पुस्तक समीक्षा
‘जीवनको पाठशाला’ राधा कोइरालाको पहिलो प्रकाशित कविता सङ्ग्रह हो । चितवन साहित्य परिषद् नारायणगढ चितवनले प्रकाशनमा ल्याएको यस कृतिको मूल्य नेपाली रुपैयाँ १७५ रहेको छ भने विदेशीमूल्य अमेरिकन डलर ५ रहेको छ । पहिलो संस्करणको रुपमा वि.सं. २०७७ मा बजारमा आएको यस कृतिभित्र गद्य र पद्य दुई विधाका गरी ४७ वटा कविताहरु समेटिएका छन् ।
शिक्षण पेशामा आवद्ध कवि राधा कोइराला जीवनको पाठशाला कवितात्मक कृतिबाट साहित्यको क्षेत्रमा आफ्नो एउटा उचाइ बनाउन पक्कै सफल हुनुभएको छ । कृतिमा प्रस्तुत भएका विषयवस्तुका हिसाबले उहाँ नारीवादी लेखक हुनुहुन्छ भन्नेमा कुनै शंकै छैन । लेखन शैलीका आधारमा प्रगतिवादी लेखकका रुपमा सहजै आफूलाई उभ्याउन सफल हुनु भएकै छ । अन्य विशेषतालाई केलाउने हो भने कवि कोइराला भित्र वैयक्तिक भावहरु स्वतन्त्र प्रस्फुटन भइरहँदा संवेगात्मकता, भावात्मकता, विद्रोही चेत, आक्रोश अनि संवेदनाका साथै उज्यालो आभाको खोज समेत भेट्टाउन सकिन्छ ।
विशेषतः यस कृतिभित्र नारी अस्मिता र मूल्यको खोजी गरिएको छ । अभिभावकको स्थान, अभिभावकीय जिम्मेवारी अनि अभिभावकविहिन भएर बाँचेकाहरुको कारुणिक अवस्थालाई देखाएर अभिभावकको महत्व र आवश्यकतालाई प्रस्ट्याइएको छ । देश चलाउने अनि देश चलाएजस्तै गर्ने एक खालको शोषित मानसिकताले जकडिएकाहरु प्रति व्यङ्ग्य गरिएको छ । छोरीलाई परिवारको सदस्यको रुपमा स्वीकार्न नसकेको अनि आँखामा बादल लागिसक्दा समेत श्रीमतीको गर्भमा छोराको भ्रुण खोजिरहेको दरिद्र मानसिकता भएका पुरुष वर्गप्रति लक्षित व्यङ्ग्य पाइन्छ । देवताभित्र हराउँदै गएको देवत्वको चर्चा गरिएको छ । मानिसको दोहन सहेर बाँच्न विवश प्रकृतिको पीडा व्यक्त गरिएको छ । जीजीविषाका लागि गुँड छाडेर उड्न बाध्य भएको एक वैशालु प्रेमीको मनोदशालाई व्यक्त गरिएको छ । बन्दीगृहमा कैदी झैं भएर शिक्षा लिन बाध्य भइरहेका कलिला मस्तिष्कमाथि परेको असर र नेपालको शैक्षिक पद्दतिलाई लिएर चिन्ता व्यक्त गरिएको छ । समाजले निम्त्याएको वर्ग विभेद, लिङ्ग विभेद जातीय विभेदले सम्बन्धित पक्षमाथि परेको गहिरो असरबारे आक्रोश व्यक्त गरिएको छ । जुनसुकै विपत्ति पनि सहन गर्न सक्ने नेपालीको सहनशीलताको उच्च तारिफ गरिएको छ । साथै साहित्यमा समाज बदल्न सक्ने शक्तिको प्रशंसा गरिएको छ । यसरी समग्रमा हेर्दा यस कृति वृहत् आयाममा फैलिएको छ । विषयवस्तुको फैलावट धेरै रहेको छ ।
