्या संविधानको अंश बनाइएको छ । धर्म निरपेक्ष भनेको राज्य धर्मसँग अलग रहने हो । राज्यको कुनै धर्म हुँदैन भन्ने हो । राज्य धर्मभन्दा माथि उठेर स्वतन्त्र हुनु हो । धर्म निरपेक्षतालाई कुनै एउटा धर्मलाई मात्र खास मान्यता नदिएर सबै धर्मलाई समान ठान्ने तथा धर्मका मामिलामा राज्यले कुनै किसिमको हस्तक्षेप नगर्ने र संविधानमा पनि कुनै धर्मको आड नलिने जनाउँछ । अर्थात् राज्य धर्मको आधारमा नभई अनुभव, ज्ञान र सीपको आधारमा चल्नुपर्छ भन्ने मान्यता धर्म निरपेक्षताको मान्यता हो ।
पश्चिमा धर्म निरपेक्षता धर्म र राज्य बीच पूर्ण पृथकीकरणमा आधारित छ, भने नेपालमा सबै धर्मलाई समग्ररूपमा सम्मान गर्ने संवैधानिक मान्यतामा आधारित छ । पश्चिमा देशहरुमा चर्चले राज्यको सबै खालको शक्ति आफैंले कब्जा गर्ने थाले, चर्च नै कार्यपालिका, न्यायपालिका रव्यवस्थापिका जस्तो देखिन थाल्यो । त्यसको अकर्मण्यता यतिसम्म बढ्यो कि चर्चले स्वर्ग जाने टिकट बेच्न थाल्यो । त्यसपछि मन्टेस्क्यू जस्ता दार्शानिकहरुले यो चर्चको शक्तिलाई हामीले छुटाएर शक्ति पृथकीकरणको सिद्धान्त ल्याउनुपर्छ भन्ने हिसाबबाट आएको हो । यो धर्म निरपेक्षता नकारात्मक देखिन्छ । किन भन्दा यो रिएक्टिभ छ ।
धेरै मुलुकहरूमा धर्म निरपेक्षता भनिए तापनि आफ्नो एलायन्स बनाउँदा र दुश्मनी गर्दा धर्मलाई नै आधार मान्छन् । कतिपयले धर्म निरपेक्षतालाई हात्तीको दाँत सरह बनाएका छन् । उदाहरणका लागि अमेरिका आफूलाई धर्मनिरपेक्ष राष्ट्र भन्छ तर बराक हुसैन ओबामा जो मुस्लिम समुदायका थिए उनले आफ्नो नामबाट हुसैन हटाएर मुस्लिम धर्म छोडेर क्रिष्चियन धर्म मानेपछि मात्र उनि राष्ट्रपति हुन योग्य भए । विशेषगरी ९/११ घटनापछि अमेरिकीहरुले मुस्लिमहरूलाई हेर्ने दृष्टिकोण नै पृथक छ, आफ्नो देशमा बाईबल छोएर सपथ खुवाउने अमेरिकीहरु अरुको देशमा आएर धर्म परिवर्तन गर्न पाउनुपर्ने विषय संविधानमा समावेश गर्नुपर्छ भन्ने आपत्तिजनक भनाई राख्छन् ।
केही समयअघि बेलायतका पूर्वप्रधानमन्त्री डेविड क्यामरुनले संसदमै भनेका थिए कि बेलायतमा थुप्रै जातजातिका, थुप्रै धर्म मान्नेदेखि नास्तिकहरु पनि छन् तर बेलायतको मूल्य, मान्यता क्रिष्चियानिजीले मात्र बोक्छ भनेर दावी गरे । वास्तवमा हरेक समाज कुनै न कुनै जगमा टेकेर बनेको हुन्छ र त्यो जग मध्ये एउटा मुख्य जग धर्म हो । अमेरिकी राजनीतिज्ञ हेनरी किसिंजरले भनेका छन् धर्म निरपेक्षता भनेको धर्म शून्य हुनु होइन, धर्म निरपेक्षता भनेको धार्मिक असहिष्णुता नहुनु हो । त्यसैले अफ्रिकन आर्च बिशप (पादरी) डेसमंड टूटूले भनेका छन् “जब मिसनरीहरू अफ्रिकामा आए तिनीहरूसँग बाईबल थियो र हामीसँग भूमि थियो । तिनीहरूले भने, ’हामी प्रार्थना गरौं ।’ हामीले आँखा बन्द गर्यौं । हामीले आँखा खोल्दा हामीसँग बाईबल थियो तिनीहरूसँग जमिन थियो ।”
विश्वमा करिब–करिब ८६ राष्ट्रहरु ईसाई छन् जसमा १५ वटा राष्ट्र जस्तै अर्जेन्टिना, कोस्टारिका, डेनमार्क, ग्रिस आदि त प्रत्यक्षरुपमा चर्चबाट नै सञ्चालित छन् । त्यसैगरी करिब ४८ वटा राष्ट्र मुस्लिम छन्, करिव ८ राष्ट्रत बौद्राष्ट्र छन् भने करिब डेढ करोडको हाराहारीमा रहेको यहुदीहरुको पहिचानसहितको देश रहेको छ । संवैधानिकरुपमा निरपेक्षता वा धर्मबाट अलग भने पनि व्यवहारिकरुपमा ति कुनै न कुनै धर्मबाट निर्देशित छन् । युरोपका देशहरु क्रिष्चियानिटी मान्यतामा खडा भएको छ त्यस्तै नेपालको भू–यथार्थ पनि बुझ्न जरुरी छ ।
