जनजागृति माध्यमिक विद्यालयको तस्वीर ।

हेटौंडा : माध्यमिक शिक्षा परीक्षा (एसईई) नजिकिँदै जाँदा विद्यार्थी तथा विद्यालयले तयारीलाई तिब्र पारेका छन् । एसईई परीक्षाको तयारीका लागि हेटौंडा–१५ का जनजागृति माध्यमिक विद्यालय र चुरियामाई माध्यमिक विद्यालयले संयुक्तरुपमा एसईई क्याम्प सञ्चालन गरेका हुन् ।

आगामी चैत ७ गतेबाट सुरु हुने एसईईलाई मध्यनजर गर्दै गत माघ १३ गतेबाट क्याम्प सञ्चालन गरिएको छ । जनजागृति माध्यमिक विद्यालयमा सञ्चालित क्याम्पमा ५१ जना विद्यार्थी सहभागी छन् । जनजागृति माध्यमिक विद्यालयका २५ जना र चुरियामाई माध्यमिक विद्यालयका २६ जना विद्यार्थी क्याम्पमा सहभागी रहेको जनजागृति माध्यमिक विद्यालयकी शिक्षक माया पौडेलले जानकारी दिनुभयो ।

वडाअध्यक्ष, विद्यार्थी, अभिभावक र विद्यालयको लामो प्रयासपछि क्याम्प सञ्चालन गरिएको उहाँले बताउनुभयो । एसईईको तयारीमा रहनुभएका हेटौंडा–१४, नयाँबस्तीका सुजित थिङले एसईई क्याम्पबाट पढाइमा केही सुधार भएको बताउनुभयो । ‘घरमा बस्दा घरको कामसँगै मोबाइलमा ध्यान जाँदा पढाईमा कम ध्यान जान्थ्यो’, थिङले भन्नुभयो– ‘विद्यालयले एसईई क्याम्प सञ्चालन गरेर विद्यालयमै बस्ने वातावरण बनाएको छ ।’ गणित विषयको अनुपात र विज्ञान विषयको नजानेका विषयवस्तु सिक्न क्याम्पले सहयोग पुगेको उहाँले जानकारी दिनुभयो । एसईईमा करिब ७० प्रतिशत नतिजा हासिल गर्नेमा विश्वस्त रहेको उहाँको भनाइ छ ।

यसैगरी, एसईईकै तयारीमा रहनुभएका हेटौंडा–१५ का दीपशिखा पाख्रिनले क्याम्पमा बसेर एसईईको तयारी गरिरहेकाले पास हुनेमा विश्वस्त रहेको बताउनुभयो । घरमा जस्तो मोबाइलमा समय खेर नजाने भएकाले क्याम्पमा बस्दा पढाइमा सहयोग पुगको उहाँको धारणा छ । हेटौंडा–१५, कर्नेखोलाकी सञ्चिता गोलेले क्याम्पले गर्दा आफूलाई नआएका कुरा शिक्षक तथा साथीबाट सिक्न सकेको बताउनुभयो । एसईर्ईमा पास हुन्छु कि भन्ने आशा बढेको उहाँको भनाइ छ ।

क्याम्प व्यवस्थापनका लागि दुई जना कर्मचारी र पठनपाठनका लागि शिक्षकहरु खटेका छन् । बिहान ६ बजेबाट ११ बजेसम्म र बेलुका ४ः३० बजेबाट ७ बजेसम्म शिक्षकले पढाउनुहुन्छ भने अन्य समय विद्यार्थीको पढाइ, खाजा र खानाको लागि समय छुट्याइएको विद्यालयले जनाएको छ ।