फाइल तस्बिरः हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय ।

हेटौंडाः बालअधिकार सुनिश्चिताका लागि बालक्लबहरु गठन गरिनु आवश्यक छ । बागमती प्रदेशको राजधानी हेटौंडामा गठन वडा तथा नगरस्तरीय बालक्लब लामो समयदेखि पुनर्गठन हुन सकेको छैन । हेटौंडा उपमहानगरपालिकाको अग्रसरतामा गठन गरिएका कतिपय बालक्लब समयमा पुनर्गठन नहुँदा निष्क्रिय बन्दै गएका छन् ।

निष्क्रिय भएका बालक्लबहरु पुनः सञ्चालनका निम्ति आगामी असार मसान्तसम्म बालक्लब पुनर्गठन गरिने बताइएको थियो । तर कोरोना संक्रमण दर कम भएपश्चात् माघ महिनाभित्र वडा तथा नगरस्तरीय बालक्लब पुनर्गठन गरिने हेटौंडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख जगन्नाथ सापकोटाले बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडामा माघ महिनाभित्र वडास्तरीय बालक्लब गठनलाई तिव्रता दिइने भएको छ । गठन गरिएका वडाहरुमा भने क्षमता विकाससम्बन्धी अनुशिक्षण कार्यक्रम गरिने सापकोटाले बताउनुभयो । यसैगरी फागुन महिनाभित्र नगरस्तरीय बालअधिकार समिति प्रत्येक वडाबाट गठन गरिने उहाँले दावी गर्नुभयो । स्थानीय तहअन्तर्गत् २० लाख रुपैयाँ बजेट बालक्लब गठन तथा विभिन्न सचेतना कार्यक्रमका लागि छुट्याइएको सापकोटाले जानकारी दिनुभयो । गठन गरिएका बालक्लबहरुले बालअधिकार सुनिश्चिताका लागि सहयोग पुग्ने सापकोटाको भनाई छ ।

आफ्ना हक अधिकार स्थापित गरी बालबालिकासँग जोडिएका सामाजिक तथा आर्थिक पहुँच अभिवृद्धि गर्न सहयोग हुने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सापकोटाले बताउनुभयो । बालक्लबमार्फत बालबालिकाले आफ्नो अधिकारका बारेमा जानकारी पाउनुका साथै संविधान एवम् कानुनमा भएका बालबालिकासम्बन्धी व्यवस्थाबारे प्रष्ट हुने उहाँले जानकारी दिनुभयो ।

यस्तै, उपमहानगरले बालबालिकाका संरक्षणका लागि सञ्चालित बालगृहहरुको अनुगमनको तयारी गरिएको छ । माघ महिनामा हुने उपमहानगरको बैठकले अनुगमनको मिति तय गरिने सापकोटाले बताउनुभयो । नियमविपरित सञ्चालन भएका बालगृहहरुलाई कारबाही गरिनुका साथै थप सेवा सुविधाका लागि सुझाव दिइने जनाइएको छ ।