नागरिक अधिकारका लागि निरन्तर आवाज उठाउने पत्रकारहरु आफ्नो बारेमा बोल्न सकिरहेका हुँदैनन् । राज्य र नागरिकबीच पुलको काम गर्ने उद्देश्यबाट स्थापना भएको नेपाल पत्रकार महासंंघले पनि आफूलाई औपचारिकतामा मात्र सिमित राख्ने गरेको छ । २०११ सालमा चैत्र १६ गते स्थापना भएको पत्रकार संघ रुपान्तरण हुँदै महासंघ बनेको छ । जनताका आवाज बोक्न पत्रकारहरु नै छन् । महासंघले त पत्रकारहरुको हकहितका लागि काम गर्न आवश्यक छ । लामो इतिहास बनाएको यो संस्था नेतृत्वको हानाथाप गर्न अग्रसर हुने तर व्यावसायिक हितका लागि योजना र कार्यक्रमसहित अगाडि बढ्न सकिरहेको छैन । आफ्नो स्थापना दिनलाई समेत महासंघले रचनात्मक बनाउन सकेको पाइँदैन ।

अन्य संस्थाका विषयमा टिकाटिप्पणी गर्ने पत्रकारहरु प्रत्येक वर्ष चोकमा पुगेर प्रभातफेरीमार्फत् महासंघको स्थापना दिवस बनाउने गर्दछन् । दिवसलाई रचनात्मक बनाउनेतर्फ कुनै सदस्यहरुले सोचेको पाइँदैन । साताव्यापी नभए पनि वर्षको एक दिन नयाँ कार्यक्रम बनाउन किन सकिँदैन ? खुशीयाली वा दुःखदायी जुनसुकै अवस्थामा पनि पत्रकारहरुले गर्ने औपचारिक कार्यक्रममात्रै हुन् ? नयाँ र रचनात्मक वा दीनदुःखीहरुको सेवा वा अन्य सामाजिक अभियान पत्रकारहरुले चलाउनै नहुने विषय त पक्कै हैनन् होला ? महासंघको अस्तित्वलाई अझै उझिल्याउने हो भने परम्परा धान्ने नभई श्रृजनात्मक बन्न सक्नुपर्दछ । प्रतिस्पर्धाको जमानामा महासंघको भूमिका आम नागरिकले महशुस गर्नसक्ने बनाउन आवश्यक छ ।

महासंघको संस्थापकका विषयमा अन्यौल भए पनि कृष्णप्रसाद भट्टराईले स्थापना गरेपछि निरन्तरता पाएको छ । भट्टराईभन्दा पहिला पनि पत्रकारहरु संगठित भएकाथिए । तर उनीहरुको अभियान बीचैमा सकिएको पाइन्छ । जनताका आवाज बोक्नका लागि मात्र महासंघ आवश्यक हैन । पत्रकारहरुको पेशागत हितका लागि क्रियाशील हुने र उनीहरुलाई व्यावसायिक बनाउने जिम्मेवारी महासंघको हो । तर पछिल्लो समय महासंघ पेशागतभन्दा पनि राजनीतिकरुपमा सक्रिय बनाइएको छ । महासंघको नेतृत्व चयनमा दलहरुको सक्रिय भूमिकाले महासंघ दलहरुको भातृ संस्थाका रुपमा विकास हुँदै गएको देखिन्छ । महासंघको जिम्मेवारी र कर्तव्यप्रति सचेत र सक्रिय भूमिका खेल्नु आवश्यक छ । महासंघको नेतृत्व चयनका लागि हुने हानाथाप संस्थागत विकास, व्यावसायिक हितअनुकूलका कार्यक्रम ल्याउन प्रतिस्पर्धामा रुपान्तरण गरिनु पर्दछ ।

महासंघले लामो इतिहास बनाएको भए पनि पत्रकारहरुका समस्या आज पनि उस्तै छन् । संस्थापकहरुले जुन परिस्थितिमा जे उद्देश्यबाट संघ खडा गरेका थिए, आज पनि मुद्धा उस्तै छन् । सूचना प्राप्तिमा नागरिकको पहुँच केही बढेको छ । तर उनीहरुको जीवनमा सूचनाले कस्तो प्रभाव पारिरहेको छ भन्ने अध्ययन हुन आवश्यक छ । अविच्छिन्नरुपमा नेतृत्व पाउँदै आएको संस्थाले आफ्ना सदस्यहरुका पक्षमा अझै धेरै काम गर्न बाँकी छ । वर्तमान कोभिडको अवस्थाले थला परेको सञ्चारकर्मीको दैनिकी चलायमान बनाउन महासंघको भूमिका महत्वपूर्ण छ । महासंघले आफ्नो भूमिका र कार्यक्रमलाई बिरालो बाँधेर श्राद्ध गर्ने परम्परा छोड्नुपर्दछ ।