सञ्चारिका समूह मकवानपुरले महिला पत्रकारहरुबीच फुटसल प्रतियोगिता गर्ने निर्णय गरिएपश्चात सामुहिक तस्बिर ।

हेटौंडाः मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी (महिला) दिवसको अवसरमा मकवानपुरमा नारीलक्षित विभिन्न कार्यक्रम हुने भएको छ । यसवर्ष ११२ औं अन्तराष्ट्रिय नारी दिवस आगामी फागुन २४ गते मंगलबार परेको छ ।

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता गरिने भएको हो । सामाजिक प्रबद्र्धनका लागि लैंगिक समानता विषयक वक्तृत्वकला प्रतियोगिता नारी दिवसकै अवसरमा फागुन २४ गते हुने ईन्द्रसरोवर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागी हुन चाहनेहरुले महिला वडा कार्यालय तथा महिला सहकारी संस्थामार्फत् सम्पर्क गरी सहभागी हुनसक्ने उहाँले बताउनुभयो । गाउ“पालिकाभित्र स्थायी बसोबास गर्ने १८ वर्षमाथिका महिलाहरुमात्र प्रतियोगितामा सहभागी हुन पाउने लम्सालले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ७ हजार, ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार पाउने उहाँले बताउनुभयो ।

यसैगरी सञ्चारिका समूह मकवानपुरले पनि नारी दिवसकै अवसरमा महिला पत्रकारहरुबीच फुटसल प्रतियोगिता गर्ने निर्णय गरेको छ । महिला तथा बालबालिका, ज्येष्ठ नागरिक महाशाखा हेटौंडा उपमहानगरपालिकाले पनि नारी दिवस मनाउने भएको छ । जोखिम तथा निकृष्ट क्षेत्रमा काम गर्ने महिलाहरुलाई सम्मान गर्ने कार्यक्रम प्रस्ताव गरिएको तर निर्णय हुन बाँकी रहेको महाशाखा प्रमुख जगन्नाथ सापकोटाले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय नारी दिवस मजदुर आन्दोलनको उपज भएकाले जोखिम क्षेत्रमा कार्य गरिरहेका महिलालाई सम्मान गर्ने गरी कायृक्रम प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो ।

सन् १९०८ देखि नारी दिवसको बिजारोपण भएको हो । १५ हजारभन्दा बढी महिलाले काम गर्ने समय सिमित हुनुपर्ने भन्दै न्युयोर्क शहरमा सडकमा अन्दोलनमा उत्रिएका थिए । महिलाले काम गरेअुनसार पारिश्रमिक हुुुुनुपर्ने र उचित मताधिकारको प्रयोग महिलाले गर्नुपर्ने प्रस्ताव उक्त अन्दोलनमा राखिएको थियो ।

त्यसपश्चात् एक वर्षपछि अमेरिकाको सोसलिष्ट पार्टीले महिला दिवसको घोषणा गरेको थियो । सोही समयदेखि मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउने परम्परा सुरु भएको पाइन्छ । सन् १९१० मा कोपनहेगनमा क्लारा जेटकिनले महिला अन्तर्राष्ट्रिय कन्फरेन्सका क्रममा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने सुझाव दिएकी थिइन् । सो कन्फरेन्समा १७ देशका एक सय महिलाको उपस्थिति थियो । सबैले यो सुझावको समर्थन गरेका थिए । पहिलो वर्ष सन् १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विटजरल्याण्डमा महिला दिवस मनाइएको थियो ।

अन्तर्राष्ट्रिय महिला दिवसका लागि ८ मार्च नै किन रोजियो भन्ने विषयमा रोचक तथ्य रहेको छ । क्लाराले अन्तर्राष्ट्रिय महिला दिवस मनाउन कुनै मिति तोकेकी थिइनन् । सन् १९१७ मा आन्दोलनका क्रममा रुसमा महिलाहरुले ‘ब्रेड एण्ड पिस’ अर्थात् खाना र शान्तिको माग गरेका थिए । महिलाहरुको हड्तालले सम्राट निकोलसले पद नै छोड्नुपरेको थियो । त्यसपछि बनेको अन्तरिम सरकारले महिलालाई मतदानको अधिकार दियो । त्यतिबेला रुसमा जुलियन क्यालेन्डरको प्रयोग हुन्थ्यो । उनीहरुले आन्दोलन सुरु गरेको दिन फेबु्रअरी २३ थियो भने ग्रेगेरियन क्यालेन्डरअनुसार सो दिन मार्च ८ थियो । यसरी सोही दिनलाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाउन थालियो ।

तर, संयुक्त राष्ट्रसंघले १९७५ मा मात्र यस दिवसलाई आधिकारिक मान्यता दिएको थियो । त्यस वर्षदेखि अन्तर्राष्ट्रिय नारी दिवसलाई वार्षिक हिसाबले एक थीम दिएर मनाउन थालिएको थियो । पहिलो महिला दिवसको थीम ‘सेलिब्रेटिङ द पास्ट, प्लानिङ द फ्युचर’ रहेको थियो ।