हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले यातायात क्षेत्रका समस्याहरु हल गर्न सरकार प्रयत्नरत रहेको बताउनुभएको छ । उहाँले यातायात व्यवसायीको विगतदेखि कै समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध भएर काम गरिरहेको बताउनुभयो ।
नारायणी यातायात व्यवसायी संघ हेटौंडाको ३६ औं वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री लामाले यातायात व्यवसायीलाई समस्या बनाइरहेका ऐन, कानूनहरु परिमार्जन गर्न प्रदेश सरकारले छलफल प्रारम्भ गरेको बताउनुभयो । सरोकारवालाको सुझावसहित यातायातसँग सम्बन्धित ऐन, कानून संशोधन गर्न सरकारले तयारी गरिरहेको उहाँको भनाई छ । मुख्यमन्त्री लामाले बीमालाई व्यवस्थित गर्न सम्बन्धित पक्षहरुसँग छलफल अघि बढाएको बताउनुभयो । दुर्घटनामा परेका व्यक्तिहरुको औषधि उपचारमा सघाउ पु¥याउन कोष स्थापना गर्ने प्रदेश सरकारले तयारी गरेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले प्रदेश सरकारको महत्वपूर्ण राजश्वको स्रोत यातायात क्षेत्र रहेको बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारले गत आर्थिक वर्षमा यातायात क्षेत्रबाट १३ अर्ब रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ । प्रदेश सरकारले यातायात क्षेत्रलाई राजश्वको वृद्धिले मात्र नहेरेको उहाँले दावी गर्नुभयो । सरकारले यातायात व्यवसायीसँगै सो क्षेत्रमा संलग्न कामदारहरुको विषयमा पनि योजनावद्ध रुपमा काम गरिरहेको उहाँले बताउनुभयो । यातायात क्षेत्रलाई व्यवस्थित ढंगले सञ्चालन गर्न मन्त्रालयले गृहकार्य गरिरहेको उहाँको भनाई छ ।
संघले हेटौंडामा मुख्यालय रहेको मानवसेवा आश्रमलाई नगद ५१ हजार रुपैयाँ सहयोग गरेको छ भने लामो समयदेखि दुर्घटना नगराउने ५ जना चालक क्रमशः हेटौंडाका अर्जुन भुर्तेल, ध्रुवलाल श्रेष्ठ, काठमाडौंका सुरेश श्रेष्ठ, चितवनका भोला थापा र रौतहटका रामपुकार रायलाई जनही नगद १० हजार रुपैयाँसहित सम्मान गरेको छ ।