हेटौंडाः हेटौंडा भेट्रान्स फुटबल क्लबले आयोजना गरेको दशौं संस्करणको हेटौंडा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्स क्लबले जितेको छ । शनिबार हेटौंडा–४ स्थित हुप्रचौरमा भएको फुटबल प्रतियोगिताको फाइनलमा फ्रिडम फाइटर भेट्रान्स क्लबलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले हराउँदै किङकम भेट्रान्सले उपाधि जितेको हो ।
खेलको निर्धारित समय एक÷एक गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । फ्रिडम फाइटरबाट १४ मिनेटमा गोल गर्दै कृष्ण मालाकारले पहिलो अग्रता दिलाएका थिए । किङकमबाट २७ मिनेटमा जगतमान लामाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि खेल टाइब्रेकरमा पुगेको थियो । किङकमबाट सरोज थापा, जगतमान लामा र किशोर नेपालीले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । फ्रिडम फाइटरबाट कृष्ण मालाकार र तेन्जिङ लामाले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । तेज बलामीले प्रहार गरेको बललाई किङकमका गोलरक्षक अमित प्रधानले रोकिदिएका थिए । खेलको म्यान अफ द म्याच किङकमका गोलरक्षक अमित घोषित भएका छन् ।
प्रतियोगिताको उपाधि विजेता किङकम भेट्रान्सले नगद एक लाख ५० हजार ५ सय ५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता फ्रिडम फाइटर भेट्रान्सको टिमले ७५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको म्यान अफ द सिरिज घोषित भएका फ्रिडम फाइटरका तेन्जिङ लामाले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट प्रशिक्षक किङकमका राजकुमार पन्त, सर्वोत्कृष्ट फरवार्ड किङकमका सरोज थापा, उत्कृष्ट गोलरक्षक किङकमका अमित प्रधान, उत्कृष्ट डिफेन्स किङकमकमा सञ्जय राना मगर र उत्कृष्ट मिडफिल्डर फ्रिडम फाइटका उदयबहादुर गुरुङ (काका)ले जनही ५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
हेटौंडा भेट्रान्स क्लबका अध्यक्ष रमेश उप्रेतीको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको हो । पुरस्कार वितरण कार्यक्रममा वडाध्यक्षहरु, मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला, बागमती प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरी, जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामालगायतको आतिथ्य रहेको थियो । हेटौंडा उपमहानगरपालिकाको मुख्य प्रायोजन तथा हेटौंडा स्कूल अफ म्यानेमेन्टको सहप्रायोजनमा सञ्चालन भएको प्रतियोगितामा १५ वटा भेट्रान्स क्लबहरुको सहभागिता रहेको थियो ।