हेटौंडाः कोरोना भाइरसको तेस्रो लहर फैलिएसँगै बागमती प्रदेश सरकारले संक्रमणका कारण उपचार आवश्यक रहेका नागरिकहरुका लागि अस्पतालमा पर्याप्त आइसीयु र एचडीयु बेड रहेको जनाएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेश मातहतमा रहेका अस्पतालहरुमा कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उक्त बेडहरु तयार राखिएको जनाएको हो ।

मन्त्रालयले प्रदेशभर ८० शैया (बेड) आइसीयु र ८७ शैया एचडीयु रहेको जानकारी दिएको छ । जसअन्तर्गत् प्रदेश राजधानी हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा १७ बेड आइसीयु र २० बेड एचडीयु रहेको छ भने काठमाडौं उपत्यकाभित्रको भक्तपुर अस्पतालमा ३० बेड आइसीयु र १६ बेड एचडीयु रहेको स्वास्थ्य मन्त्रालयका अस्पताल तथा चिकित्सा सेवा महाशाखाका डा. रविन भुषालले बताउनुभयो । यसैगरी धादिङ अस्पतालमा १५ बेड आइसीयु र १० बेड एचडीयु, त्रिशुली अस्पतालमा १५ बेड आइसीयु र ८ बेड एचडीयु रहेका छन् । सिन्धुली अस्पतालमा ३ बेड आइसीयु र २५ बेड एचडीयु, चरिकोट अस्पतालमा ६ बेड र रामेछाप अस्पतालमा २ बेड एचडीयु सञ्चालनमा रहेको जनाइएको छ ।

हाल कोरोना संक्रमण तिब्ररुपमा फैलिरहेको भएपनि आइसीयु र एचडीयुमा राखेर उपचार गर्नुपर्ने बिरामी धेरै नभएकाले तत्कालै आत्तिनपर्ने अवस्था नभएको डा. भुषालको भनाई छ । प्रदेश सरकारले थप ७५ बेड एचडीयु चालु आर्थिक वर्षमा सञ्चालनमा ल्याउने प्रक्रिया भइरहेकाले पनि बिरामीहरुले पर्याप्त उपचार सेवा पाउनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो । साथै संघीय सरकारबाट पनि बागमती प्रदेशभित्रका अस्पतालहरुमा थप २० बेड आइसीयु र ८ वटा भेन्टिलेटर चालु आर्थिक वर्षमा सञ्चालनमा ल्याउने प्रक्रिया भइरहेको उहाँले जानकारी दिनुभयो ।

कोरोना संक्रमण फैलिएकै कारण प्रदेश सरकारले करारमा नियुक्त गरेका स्वास्थ्यकर्मीहरुलाई ६ महिनाको समयावधी थपेर राखिएको जनाइएको छ । यद्यपि स्वास्थ्यकर्मीहरुमा नै कोरोना संक्रमण देखिएपछि अस्पतालहरुमा जनशक्तिको भने अभाव हुनसक्ने देखिएको पनि डा. भुषालले बताउनुभयो । अहिले पनि संक्रमित स्वास्थ्यकर्मी निको भएर नियमित कार्यमा नफर्किएसम्म अन्य स्वास्थ्यकर्मीहरुले समय मिलाएर काम गरिरहेको पनि उहाँले बताउनुभएको छ । उहाँको अनुसार प्रदेश सरकारअन्तर्गतका अस्पतालहरुमा ४० प्रतिशतमात्र स्थायी स्वास्थ्यकर्मी रहेका छन् भने बाँकी करारमा नियुक्त भएर कार्यरत छन् ।

बागमती प्रदेशको रसुवा अस्पतालबाहेकका १० अस्पतालहरुमा अक्सिजन प्लान्टसमेत जडान भई सञ्चालनमा रहेकाले अघिल्लो पटकको कोरोना संक्रमणमा जस्तो अक्सिजनको अभाव नहुने पनि डा. भुषालले दाबी गर्नुभएको छ । यस्तै कोरोना परीक्षणका लागि प्रदेशभर ११ वटा पीसीआर प्रयोगशाला (ल्याब) पनि सञ्चालनमा नै रहेको उहाँले जानकारी दिनुभयो । मन्त्रालयले प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको दायरामा ल्याउन नियमितरुपमा हरेक जिल्लाका स्थानीय तहहरुलाई नै खोप उपलब्ध गराई तोकिएको स्वास्थ्य केन्द्रबाट खोप लगाउने कार्यसमेत जारी रहेको जनाएको छ ।

प्रदेश सरकारले प्रदेशका सबै नागरिकलाई कोरोनाको खोप उपलब्ध गराउन चालु आर्थिक वर्षको बजेट कार्यक्रममा नै खोप खरिदका लागि २ अर्ब रुपैयाँ छुट्याएको अवस्था छ । तर खोप खरिदको अधिकार संघीय सरकारले मात्र लिएका कारण प्रदेश सरकारले खोप खरिद गर्न पाएको छैन । जसकारण उक्त बजेट रकम फ्रिज हुने सम्भावना पनि बढेको छ । खोप खरिदका लागि छुट्याइएको उक्त बजेटले खोप खरिद गर्न नपाए पनि मन्त्रिपरिषद्को बैठकले उक्त बजेटलाई अन्य योजनाहरुमा रकमान्तर गर्न सकिने बताइएको छ । यद्यपि उक्त विषयमा कुनै निर्णय भएको छैन ।