हेटौंडाः हेटौंडा–१४ का वडाध्यक्ष दीपक खड्कालाई गठन भइसकेको उपभोक्ता समिति फेरि गठन गर्न गठनबन्धन दलका कार्याकर्ताहरुसहित स्थानीयले दबाब दिएका छन् । खड्काले बुधबार पत्रकार सम्मेलन गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
संविधानमा उल्लेखित कानुनले कुनैै पनि जनप्रतिनिधिलाई सहजरुपमा काम गर्ने वातावरण सिर्जना गरिसकेको अवस्थामा आफूलाई गठबन्धनका राजनीतिक दलहरुले भ्रष्टाचार गरेको प्रमाण जुटाउन जबरजस्ती नयाँ उपभोक्ता समिति निर्माण गरेर हस्ताक्षर गर्न दबाब दिएको उहाँले बताउनुभयो । आफू कानुनविपरीत नजाने चेतावनी दिँदा ती दलका व्यक्तिहरुले वडा कार्यालय बन्द गर्ने उद्देश्यका साथ आएर घण्टौंसम्म आफ्नो विरुद्व नाराबाजी गरेको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । अहिले आफ्नो सुरक्षा नरहेको भन्दै खड्काले आफूमाथि केही भए पछि उनीहरु नै दोषी हुने दावी गर्नुभयो ।
बागमती प्रदेश सरकारले २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । विभिन्न शीर्षकमा पाइने ५/५ लाख रुपैयाँ बजेटकै लागि गठनबन्धन दलले आफूविरुद्व यस्तो कदम चालेको आरोप उहाँले लगाउनुभयो । वडाको विकास निर्माणको काममा वडा अध्यक्षको उपभोक्ता समिति बनाउने अधिकार रहेकाले आफूले उपभोक्ता समिति गठन गरेको वडाध्यक्ष खड्काको भनाइ छ ।