बिम्ब र प्रतिकको उचित प्रयोग गरेर लेखिएको ‘जीवनको पाठशाला’ आफैंमा बिम्बात्मक शीर्षक रहेको छ । जिन्दगीको आरोह र अवरोह, सुखद् र दुखद् क्षण, उज्यालो र अँध्यारो पक्ष, भूत र वर्तमान, प्रकृति र कृत्रिम, अध्यात्म र कठोरता यावत् विषयहरुको ज्ञान जीवनको पाठशालामा रहेर प्राप्त गर्न सकिन्छ । जीवनको पाठशालाले यो पनि सिकाएको छ, हिजोको अन्धकार समयमा बाँचिरहँदा आँखामा भोलिका लागि सुन्दर सपना सजाउन सिकाएको छ । यक्षप्रश्नकी द्रौपदीको जस्तो अवस्था आइपरे एक्लै भएपनि युद्घ लड्न साहस दिएको छ । मौसम र ऋतुहरुस“गै परिवर्तन भइरहने प्राकृतिक अवस्थालाई जीवनसँग तुलना गर्न सिकाएको छ । धन, पैसा र इज्जतका खातिर अन्धो भएको मानवीय समाजलाई व्यु“झाएको छ । पूर्वको रेशमी किरणलाई कसैले छेकेर छेक्न नसक्ने हुँदा पूर्वको लालीमा हेरेर रमाउन हौसला दिएको छ ।
नयाँ बिहानीको आशा व्यक्त गरिएको छ । जीवनको पाठशालामा यति मात्र होइन आम मानिसले बाँचेभन्दा बिल्कुलै फरक जीवन बाँच्ने मानिसलाई पात्र बनाएर सबै माझ प्रस्तुत गरिएको छ । तिमी र म बीचको भिन्नतालाई फरक कोणबाट देखाइएको छ । म पात्र सबैको घृणाको पात्र बनेको, गगनचुम्बी भवनबाट फालिएका फोहोरको डङ्गुर माथि जीवन खोजिरहेको शब्दचित्र जीवनको पाठशालामा पढ्न पाइन्छ । जीवनको पाठशालामा बसेर भोलिको सुखद् भविष्यका लागि नङ्ग्रा खियाइरहेका श्रमजीवीका रगत र पसिना चुस्न पल्केका लामखुट्टेहरुबाट प्रताडित भएका भूइँ मानिसहरुको चित्कार कसैले नसुनेका गुनासाहरु सुन्न सकिन्छ । भ्यागुताको हालत लिएर देश हाँकिरहेका शासकहरुको अवस्था हेर्दा कुनै चटके भन्दाकम नरहेकोमा बडो हाँस्यास्पद लाग्दो देखिन्छ । गुँडको बचेरा छाडी चारो खोज्न विदेशीभूमि नै पुग्नु पर्ने बाध्यताका कारण बिछोडिन पुगेका जोडी चखेवाको प्रेमपत्र पढिरहँदा जीवनको पाठशालाभित्र कतै रोदन भेटिन्छन् त कतै पीडा अनि कतै आक्रोश भेटिन्छन् ।
निराशाले छपक्कै छोपिदिँदा पनि हिमशृङ्खलाको धैर्यता, सूर्य, चन्द्र, नदी पहाडको अटलता सधैं एउटै र उस्तै भएको ज्वलन्त उदाहरण प्रस्तुत गरेर निराशाभित्र पनि आशाको खोज गर्न जीवनको पाठशाला सक्षम भएको छ । यति धेरै सवल पक्षहरुले बाँधिएर पाठशाला निर्माण भएको छ । सबैलाई आफूभित्र समेट्न सफल भएको छ तर पनि कता–कता पाठशाला एउटै धारमा मात्र सीमित भएको त हैन ? भन्ने प्रश्नचाहिँ उठाउने ठाउँ यसले राखेको छ । फरक शीर्षक राखेर कविता रचना भए तापनि ती शीर्षकले ओगटेका विषयवस्तु कतिपय ठाउँमा एउटै हुन गएका छन् । लेखकभित्र प्रगतिवादी चेत हुँदाहुँदै पनि देवता पूज्नु अनि देवत्व माथि विश्वास गर्नु, आस्था राख्नुले प्रगतिवादी चेतको खिल्ली उडाएको होकि भन्ने भान गराएको छ ।