हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरले आयोजना गरेको दुईदिने बकैया–कला साहित्य महोत्सव–२०७८ मा सातबुँदे बकैया घोषणापत्र जारी गरेको छ । स्थापनाको २९औँ वार्षिकोत्सवको अवसर पारेर झरना साहित्यिक परिवार मकवानपुरले आयोजना गरेको महोत्सवको घोषणापत्र जारी गरी समापन गरिएको हो ।
बकैया गाउँपालिकाको आर्थिक व्यवस्थापन तथा बुद्ध मावि, बकैया–३ हात्तीसुँडेको सहकार्यमा सोही विद्यालयको प्राङ्गणमा महोत्सव आयोजना भएको हो । महोत्सवको पहिलो दिन विभिन्न १० व्यक्ति तथा संस्थालाई विविध विधाका पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । महोत्सवकै क्रममा झसाप उपाध्यक्ष विश्वनाथ सञ्जेलको ’फर्कियौ किनारबाट’ नामक गजल सङ्ग्रह समेत विमोचन भएको थियो । साथै महोत्सवमा पठन संस्कृति अभियन्ता सुरेश श्रेष्ठको अगुवाइमा ‘पुस्तकालय अभियान मकवानपुर’ द्वारा ‘हात्तीसुँडे सार्वजनिक पुस्तकालय’को स्थापनार्थ पुस्तकहरु सङ्कलन गरिएको थियो । कार्यक्रमको अर्को विशेष आकर्षण साहित्यिक तथा सामयिक बहसहरू समेत थिए । महोत्सवमा ’सिर्जनामा स्थानीय रङ’, ’विद्यालयः सिर्जनशील सिप विकासको केन्द्र’, ’स्थानीय तहमा प्रज्ञा प्रतिष्ठान अभ्यासः कति सहज कति असहज?’, ’ स्थानीय सरकार सञ्चालनका पाँच वर्षः कति सफल कति असफल?’ विषयक चारवटा छुट्टाछुट्टै बहसहरू समेत सञ्चालन भएका थिए ।
बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्य तथा उपाध्यक्ष सरला बोलखेको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. देवी नेपाल, मकवानपुरे अग्रज साहित्यकारहरु तुलसी थापा, आरसी रिजाल, निमेष निखिल, जिल्ला बाहिरबाट उपस्थित साहित्यकारहरुमा पर्साबाट गोपाल अस्क, अजमत अली अन्सारी, स्याङ्जाबाट मिलन समीर, सुनसरीबाट टीका आत्रेय, चितवनबाट सुरेन्द्र अस्तफल, सर्लाहीबाट सुमन घिमिरे अग्रिम र सञ्जय सुदामा, धादिङबाट यात्रीप्रकाश पाण्डे र हीरा अधिकारी, कालीकोटबाट ध्रुव सञ्ज्याल, रुपन्देहीबाट विष्णु विवश पोखरेल र सुशील सापकोटा, दर्जनौँको सङ्ख्यामा मकवानपुरे कवि तथा साहित्यकारहरु, मकवानपुरे साहित्यिक संघसंस्थाका प्रतिनिधिहरु, झरना साहित्यिक परिवार मकवानपुरका सल्लाहकारहरु, पुरस्कार संस्थापकहरु, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय सामाजिक अगुवाहरु, जिल्लाभरिका विभिन्न विद्यालयहरूबाट सयौंको संख्याका बालबालिकाहरू, सयौंको संख्यामा स्थानीय बासिन्दाहरु लगायतको दरिलो उपस्थितिले महोत्सवलाई झनै भव्य बनाएको थियो ।