
हेटौँडा : नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) हेटौंडा क्याम्पस इकाई समितिको सचिवमा सन्देश पटेल कुर्मी नियुक्त हुनुभएको छ । बिहीबार बसेको नेविसंघ हेटौंडा क्याम्पस इकाईको बैठकले पटेललाई सचिवको जिम्मेवारी दिएको हो ।
नेविसंघ हेटौंडा क्याम्पस इकाई अध्यक्ष युवराज विश्वकर्माले पटेललाई सचिवमा जिम्मेवारी दिएको जानकारी दिनुभएको छ । नेविसंघको विधान २०२७ को सातौं संशोधन २०७५ को व्यवस्थाअनुसार हेटौंडा क्याम्पस इकाई समितिको सचिव पदको जिम्मेवारी पटेललाई दिइएको बताइएको छ ।
पटेल हेटौंडा क्याम्पसमा स्नातक तह प्रथम वर्षमा व्यवस्थापन संकायमा अध्यनरत हुनुहुन्छ । कक्षा–११ बाट हेटौंडा क्याम्पसमा अध्ययन गर्नुभएको पटेलले नेविसंघको सदस्यको जिम्मेवारी निर्वाह गर्नुहुँदै आउनुभएको थियो । सचिवको जिम्मेवारी पाउनुभएका पटेलले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेद्वारी दिने योजना रहेको बताउनुभयो ।