त्यसरी नै नेपाल सनातन धर्म, संस्कृतिको जगमा खडा भएको देश हो । करिब १५० करोड हिन्दूहरु भएको विश्वमा किन एउटा हिन्दू राष्ट्र हुन नसक्ने ? जनसंख्याको हिसाबमा पनि नेपालमा हिन्दू बाहुल्य रहेको र साँस्कृतिक भाषिकरुपमा पनि यो देश हिन्दू सापेक्ष हुनुपर्ने हुन्छ । नेपालमा रहेका विभिन्न धार्मिक तथा संस्कृति पहिचान बोकेको क्षेत्रहरुमा विश्वभरी छरिएर रहेका करिब १५० करोड हिन्दूहरुको १ प्रतिशत मात्र पनि वार्षिकरुपमा नेपाल आए भने यसले नेपालको अर्थतन्त्रलाई ठूलो टेवा पु¥याउन सक्छ । करोडौं खर्च गरेर संविधानको सुझाव संकलन गर्ने कार्य भयो सो समयमा धेरै भन्दा धेरै नेपालीले सुझाव दिने क्रममा हिन्दू राज्यको माग पनि गरे तर सुझावको कुनै पनि बुँदा संविधानसभामा प्रस्तुत भएन ।
वैदिक सनातन धर्म मान्ने हाम्रो देश देवभूमि हो ऋषिहरुले तपस्या गर्ने तपोभूमि हो यो देश एक अर्ब हिन्दूहरुको आस्थाको धरोहर हो । यहाँ हिन्दू किराँत, बौद्ध, जैन गरेर ९४ प्रतिशत जनता ओमकार परिवारका छन् । मठ, मन्दिर, देवालय ३३ कोटी देवताको बास रहेको यो क्षेत्र पूर्ण धार्मिक आस्थाको पुञ्ज हो । यस्तो देश स्वतधर्मबाट किमार्थ अलग रहन सक्दैन । यहाँको सनातनि परम्परा संस्कृति जन्मदेखि मरणसम्मको हाम्रा मान्यताहरु मौलिक छन् ।
२०६२÷६३ को जनआन्दोलनमा धर्मनिरपेक्षता न आन्दोलनको माग थियो न १२ बुँदे सम्झौतामा समावेश थियो । आन्दोलनको रापतापमा रातारात युरोपियन युनियनको दबाबमा यो मुद्दा षड्यन्त्रपूर्वक नेपाली जनतामाथि लादियो । आज त्यहि धर्मनिरपेक्षताको आवरणमा तीव्र ढंगबाट धर्मान्तरण भयो । लोभ लालच दिएर धर्म परिवर्तन गर्ने खेल डढेलो जस्तो सल्कियो । अहिले अनौपचारिक तथ्याङ्क हेर्ने हो भने पचास लाख हाराहारीमा क्रिष्चियन संख्या रहेको छ । त्यस्तै चर्चहरु उल्लेखनीय संख्यामा छन् । खासगरी अनपढ, गरिब, जातीय विभेदको कुरा देखाएर भ्रम छरेर धर्म परिवर्तन गराउने खेल जारी छ ।
साँस्कृतिक अतिक्रमणको यो कहाली लाग्दो तस्बिरको पछाडि डलरको खेति गर्ने एनजिओ÷आएनजिओ लगायत संगठित र योजनावद्ध ढंगबाट धर्म परिवर्तन गराउने कार्य भएको देखिन्छ । नेपालको पहिचान नै संकटपूर्ण अवस्थामा छ । हाम्रो शास्त्र, धर्मले कतै जातीय विभेद्, छुवाछुतको व्यवस्था गरेको छैन । केहि टाठा–बाठा ब्राह्मण र सामन्तीहरुले छुवाछूत, जातीय विभेद्, उत्पीडन जस्ता विषय प्रचलनमा ल्याएपनि जनताको बढ्दो सचेतनाका कारण ती न्यूनीाकरण हुँदैछ भने कानुनतः ती दण्डनीय छ । धर्म परिवर्तन त्यहि आधारमा भ्रमितरूपमा गरिँदैछ जबकी हिन्दु अधिराज्य हुँदा पनि सबै धर्मको सह–अस्तित्व र सम्मान उतिकै कायम थियो । नेपाल बहुधार्मिक भएर पनि सबै धर्मबीच बलियो एकता थियो । अहिले देशको पहिचानकोरुपमा हिन्दुत्वको कुरा गरिएको हो ।
धर्मको नाममा शासन गर्ने कुरा किमार्थ स्विकार गर्न सकिँदैन । मलेसियामा मलेसियन नागरिक हुन अनिवार्यरुपमा मुस्लिम हुनै पर्छ । यहाँ हिन्दुत्व हुनु भनेको अनिवार्य र बाध्यतामकरुपमा देशको सर्वश्रेष्ठ नागरिक हुनु होईन न कि एकल धर्म लाद्न खोजिएको हो यस्ता आरोपमा कुनै सत्यता छैन । धर्म, संस्कृति ईतिहास जोगाऔं यही नै नेपाली पहिचान र गौरव हो ।। अस्तू