हेटौंडाः चालु आर्थिक वर्ष (आव) २०७८/०७९ को साढे ५ महिनामा हेटौंडा उपमहानगरपालिकाले विभिन्न शीर्षकमा पौने १४ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । गत साउन १ गतेदेखि पुस १३ गतेसम्म १३ करोड ८६ लाख ५५ हजार ६ सय रुपैयाँ संकलन गरेको हो ।
हेटौंडा उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख श्यामकुमार श्रेष्ठका अनुसार सम्पत्ति करदेखि सार्वजनिक शौचालयसम्म गरी २७ वटा शीर्षकमा राजस्व संकलन भएका छन् । संकलित रकममध्ये सम्पत्ति कर शीर्षकमा नै सबैभन्दा धेरै राजस्व संकलन भएको छ भने साना सवारी करबापत सबैभन्दा कम राजस्व संकलन भएको उहाँले जानकारी दिनुभयो । सम्पत्ति करबापत मात्र कुल संकलित राजस्वको २५.३२ प्रतिशत अर्थात् ३ करोड ५१ लाख ७ हजार ७ सय ६९ रुपैयाँ संकलन भएको छ ।
यसैगरी अन्य ६ शीर्षकमा पनि चालु आवको साढे ५ महिनामा नै १ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएका छन् । जसमा सबैभन्दा धेरै कर घरबहाल करबापत १ करोड ६८ लाख २८ हजार ८ सय ८३ रुपैयाँ संकलन भएको छ । त्यसपछि वहाल विरौटी करबापत १ करोड ३८ लाख ९५ हजार ७ सय ७९ रुपैयाँ संकलन भएको उपमहानगरपालिकाले जनाएको छ । यस्तै नक्सापास दस्तुरबापत १ करोड २६ लाख ३४ हजार ५ सय ५२ रुपैयाँ संकलन हुँदा सिफारिस दस्तुरबापत १ करोड १३ लाख ६२ हजार ४ सय २६ रुपैयाँ राजस्व उपमहानगरपालिकाले संकलन गरेको छ ।
उपमहानगरपालिकालाई व्यवसाय भुक्तानीबापत १ करोड ७ लाख ४३ हजार ४० रुपैयाँ राजस्व प्राप्त भएको जनाइएको छ । पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबापत पनि १ करोड ६ लाख ४८ हजार ८ सय ३५ रुपैयाँ संकलन भएको छ । पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर हेटौंडा बसपार्कनजिकै बाइपास सडक प्रयोग गरेबापत सवारी साधनबाट उठाइने कर रहेको राजस्व शाखाका दीपेन्द्र ढकालले जानकारी दिनुभयो । उक्त संकलित १ करोड ६ लाख रुपैयाँ कर सबै बसपार्कबाट नै साढे ५ महिनामा संकलन भएको उहाँले बताउनुभयो ।
यसैगरी सिमेन्ट निकासी शुल्कबाट ७५ लाख १ हजार ३ सय १४ रुपैयाँ, अन्य सेवा शुल्कबाट ६१ लाख २८ हजार ४७ रुपैयाँ, ढुङ्गा, गिट्टी र बालुवा बिक्रीबाट ४२ लाख १४ हजार १ सय ५५ रुपैयाँ राजस्व संकलन भएको राजश्व शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । यस्तै प्रशासनिक दण्ड, जरिवाना र जफतबाट ३५ लाख २२ हजार ४ सय ६४ रुपैयाँ, कबाडी संकलन तथा बिक्रीबाट १४ लाख २० हजार ५ सय ६५ रुपैयाँ, सार्वजनिक शौचालयबाट १० लाख ४५ हजार ९ सय ३२ रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ ।
प्रशासनिक दण्ड, जरिवाना र जफतमा विभिन्न कामको ठेक्कापट्टा गरी पछि काम नगर्नेहरुको धरौटी जफत, खोलाबाट तथा विभिन्न क्रसरबाट बिना बिल नदीजन्य पदार्थ ओसार्ने सवारीको जरिवानासमेत रहेको ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार संकलित ३५ लाखमध्ये लगभग १४ लाख रुपैयाँ नदीजन्य पदार्थसम्बन्धी जरिवाना रहेको छ ।
बाँडफाँडबाट प्राप्त हुने विज्ञापन करबाट ९ लाख ७३ हजार रुपैयाँ, विद्युत् सेवा शुल्कबाट ८ लाख ३३ हजार ४ सय ९ रुपैयाँ तथा अन्य बिक्रीबाट प्राप्त रकम ७ लाख ४८ हजार १ सय ९८ रुपैयाँ राजस्व उपमहानगरपालिकालाई प्राप्त भएको छ । अन्य बिक्रीमा नक्साको किताब, टेन्डर डकुमेन्टहरु बिक्री गरेबापत प्राप्त राजस्व रहेको राजस्व शाखाका ढकालले बताउनुभयो । यससँगै व्यक्तिगत घटना दर्ता दस्तुरबाट ५ लाख ३५ हजार ४ सय ९० रुपैयाँ, सरकारी सम्पत्ति बहालबाट प्राप्त आयमार्फत् २ लाख ८२ हजार ५ सय रुपैयाँ राजस्व उपमहानगरपालिकालाई प्राप्त भएको छ ।
सरकारी सम्पत्ति बहालमा उपमहानगरपालिकासँग रहेको डोजर, रोलर तथा ग्रेडर भाडामा दिँदा संकलन हुने रकम रहेको पनि ढकालले जानकारी दिनुभयो । पछिल्लो आवहरुमा उक्त शीर्षकमा राजस्व संकलन धेरै हुने गरेको भएपनि यस वर्ष उक्त साधनहरु धेरै बिग्रने गरेको र भाडामा जान कम भएकाले राजस्व पनि कम उठेको उहाँले बताउनुभयो ।
यस्तै भूमिगत ढल सेवा शुल्कबाट ६२ हजार रुपैयाँ, शिक्षा क्षेत्रको आम्दानीबाट ६१ हजार रुपैयाँ, अन्य कर (मूल्य अभिवृद्धि कर) बाट ३६ हजार ८ सय २३ रुपैयाँ, भूमिकर/मालपोतबाट ११ हजार ८ सय रुपैयाँ, सार्वजनिक सेवा सुविधा उपयोग शुल्कबापत ७ हजार रुपैयाँ राजश्व आम्दानी भएको जनाइएको छ । अन्य निकायबाट प्राप्त लाभांशबाट १ हजार २ सय रुपैयाँ, न्यायिक दस्तुरबाट ७ सय ३० रुपैयाँ र साना सवारी करबापत ५ सय रुपैयाँ मात्र राजस्व संकलन हुँदा बेरुजुमार्फत् ४८ हजार १ सय ८९ रुपैयाँ राजस्व जम्मा भएको पनि राजश्व शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।