हेटौँडा : नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज विजय गौतमले वर्तमान सरकारको नालायकीपनले अराजकता बढिरहेको बताउनुभएको छ । केपी ओली नेतृत्वको सरकारका कारण अराजकतालाई मलजल मिलेको इन्चार्ज गौतमले बताउनुभयो ।
मकवानपुरको बकैया गाउँपालिका–७, भिरकोटमा आयोजित माओवादी केन्द्रको वडा सम्मेलनलाई सम्बोधन गर्नुहुँदै इन्चार्ज गौतमले कुलमान घिसिङ जस्ता राष्ट्रसेवकको मानमर्दन गर्ने, आफ्नाहरुलाई विभिन्न मुद्दाबाट उन्मुक्ति दिने जस्ता काम वर्तमान सरकारले गरिरहेको दावी गर्नुभयो । नेता गौतमले सरकारले जनताप्रति जवाफदेही भएर काम गर्न नसक्दा समस्या देखिएको आरोप लगाउनुभयो । ‘विशेषतः काँग्रेस एमालेको सरकारले आफुले जे गरेपनि हुन्छ भन्ने गलत भावनाले काम गर्दा जनतामा वितृष्णा बढेको छ । यसको फाईदा कथित राजावादीहरुले लिन खोजे पनि यो उनीहरुको दिवास्वप्नमा सीमित हुन्छ । तर दलहरुले यस प्रकारको घटना, प्रवृत्तिलाई नजरअन्दाज नगरी सच्चिएर अगाडि बढ्ने अवसरको रुपमा ग्रहण गर्नुपर्दछ’, इन्चार्ज गौतमले भन्नभयो ।
माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले २५० वर्ष शासन चलाउँदा नबचाएको र नबनाएको देश फेरी ‘आऊ र बचाऊ’ भन्नु केवल हाँस्यास्पद केटाकेटी कुरा भएको जिकिर गर्नुभयो । नेता पुलामीले लोकतन्त्रले नै यो देश बच्ने र बन्ने दावी गर्नुभयो । सम्मेलनले मानबहादुर सिंग्तानको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी चयन गरेको छ ।