शुभलक्ष्मी विश्वकर्मा

मकवानपुर जिल्लाको पूर्वी क्षेत्रमा रहेको बकैया गाउँपालिका भौगोलिक हिसाबले देशकै ठूला गाउँपालिकाहरुमध्ये एक हो । यस क्षेत्रको बकैया नदीको नामबाट नामाकरण गरिएको बकैया गाउँपालिकामा साविकका ५ वटा गाविसहरु (धियाँल, छतिवन, शिखरपुर, ठिंगन र मन्थली) समावेश छन् । पहाडी भु–भाग र अधिकांश विकट क्षेत्रले भरिएको यस गाउँपालिकामा अत्यन्त कठिन मानिएको विकास निर्माणका कार्यहरु सामान्य गतिमा अघि बढिरहेको पाइन्छ ।

स्थानीय तहको संरचनामा गएसँगै यहाँका सबै वडालाई गाउँपालिकासँग सडक सञ्जालले जोड्ने कार्य निकै चुनौतिपूर्ण देखिएको थियो । हाल यस गाउँपालिकाको सबै वडामा सडक सञ्जाल विस्तार भएको छ, भने गाउँपालिकाको सबै वडामा जनशक्ति सहितको स्वास्थ्य केन्द्रहरु छन् । बकैया गाउँपालिकाले भौतिक विकासका साथै सामाजिक विकासका कार्यहरुमा पनि जोड दिएको देखिन्छ ।

देशकै दोस्रो बालमैत्री गाउँपालिकाको रुपमा बकैया २०७७ माघमा बालमैत्री गाउँपालिका घोषणा भइसकेको छ । गाउँपालिकामा भाषा, साहित्य तथा संस्कृति प्रबद्र्धनका लागि गाउँपालिकास्तरीय प्रज्ञा प्रतिष्ठान गठन गर्ने नीति लिइएको छ । यसरी हेर्दा बकैया गाउँपालिकाको समग्र विकास त्यसरी समान गतिमा अघि बढेको देखिन्छ, जसरी बकैया नदी निरन्तर आफ्नै लयमा बगिरहन्छ । भौगोलिक अवस्थिति ४६० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यस गाउँपालिकामा १२ वटा वडाहरु छन् । घरधुरी सर्वेक्षण २०७६, अनुसार बकैया गाउँपालिकाको जनसंख्या ३९,८४९ जना र ८,१५८ घरधुरी संख्या रहेको छ । समुद्री सतहबाट २०० मिटरदेखि २१०० मिटरसम्मको उचाईमा रहेको यस गाउँपालिकामा प्रशस्त जैविक विविधता पाइन्छ । यस गाउँपालिकाको पुर्वमा बागमती गाउँपालिका, पश्चिममा हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिका, उत्तरमा भिमफेदी गाउँपालिका र ललितपुर जिल्ला तथा दक्षिणमा रौतहट र बारा जिल्ला पर्दछन् ।

सांस्कृतिक विशेषताहरु ७० प्रतिशत तामाङ जातिको बसोबास रहेको यस गाउँपालिकामा करिब ७३ प्रतिशत बौद्ध धर्मावलम्बीहरु रहेका छन् । यहाँको मुख्य पर्वहरुमा दशैं, तिहार, सोनाम ल्होछार, बुद्ध पूर्णिमा, रामनवमी, एकादशी हुन् । यहाँ बसोबास गर्ने माझी समुदायले लदी पर्व मनाउँदै आएका छन् । यस क्षेत्रमा संस्कृतिमा आधारित असारे गीत, तीज गीत, झ्याउरे भाका, दोहोरी गीत, देउसी प्रख्यात छ । एकादशी मेला, पर्व विशेष अवसरमा मनोरञ्जनका साथै सबै जातजाति, धर्म, सम्प्रदाय विशेष भेषभुषा र सबैले अआफ्नो रितीरिवाज छ ।

