
हेटौंडाः कसमस एजुकेशनल ट्रेनिङ एण्ड रिसर्च सेन्टरले आयोजना गरेको हस्तलेखन प्रतियोगितामा कमाने एकेडेमीका छात्रा पुष्पा थापा द्वितीय हुनुभएको छ । शनिबार काठमाडौंमा आयोजना गरिएको प्रदेशस्तरीय नेपाली हस्तलेखन प्रतियोगिता–२०८१ मा हेटौंडा–८ को कमाने एकेडेमीकी कक्षा–६ मा अध्ययनरत् पुष्षा थापा द्वितीय हुनुभएको हो ।
थापाले १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । कक्षा–५, ६ र ७ मा अध्ययनरत् विद्यार्थीबीच भएको प्रतियोगितामा थापा द्वितीय हुन सफल हुनुभएको हो । यस्तै, हेटौंडा–२ स्थित बालजागृति इङ्गलिस बोर्डिङले वेस्ट ट्रफी अवार्ड प्राप्त गर्न सफल भएको छ ।
पहिलो चरणमा ६ सय ५० विद्यालयका एक लाख १५ हजार विद्यार्थीलाई हस्तलेखनमा निःशुल्क सहभागी गराइएको प्रशिक्षक कमल तिमल्सिनाले जानकारी दिनुभयो । दोस्रो चरणमा ४ सय ९३ विद्यालयका ६ हजार ९ सय ५० विद्यार्थीलाई छनौट गरिएको उहाँले बताउनुभयो । तीमध्ये उत्कृष्ट हस्तलेखन हुने एक सय ६५ विद्यार्थीलाई मेडल, ट्रफी र नगदसहित पुरस्कृत गरिएको उहाँले जानकारी दिनुभयो ।