१. मन्त्री फेरिए पछि कुनै न कुनै नयाँ नारा आउनु नौलो होईन । सरकार फेरिने बित्तिकै बाहिर आउने फरक नारा र गफबाट आम नागरिक अभ्यस्त बनिसकेका छन् । काम गरेर देखाउनमा नलागि बिगतकाले यो वा त्यो नगरेको र आफु र आफ्नो दल मात्र ठीक अरु सबै बेठीक भन्ने भ्रमको साबितिमा देखिने प्रतिस्पर्धा पनि हाम्रा लागि नयाँ भएन । राम्रैकामको शुरुआत रहेछ भने पनि त्यसलाई कुनै न कुनै बहानामा रोकेर अर्को नयाँको प्रस्ताव ल्याई चाकडी परम्पराको निरन्तरता यहाँको संस्कार नै बनेको छ । सन्दर्भलाई, शिक्षा मन्त्रालयले हालै जारी गरेको पढ्दै कमाउँदै कार्यविधिमा यो आलेख केन्द्रित गर्ने प्रयत्न गरिएको छ । यो आलोचना पनि होईन नत प्रशंशा नै हो । आलोचना र प्रशंशा त कार्यान्वयनमा आएपछि सहजै देखिने पाटो हो । यो त कार्यक्रमको सफलता सहितको शुभेच्छा हो । कार्यक्रम प्रायः स्वयम्मा बेठीक त बिरलै भेटिन्छन् । समस्या त कार्यान्वयनमा देखिने ईमान्दारितामा मात्र हो । शंका त यहाँ पनि अधिक छ । कार्यक्रमको सन्दर्भमा थोरै मात्र पनि चर्चा गर्न त कस्तो कार्यक्रम हो, कसरी संचालन हुँदैछ, उद्धेश्य के हो ,जस्ता न्यूनतम सूचना त हुनै पर्दछ ।
२. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रम कार्यविधि शिक्षा मन्त्रालयबाट मिति २०७८ पौष २७ गते स्विकृति भै बाहिर आएको छ । प्रस्तुत कार्यविधिमा परिच्छेद ६ वटा , नियमहरु ३२ वटा र अनुसूची २ वटा उल्लेख गरिएको छ । यो कार्यविधिको मुख्य विशेषता भनेकै सामुदायिक स्कूलमा अध्ययनरत विद्यार्थीहरु संग लक्षित कार्यक्रम हो । विशेषगरि बिपन्न तथा गरिब एवम् पिछडिएका विद्यार्थीहरु जो आर्थिक कारणले शिक्षाबाट बन्चित रहेकाहरुको शिक्षा आर्जन र आय स्थितिमा सुधारलाई प्राथमिकतामा राखिएको छ । शिक्षालाई सिप संग, सिपलाई श्रम संग, श्रमलाई उत्पादन संग र उत्पादनलाई बजारसंग जोड्ने मर्म बोकेको यो कार्यक्रमका ५ वटा उद्धेश्यहरु रहेका छन् । अनुसूची १ मा दिईएको नमुना बमोजिम विद्यालयले तोकिएको कागजात सहित प्रस्ताव पेश गरेपश्चात स्थानिय तह मार्फत आवश्यकताको आधारमा अनुदान उपलब्ध गराउने भनिएको छ । कार्यविधिको परिच्छेद ३ को नियम ९मा अनुदानका क्षेत्रहरु ८ वटा किटानी गरिएको छ । कृषि, ईञ्जिनियरिङ्ग, पर्यटन तथा हस्पिटालिटि, वन तथा वातावरण, निर्माण, अटोमोवाईल्स, ब्यवसायिक किटका क्षेत्रहरुमा लगानी गरिने यो कार्यक्रमले विद्यार्थीहरुलाई पढ्दै कमाउँदैमा ब्यस्त रहन प्रोत्साहन गरिने अपेक्षा गरिएको छ । कार्यक्रम हेर्दा रोजगारमुखी र उत्पादन संग जोडिएको देखिन्छ ।
३. प्रस्तुत कार्यक्रम कार्यविधिले सैद्धान्तिक पक्षमा कमजोरी नरहोस भनेर मेहनत पूर्वक अधिक सतर्कता साथ निर्देशक समिति, समन्वय समिति, कार्यान्वयन सहजिकरण समिति र सम्बद्ध निकायहरुको भूमिका मार्फत किटानी ब्यवस्था गरेको छ । शिक्षा मन्त्रिकै अध्यक्षतामा १३ जनाको निर्देशक समितिको ब्यवस्था र महानिर्देशकको अध्यक्षतामा ७ जनाको समन्वय समिति संगै इकाई प्रमुखको अध्यक्षतामा ५ जनाको कार्यान्वयन सहजिकरण समितिको ब्यवस्थालाई सकारात्मक भन्नै पर्दछ । सम्वद्ध निकायहरुमा सर्वप्रथम शिक्षा मन्त्रालय , मानव श्रोत तथा विकास केन्द्र, प्रदेश सरकार, शिक्षा विकास तथा समन्वय इकाई, स्थानिय तह र विद्यालयलाई तोकिएको छ । कार्यक्रम नराम्रो भन्न खोजिएको पटक्कै होईन । कार्यान्वनमा नगए सम्म समस्याको विश्लेषण बढि हचुवा हुन सक्छ । यो अलग कार्यक्रम भन्न मिलेन । यसलाई राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गत समावेश गरिएको छ । यसरि आउनु ठीक वा बेठीक भिन्न चर्चाको विषय हो । पढ्दै कमाउँदै भन्ने नाम नै ठीक छ वा सिक्दै कमाउँदै अझ राम्रो हुन्थ्यो कि ?
