देवराज तिवारी अध्यक्ष, गजल मञ्च मकवानपुर

बालसाहित्यको क्षेत्रमा नवसर्जक साहित्य चौतारी नेपाल मुलुककै परिचित संस्थाको रुपमा स्थापित भइसकेको छ । विद्यालय तहका बालबालिकालाई साहित्यमा सहभागी हुन प्रेरित गर्ने चौतारीले अग्रज साहित्यकारसँग उहाँहरुको बाल्यकाल र सुरुवाती साहित्य लेखनका विषयमा कुरानी गर्न सुरु गरेको छ । नवसर्जक साहित्य चौतारीका सदस्य उज्ज्वल बराल र पम्फा रुम्बाले गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारीसँग गरेको कुराकानीः

समाजः तपाईं कुन विधा विशेषमा कलम चलाउनु हुन्छ ?
तिवारीः म विशेषगरी कविता, गीत, गजल, मुक्तक, हाइकुलगायतका काव्य विधामा कलम चलाउने गर्छु । यतिबेला अलि बढी गजल लेख्दैछु ।

समाजः के कुराले तपाईंलाई साहित्यमा आकर्षित गर्‍यो ?
तिवारीः साहित्य एउटा आफैंमा यस्तो विधा हो, जसमार्फत् हाम्रा भावनाहरु व्यक्त गर्न सकिन्छ । समाजका दृष्यहरुलाई अगाडि बढाउनका लागि साहित्य एउटा उपयुक्त माध्यम लाग्यो र विगत लामो समयदेखि साहित्यमार्फत् म आफ्ना कुराहरु राख्दै आएको छु ।

समाजः साहित्यका विभिन्न विधाहरु छन्, तर तपाईंले आफ्ना भावना, विचार र दृष्टिकोण राख्न यहि विधालाई किन रोज्नुभयो ?
तिवारीः विधा यहि नै भन्ने हुँदैन । कसलाई कुन विधाले छुन्छ, कसलाई कुन विधाले आकर्षित गर्छ । गीत, कविताहरु अलि छोटा हुने र छोटोमा अलि मिलाएर समाजका कुराहरु टक्क राख्न सकिने हुन्छ । त्यसमा पनि गजल अर्को सशक्त विधा हो । मुक्तक पनि अर्को सशक्त विधा हो ।

समाजः प्रेमिल भावभन्दा माथि उठेर के कस्तो विषयवस्तु उठान गरी साहित्यमार्फत् व्यङ्ग्य गर्न सकिन्छ जस्तो लाग्छ ?
तिवारीः साहित्य एउटा प्रेमको पाटोमा लेखिन्छ र साहित्य अर्को देशप्रेम, सामाजिक विक्रृति विसङ्गतिको पाटोमा पनि लेखिन्छ । प्रेमलाई छोडेर पनि साहित्य अलग बस्न सक्दैन र समाजका विभिन्न विकृति विसङ्गति देखेर मौन पनि रहन सक्दैन । त्यसैले साहित्यले समाजका सबैखाले पाटालाई समेट्छ ।

समाजः तपाईंको पालामा साहित्यिक माहौल कस्तो थियो र अहिले कस्तो महसुस गर्नुहुन्छ ?
तिवारीः म मकवानपुर आएको १५ वर्ष भयो । १५ वर्ष अगाडिको अवस्था र अहिलेको अवस्थासम्म आइपुग्दा मकवानपुरे साहित्य एउटा लामो फड्को मारेर आइसकेको छ । विभिन्न विधागत साहित्य संस्थाहरु स्थापना भएर नेपाली साहित्यको विकासमा लागिपरेको अवस्था छ । पहिले लेखिसकेपछि कहाँ पस्कने, कहाँ छाप्ने, कसलाई भन्ने चिन्ता थियो भने अहिले इन्टरनेटमार्फत् पनि आफ्नो रचना संसारभर पु¥याउन सकिने अवस्था छ ।

माजः तपाईं साहित्य क्षेत्रमा लागेर के कस्तो उपलब्धी र के चिज गुमाएजस्तो महसुस गर्नुहुन्छ ?
तिवारीः साहित्यमा लागेर केहि प्राप्त गर्नु र केहि गुमाउनुको जवाफ आफैंमा छ । हामी विचारको प्रस्तुति पनि गर्न चाहन्छौं, मनको शान्ति पनि चाहन्छौं, सामाजिक समुन्नति पनि चाहन्छौं । त्यसकारण साहित्य लेख्दा साहित्यिक व्यक्तित्वसँग भेट हुन्छ । साहित्यप्रति आकर्षित हुने व्यक्तिसँग कुराकानी गर्दा आफ्नै खालको मनोविज्ञान तयार हुन्छ । साहित्यमा लागेर यहि नै गुमाएँ भन्ने मलाई छैन, किनकि रहरले आएको हुँ । मलाई साहित्यप्रति आकर्षण छ । म साहित्य लेख्न र पढ्न रुचाउँछु । यसमा पछुतो मान्ने केहि छैन ।

समाजः साहित्यमा जीवन समर्पण गरेर के जीविकोपार्जन गर्न सकिएला त ?
तिवारीः साहित्यमा लागेर त्यसैमार्फत् हामी जीविकोपार्जन गर्छौ भनेर सोच्नु अलि गाह्र्र्रो छ । किनभने साहित्य खोजीखोजी पढ्ने, किनेर पढ्ने मनोविज्ञान तयार नभएसम्म साहित्यले जीविकोपार्जन हुने अवस्था रहँदैन । यसको अर्थ कसैले पनि सक्दैन भन्ने होइन । उत्कृष्ट साहित्य लेखेमा खोजीखोजी पढ्नेको जमात भेटिन्छ ।

समाजः भनिन्छ साहित्य समाजको ऐना हो, यस भनाईलाई तपाइँ कसरी व्याख्या गर्नुहुन्छ ?
तिवारीः साहित्य समाजको ऐना हो, यसअर्थमा भनिन्छ कि साहित्यले समाजलाई यथार्थ कुरा देखाउँछ । समाजको यथार्थ घटना तथा परिघटनाहरुलाई देखाउँछ । तर, ऐना हो भन्नका लागि कतिसम्म यथार्थ देखाउने, कतिसम्म छोपिएका कुराहरु देखाउने ? सत्य कुरा ल्याउन प्रयत्न गरियो भने त्यो यथार्थ हो । प्रयत्न गरिएन वा ढाकछोप गरियो भने त्यो ऐना पनि होइन ।