सम्माननीय प्रधानमन्त्री ज्यू, मितिः २०८१/०१/१४
सादर नमस्कार,
विषयः मैले चाहेको शिक्षा
महोदय,
हजुरको कुशलताको कामना गर्दछु । मैले अहिलेसम्म अध्ययन गरेको अनुभव बटुल्दा मैले शिक्षण शैली तथा शिक्षा व्यवस्थापनमा रहेको धेरै समस्याको अनुभूति गरेको छु । त्यसैले आज म मैले चाहेको शिक्षा विषयमा यस चिठ्ठीद्वारा हजुरसम्म पुग्ने सोचले यो चिठ्ठी लेख्दैछु ।
शिक्षा अन्धकारको दुनियाँमा उज्यालो छर्ने, मानिसको जीवनलाई सार्थक बनाउने र जीवनलाई राम्रोसँग बुझी जीवन सजिलो साथ जिउन सक्ने बनाउने एक अमूल्य चिज हो । भनिन्छ नि “१ वर्षको सोच्छौ” भने बाली लगाउ, १० वर्षको सोच्छौ भने बिरुवा रोप र १०० बर्षको सोच्छौ भने शिक्षा लगानी गर ।” तर बिडमवनासाथ म यो भन्दै छु कि नेपालको शिक्षा शैली १ वर्षे सोचमा परेको छ ।
विद्यार्थीको दिमागमा बस् पढाई परीक्षाको लागि मात्र हो भन्ने छापिएको छ । यसको दोष म नेपालको शिक्षा शैलीलाई दिँदैछु । किनभने यहाँ टन्न किताब कापी मात्र बोक्यो विद्यालय गयो र त्यो विविध तरिकालाई दिमागमा उतार्न मुस्किल अवस्था रहेको देखिन्छ । विद्यार्थीलाई १० कक्षा पुगेपछि अब के पढ्छौं भन्दा १२ सजिलो विषय लिएर पास गर्छु र विदेश जान्छु । भविष्यको योजना नै विदेश जाने । विद्यार्थीलाई आफूले पढिरहेका ति अनगिन्ती ज्ञान भविष्यमा कहाँ प्रयोग गर्ने सम्म थाहा छैन । यसको समाधानको लागि पढिरहेको हरेक पाठमा यो खुलाइयोस् कि हामी यो किन पढ्दैछौं ।
आदरणीय महोदय, हजुरलाई थाहा नै होला की चाइनामा विद्यार्थीलाई सानै उमेरदेखि लिखित शिक्षामा भन्दा व्यवहारिक शिक्षामा जोड दिन सिकाइन्छ । हाम्रो देशमा स्नातक तहको शिक्षा सकेर बस्ने विद्यार्थीले बनाउने घडी, ड्रोन आदि चाइनाका साना विद्यार्थीले बनाउने गर्छन् । पढ्ने विद्यार्थीले जीवनमा ति पढेका कुरा सदुपयोग गर्न सकोस् । अहिले विद्यार्थीलाई विद्यालयमा ६ घण्टा र ट्युसन ६ घण्टा गरी १२ घण्टा पढेर पास गर्नुपरेको देखिन्छ । जति किताबमा दिइएको पाठ हुन्छ, त्यो सबै समेट्न विद्यार्थीले दिन रात एक गरेर पढ्छ तर त्यो एक वर्षलाई मात्र सीमित रहन्छ ।
म यो चाहन्छु की शिक्षा हासिल गरेर मानिस बेरोजगार बस्नु नपरोस् । अहिले लाखौं विद्यार्थी बेरोजगार छन्, किन त ? किनकी शिक्षा देशको माग अनुसार दिइरहेको छैन । देशको नाजुक स्तरलाई माथि उठाएर प्रगति गर्ने शिक्षा यहाँ दिइँदैन । मलाईं लाग्छ कि अहिले नेपालले दिइरहेको शिक्षाले मानिसलाई साक्षर बनाउन हैन, साक्षरता दर बढाएको मात्र दिइरहेको छ । कुनै पनि विद्यार्थी आफूले विषय चुन्ने समय यो तय गर्छ कि यो विषय पढेर विदेशमा काम पाइन्छ कि पाइँदैन ? के नेपाल विदेशलाई जनशक्ति प्रदान गर्ने मात्र गर्छ ? शिक्षा अन्धकारमा रहेको मानिसलाई उज्यालोमा ल्याउने काम गर्छ भनिन्छ तर नेपालको पढाइ उज्यालोबाट अन्धकारमा पो पठाइन्छ किन झैं मलाई लाग्छ ।
एउटा विद्यार्थी रात दिन एउटै कोठामा बसेर पढिरहन्छ र बल्ल–बल्ल त्यो कक्षा पास गरेर ठूलो कक्षा पुग्छ तर उसको त्यो साल भरीको पढाई त्यही परीक्षासम्म सीमित रहन्छ । यति गरेर पढेपछि त्यति धेरै खर्च गरेपछि पनि जागिर खान मुस्किल । यसको समाधान भने शिक्षा शैलीलाई लिखितमा मात्र सीमित नबनाएर व्यवहारमा उतार्न र त्यो शिक्षाले जीविकोपार्जन गर्न सकिने बनाउनुपर्छ । म यो पत्र मार्फत शिक्षा शैलीमा केही बदलाव ल्याई देशको मुहार बदल्न सक्नुहुने आदरणीय प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न चाहन्छु ।
पवित्रा तिमल्सिना
कक्षा–११, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, हेटौँडा–४