सामाजिक अवस्था १५ देखि ६० वर्ष उमेर समुहका करिब ५७ प्रतिशत साक्षर रहेका यस गाउँपालिकामा आधारभूत र मावि गरी ७५ वटा शैक्षिक संस्थाहरु छन् । बकैया नेपालमै दोस्रो बालमैत्री गाउँपालिका पनि घोषणा भइसकेको छ, भने स्वास्थ्यमा क्रमशः पहुँच बढाउन स्वास्थ्य केन्द्र र बर्थिङ सेन्टरहरु स्थापना भएका छन् । आर्थिक अवस्था बकैया गाउँपालिकाका कुल ८,१५८ घरमध्ये ७,०४७ घरको मुख्य आम्दानीको स्रोत कृषि तथा पशुपालन हो । दैनिक ज्यालादारी यहाँका नागरिकहरुको दोस्रो आम्दानीको स्रोत अन्तर्गत पर्दछ । जसमा २,१७० घर छन्, भने १,१९० घरले वैदेशिक रोजगारीलाई आफ्नो आम्दानीको स्रोत मानेका छन् । व्यापार, नोकरी, आन्तरिक विप्रेषण जस्ता आम्दानीका स्रोत यहाँका थोरै मानिसहरु मात्र संलग्न छन् ।

बकैया गाउँपालिकाले तयार पारेको पालिकाको भिलेज प्रोफाइलमा समावेश गरिएको तथ्यांक अनुसार यस गाउँपालिकामा ७,५७० परिवार अर्थात् ८०.५ प्रतिशत परिवारमा बसोबास गर्ने जनसंख्या अन्तर्राष्ट्रिय निरपेक्ष (अति गरिबी) को रेखामुनि रहेका छन् । विकासका सम्भावनाहरु राष्ट्रिय गौरबको आयोजना काठमाडौँ–तराई–मधेश द्रुतमार्गको करिब ३० किमि भाग यसै गाउँपालिकामा पर्दछ । हेटौंडा–चतरा–धरान (मदन भण्डारी) लोकमार्ग तथा हेटौंडा–काठमाडौँ कान्तिलोकमार्गले यस गाउँपालिकालाई छोएको छ । बागमती प्रदेशको राजधानी तथा औद्योगिक नगरी हेटौँडाबाट यस गाउँपालिका नजिकको दूरीमा रहेको छ । यहाँ उर्वर कृषि जमिन, नदी नाला, वनजंगल र जैविक विविधता जस्ता प्राकृतिक सम्पदाको यथेष्ट उपलब्धता देखिन्छ । बकैया गाउँपालिका वडा नं. ५ तीनतलेमा सिरिन्ज उद्योग स्थापना भएको छ । बकैयामा युरेनियम, चुनढुंगा खानी, ढुंगा, बालुवा तथा गिटी प्रचुर मात्रामा रहेको छ । जसको उचित उपयोग गर्न सकेमा आन्तरिक आम्दानीमा वृद्धि हुन गई समग्र गाउँपालिकाको विकासमा टेवा पुग्ने देखिन्छ । यहाँ शिक्षित मानवीय स्रोतमा वृद्धि हुँदै गएको पाइन्छ भने युवा जनसमुदायको बाहुल्यता देखिन्छ ।

मुख्य चुनौतीहरु गाउँपालिका क्षेत्रभित्र पर्याप्त मात्रामा रोजगारमुलक उद्योगधन्दा, कलकारखानाको विकास हुन सकेको छैन । भौगोलिक कठिनाई तथा स्रोतको अभावका कारण हालसम्म पनि यस गाउँपालिकाका कतिपय क्षेत्रमा खानेपानीको उचित व्यवस्थापन हुन सकेको देखिँदैन । यस गाउँपालिका क्षेत्रभित्र विस्तर भएका अधिकांश सडकहरु कच्ची छन्, जसका कारण बाह्रै महिना सवारी चल्न सक्ने अवस्था छैन । विशेषगरी वर्षायाममा यहाँका भित्री सडकहरु ठप्प रहन्छन् । यहाँ रहेका कृषियोग्य भूमिमा पनि व्यावसायिक खेतीको विकास हुन सकेको छैन भने यहाँका धेरै मानिसहरु परम्परागत कृषि प्रणालीमा नै निर्भर छन् । कृषिका लागि पर्याप्त मात्रामा सिंचाईको अभाव देखिन्छ । साथै, भएका सिंचाई आयोजनाहरुमध्ये पनि धेरैमा बाहै्र महिना सिंचाई हुनसक्ने अवस्था छैन । योजनाबद्ध बस्तीको विकास हुन नसक्नु यस गाउँपालिकाको चुनौतीका रुपमा रहेको छ, भने यसले विकास निर्माणमा पनि प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । (विश्वकर्मा झरना साहित्यिक परिवारकी सदस्य हुनुहुन्छ ।)