हेटौँडा : मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा १५ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । आइतबार बिहान हेटौंडा–४, हुप्रचौरमा प्रतियोगिताको सुरु भएको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
आइतबारबाट सुरु भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मंगलबारसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा मकवानपुरको ९ वटा पालिकाबाट विभिन्न विधाका करिब ६ सय जना खेलाडीहरुको सहभागिता रहेको छ । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत भलिबल, एथ्लेटिक्स, उसु, कराँते, तेक्वान्दो कबड्डी लगायतका खेलहरु सञ्चालन हुनेछ । इन्द्रसरोवर गाउँपालिका प्रतियोगितामा सहभागी भएको छैन । प्रतियोगिताको उद्घाटन तेक्वान्दोको काता प्रदर्शनी, मार्चपास र टिससहित गरिएको थियो ।
प्रतियोगिताको उद्घाटन गर्नुहुँदै सदस्य–सचिव लामाले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मेरुदण्ड रहेको बताउनुभएको छ । खेलकुदको क्षेत्रमा बागमती प्रदेशमा चितवन, काठमाडौं र मकवानपुरलाई उच्च रुपमा लिएको उहाँले बताउनुभयो । स्थानीय तहका खेलाडीहरुले राष्ट्रको प्रतिनिधित्व गर्दै गर्दा खेलकुदको माध्यमले भविष्य उज्जवल हुने उहाँले बताउनुभयो । राज्यले खेलकुदलाई प्राथमिकतामा नराखेका कारणले राज्यलाई दवाव दिने काम बागमती प्रदेशले गरिरहेको उहाँको भनाइ थियो । प्रदेश खेलकुद विकास परिषद्ले पालिकासँग सहकार्य गरेर विभिन्न पाइलट प्रोजेक्ट कार्यान्वयन गर्न लागेको सदस्य–सचिव लामाले जानकारी दिनुभएको छ ।
जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मुक्तानले राष्ट्रिय र राष्ट्रियतालाई चिनाउनका लागि खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीलाई अनुशासनको पालना गर्न आग्रह गर्नुभयो । एक अर्काबीच भातृत्व कायम गरेर, सिकेर र सिकाएर अगाडि बढ्नुपर्ने अध्यक्ष मुक्तानले बताउनुभयो ।
आइतबार पहिलो दिन भलिबल, एथ्लेटिक्स र कराँते, कबड्डीे खेलहरु सञ्चालन भएको छ भने मंगलबार उसु र तेक्वान्दो खेल हुनेछ । प्रतियोगितामा प्रत्येक पालिकाले आयोजना गरेको पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताबाट छनोट भएका विद्यार्थीको सहभागिता रहेको छ । जिल्लास्तरीय प्रतियोगिताबाट कराँते, उसु, तेक्वान्दोमा र एथ्लेटिक्सको प्रत्येक विधामा प्रथम हुने खेलाडीहरुले र भलिबल कबड्डी प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गर्ने खेलाडीहरुले प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । गत वर्ष भएको प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा मकवानपुरले एथ्लेटिक्सतर्फ तृतीय स्थान हासिल गर्न सफल भएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः स्वर्ण रजत र कांस्य पदकसहित प्रमाणपत्र प्रदान गरिने छ । गत वर्ष सम्पन्न भएको १४ औँ संस्करणको मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २० वटा स्वर्ण, ७ वटा रजत र १९ वटा कास्य पदक प्राप्त गर्दै हेटौंडा उपमहानगरपालिकाले उपाधि जितेको थियो भने मकवानपुरको बकैया गाउँपालिकाले १२ वटा स्वर्ण, १० रजत र ८ वटा कास्य पदक प्राप्त गर्दै द्वितीय भएको थियो । यस्तै, तृतीय हुने थाहा नगरपालिकाले ७ वटा स्वर्ण, ८ वटा रजत र १३ वटा कास्य पदक प्राप्त गरेको छ ।
जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मुक्तानको सभाध्यक्षमा भएको उद्घाटन कार्यक्रममा हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देल, हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरन बहादुर जोशी, नारायणी कलेजका प्राचार्य रघुनाथ खराल, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य अमृत लुङ्बाको पनि आतिथ्य रहेको थियो ।