४. पढ्दै कमाउँदै कार्यक्रममा खासगरी यहि तहका विद्यार्थीहरु सहभागी हुनुपर्ने किटानी छैन । कार्यविधि पढदा माध्यमिक तहका विद्यार्थी संग यो बढि उपयुक्त हुने देखिन्छ । यद्यपि आधारभुत तहमा पनि कक्षा ६ देखि माथिका विद्यार्थीहरु सहभागी बन्न सक्नेछन् । विशेषगरी कक्षा ९ देखि १२ तथा उच्च शिक्षाका विद्यार्थीहरुलाई यो कार्यक्रममा जोड्दा राम्रो हुने देखिन्छ । आर्थिक विपन्नताकै कारणले पढाई बिचमै रोक्न वाध्य भएका विद्यार्थीहरुका लागि लक्षित भनिएको यो कार्यक्रममा कमाउने तर्फ लाग्दा पढाईको स्तर फितलो बन्ने अर्को पाटोको कतै उठान गरिएको छैन । कि त यो प्रकारको शिक्षालाई अनौपचारिक शिक्षा संग जोडेर जाने स्पष्टता भएको भए विद्यालयको नियमितताबाट सम्वन्धित विद्यार्थीहरु तनावमुक्त हुनेथिए । नियमित विद्यालय कलेज जाने र पेशा ब्यवसाय पनि संगै गर्ने कुराले विद्यार्थीहरुले एकैसाथ दुई जिम्मेवारी पूरा गर्न कठिन हुन्छ नै । एकै पटक दुई डुङ्गामा खुट्टा टेकेर नदी पार नहुने तथ्य यहाँ पनि स्मरणिय छ ।
५. ज्ञान र सिप संगै आर्जन हुनुलाई नै शिक्षाको पूर्णता मानिन्छ । यी दुईमा कुनै एकको अनुपस्थितिले शिक्षाको अर्थ राख्दैन । तसर्थ सिद्धान्त र ब्यवहार संगै पालना गरिएको हुनुपर्दछ । सैद्धान्तिक परीक्षा कापीमा लेखेको आधारमा र ब्यवहारिक परीक्षा तोकिएको विषय वा क्षेत्रको सिप प्रदर्शनीबाट विद्यार्थीले हासिल गरेको उपलब्धिका आधारमा मूल्याङ्कन गर्ने गरि विद्यार्थी मूल्याङ्कनको पक्षलाई कार्यविधिले समेटेको भए थप सुन्दर बन्न सक्थ्यो कि ? कृषि अन्तर्गतका गाई, भैंसी ,बाख्रा लगायतका पशुपालन र कुखुरा हाँस लगायतका पंक्षीपालन तथा माछापालन अनि फलफूल तरकारी खेती सहितका नगदेवालीमा सहभागी हुन आवश्यक जमिन, गोठ तथा जरुरी आधार वा ठाउँको लागि यो लगानि हुने वा नहुने भन्नेमा मौन देखिन्छ । त्यस्तै ईन्जिनियरि¨ अन्तर्गत पनि आवश्यक उपकरण तथा औजार एवम् मेशिनहरु ख्रिद तथा ब्यवस्थापनका लागि ठूलै रकमको जरुरी पर्दछ । यो लगानिका सम्वन्धमा कार्यविधि बोलेको छैन । वन, पर्यटन, वातावरण, हस्पिटालिटि समेतका क्षेत्रहरु सबैमा धेरथोर लगानि जरुरी पर्दछ । यस बारेमा पनि अधिकतम लगानिको रकम तोकिनु पर्दछ ।
६. पढदै कमाउँदै कार्यक्रमका लागि ब्यक्तिगत भन्दा सामुहिक रुपमा प्रोत्साहन गर्दा थप उपयूक्त हुने देखिन्छ । विषयगत तथा क्षेत्रगत स्तरमा समान सिपसंग जोडिएका विद्यार्थीहरुको समूह बनाएर आय आर्जनको लागि श्रममा जोड्ने जस्को सिधा सम्वन्ध उत्पादन र सो को बजारीकरणसंग रहेको हुन्छ । यस्को लागि विषय विज्ञहरुको सहजिकरण अर्को महत्वपूर्ण पक्ष हो । स्कूल कलेजका नियमित शिक्षकहरुलाई यता ब्यस्त बनाउन हुँदैन । विषय विज्ञहरुको ब्यवस्थापनका लागि रिटार्यड शिक्षक ,प्राध्यापक, कर्मचारीबाट सहयोग लिंदा बढि उपयुक्त देखिन्छ । यसोगर्दा कम लगानि पर्न आउँछ । कार्यविधि आफैंमा पूर्ण त हुनै सक्दैन । धेरैकुराहरु अनुत्तरित छन् । यदि केहि गरेरै देखाउन खोजिएको हो भने अझ कार्यविधि भित्र खोस्रेर गहिराईमा जानुपर्ने हुन्छ । यदि कार्यविधि कार्यान्वयनका लागि नभै औपचारिकता मात्र हो भने यी सबै कुराको कुनै तुक छैन । कार्यक्रम नाममात्रको नहोस र यसले कम्तिमा पनि राम्रो मेसेज प्रवाह गरोस भन्ने अपेक्षा सहित कम्तिमा विषय उठानको प्रयत्न गर्दै सरोकारवालाको ध्यानाकर्षण गरिएको छ ।