हेटौंडाः जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरले हेटौंडाका विभिन्न सामाजिक संस्थाहरुमा न्यानो कपडा वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा हेटौंडामा रहेको मानवसेवा आश्रम, मामाघर नेपाल, ओम बृद्धाश्रम र अपाङ्गता पुनस्र्थापना केन्द्रमा न्यानो कपडा प्रदान गरिएको हो ।
समितिले हेटौंडा–९ स्थित मानवसेवा आश्रममा आश्रित सहयोगापेक्षी मानवहरुका लागि एक सय ५० थान ब्ल्याङ्केट प्रदान गरेको छ । हेटौंडा–१४ स्थित अपाङ्गता पुनस्र्थापना केन्द्रमा अपाङ्गता भएका बालबालिकासहितका व्यक्तिहरुका लागि ३५ थान ब्ल्याङ्केट प्रदान गरिएको छ । यस्तै, हेटौंडा–२ स्थित ओम बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुका लागि ३० थान ब्ल्याङ्केट सहयोग प्रदान गरिएको छ भने हेटौंडा–११ स्थित मामाघर नेपालमा आश्रित भाञ्जाहरुका लागि १० थान ज्याकेट प्रदान गरिएको छ ।
विभिन्न दाताहरुबाट सहयोगका रुपमा समितिलाई प्राप्त भएको न्यायो कपडाहरु जिल्लामा आवश्यकता रहेका व्यक्तिहरुलाई वितरण गर्ने कार्य रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । जिल्लामा चिसो बढ्दै जाँदा यसले धेरै मानिसहरु प्रभावित बन्दै गएकाले लक्षित वर्गका विपन्न व्यक्तिहरुको पहिचान गरी न्यानो कपडा वितरण गरिएको उहाँले बताउनुभयो ।
समितिको यस सहयोगले विभिन्न आश्रममा आश्रित व्यक्तिहरुलाई केही राहत महसुस हुने पाण्डेको भनाई छ । अहिले जाडोले यति धेरै प्रभावित नै हुने अवस्था नभइसकेको भएपनि जिल्लामा चिसो बढेसँगै हिउँ पर्ने लगायतका अवस्था रहेकाले यदि कसैलाई कुनै अप्ठ्यारो पर्न गएमा सम्बन्धित स्थानीय तहसँगको समन्वयमा आवश्यक उद्धार कार्यसहित सहयोगका लागि पनि विपद् व्यवस्थापन समिति तयारी अवस्थामा रहेको प्रजिअ पाण्डेले बताउनुभएको छ ।