हेटौंडा : जिल्लास्तरीय शिक्षक फुटसल प्रतियोगिताको उपाधि भानु माविले जितेको छ । शनिबार भएको फाइनल खेलमा नवोदय शिशु सदनलाई ३–० गोलले पराजित गर्दै आयोजक भानु माविले उपाधि जितेको विद्यालयका शिक्षक अपेक्षा चौलागाईंले जानकारी दिनुभयो । प्रतियोगितामा सुमन थिङ, दुर्लभ दुललाले समान एक–एक गोल गरेका थिए भने एक आत्मघाति गोल भएको थियो ।
मकवानपुरगढी गाउँपालिकास्थित भानु माविको फुटसल मैदानमा शनिबार बिहान भएको सेमिफाइनल खेलमा कमाने एकेडेमीलाई हराउँदै नवोदय शिशु सदन र जेनिथ सेकेण्डरी बोर्डिङलाई हराउँदै भानु मावि फाइनल प्रवेश गरेको थियो । मकवानपुरगढी–३ स्थित भानु माविको आयोजना तथा थर्डआई एजुकेशन सेन्टरको प्रायोजनमा प्रतियोगिता भएको हो ।
प्रतियोगितामा मकवानपुर जिल्लाका १० वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि विजेता टिमले २० हजार र उपविजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नवोदयका डेविन श्रेष्ठ घोषित भए । यस्तै, उत्कृष्ट गोलरक्षक भानु माविका सौरभ मगर, डिफेन्स सुमन थिङ र गोलकर्तामा कमाने एकेडेमीका रमेश लुईंटेल घोषित हुनुभएको छ । उत्कृष्ट खेलाडीहरुलाई ट्रफी प्रदान गरिएको छ ।