हेटौँडा : हेटौँडा–५ स्थित ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा एक साथ ३२ जना अभिभावकलाई सम्मान गरेको छ । विद्यालयलाई नियमित सल्लाह, सुझाव, सुधार्नुपर्ने विषयमा जानकारी गराउने अभिभावक शंकर कालाखेतीसहित ३२ जनालाई सम्मान गरिएको छ ।
शैक्षिक सुधारका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुने मनन् गर्दै विद्यालयले विभिन्न कोणबाट सकारात्मक भूमिका निर्वाह गर्ने अभिभावकलाई सम्मान गरेको विद्यालयका सञ्चालक श्यामकुमार बानियाँले जानकारी दिनुभयो । आफ्ना बालबालिकाको सरसफाईमा ध्यान दिने, मासिक शूल्क नियमित र निर्धारित समयभित्र भुक्तानी गर्ने, अग्रीम वार्षिक शूल्क बुझाउने, बालबालिकाको गृहकार्यमा सहयोग गर्ने, लामो विदाको समयमा बालबालिकालाई भ्रमण गराउने, अतिरिक्त क्रियाकलापमा बालबालिकालाई सहभागी हुन उप्रेरित गर्ने अभिभावकलाई सम्मान गरिएको सञ्चालक बानियाँले बताउनुभयो ।
विद्यालयको १३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिप्ती महतको सभाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका निमित्त प्रमुख हरिचन्द्र सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा गत वर्षको एसईई मा ३.९ जिपीए ल्याउन सफल सलिना धिताललाई नगद १० हजारसहित प्रशंसापत्र प्रदान गरिएको छ । शिक्षक प्रशान्त रेग्मी, बेनु शर्मा पराजुली, आशिष कार्की र श्यामकुमार बानियाँलाई सम्मान गरिएको छ ।
बिहीबार आयोजना गरिएको खाना महोत्सवमा उत्कृष्ट स्टल नेवारी स्टललाई प्रशंसापत्र प्रदान गरिएको विद्यालयका सञ्चालक श्यामकुमार बानियाँले जानकारी दिनुभयो । कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई सम्मान गरिएको छ । राष्ट्रपति रनिङ शिल्डमा भलिबलतर्फ प्रथम भएका छात्राहरुलाई सम्मान गरिएको हो । विद्यालयले हरेक वर्ष कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई निःशुल्क पढाउँदै आइरहेको छ ।
अभिभावक दिवसमा हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देल, ५ नम्बर वडाध्यक्ष सुशील घिमिरे, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) मकवानपुरका अध्यक्ष विनोद सुवेदी, प्याव्सन हेटौँडा उपमहानगर समितिका अध्यक्ष रामकुमार श्रेष्ठ, शिक्षा विकास महाशाखाका अधिकृत रामेश विडारीको आतिथ्य रहेको थियो । १० कक्षासम्म पठनपाठन हुने ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयमा ४ सय २५ जना विद्यार्थी अध्ययनरत छन् ।











