हालै प्रकाशित पुस्तक बुद्धिपुराणका लेखक हाँस्यव्यङ्यकार राजकुमार लामिछाने हुन् । २०७८ को मंसिरमा पहिलो संस्करणको रुपमा सिस्नुपानी नेपालले प्रकाशनमा ल्याएको यस कृतिको मूल्य व्यक्तिगत रु २०० र संस्थागत रु ५०० निर्धारण गरिएको छ । क्ष्क्द्यल् अंक ९७८ ९९३७ ० ९७९१ ८ प्राप्त गरेको यस पुस्तक नेपाली हाँस्यव्यङ्यका बादशाह श्री भैरव अर्यालप्रति समर्पित गरिएको छ ।
आमा वेदमाया र बुबा खिलप्रसाद लामिछानेका सुयोग्य सन्तान राजकुमार लामिछाने वि.सं. २०२३ को असोज २० गते सिन्धुपाल्चोक जिल्लामा जन्मिएका हुन् । हाल हेटौंडा नगरीको ४ नं. वडामा बसोबास गर्दै आउनु भएका लामिछानेले पहिलो पुस्तकाकार हाँस्यव्यङ्ग्यात्मक कृति पुत्लाको पावर २०७४ प्रकाशनमा ल्याईसकेका छन् । उत्कृष्ट लेखनशैलीकै कारण २०७४ को भैरव स्मृति सम्मानबाट सम्मानित हुनुभएका लेखक लामिछानेले दोस्रो कृतिको रुपमा हाँस्यव्यङ्ग्यात्मक कृति बुद्धिपुराण बजारमा ल्याइसकेका छन् ।
निबन्धक्रमका हिसाबले बीसवटा निबन्धहरुको संरचनाले यस कृतिले पुस्तकको आकार प्राप्त गरेको छ । पहिलो निबन्ध प्रेमकुमारीलाई पत्र, मा गरीबीको राप र तापले पिल्सिएर वैंशालु प्रेमलाई फुलाउन नपाउँदै विदेसिन बाध्य भएको युवाको मनोदशालाई चित्रित गरिएको छ । शिलान्यासमा कुकुरको काम न फुर्सद भने झैं महत्वहिन विषय र वस्तुहरुमा मान्छेहरुले समय बर्बाद पारिरहेको प्रसङ्गलाई केलाईएको छ । चियाको चर्तिकलामा जहासुकै र जस्तो सुकै माहोलमा पनि चियाले आफ्नो आकार, प्रकार, स्वादमा आफूलाई पस्किन सक्छ भन्ने दृष्टान्तबाट आजका मानिसका दुईजिब्रे प्रवृत्तिलाई व्यङ्ग्य गरिएको छ ।
भगवानको भरमा सबैको आस्थाको केन्द्र एउटै हो भन्ने भावलाई व्यक्त गरिएको छ । को ठूलो ? जुन जोगी आएपनि कानै चिरेका भने झैं जनताको भावनालाई कदर गर्न सक्ने ठूलो सोच भएको व्यक्ति भेट्टाउन नसकेकोमा चिन्ता व्यक्त गरिएको छ । गफको गुजुल्टो मा गफाडी तन्त्रले गाँजेको नेपाली राजनैतिक परिवेशमाथि व्यङ्ग्य गरिएको छ । चिप्लेटी सहिदमा पैसामा किनबेच गरेर सहिदको बिल्ला भिर्ने र भिराउनेहरुप्रति व्यङ्ग्य गरिएको छ । कानको करामतमा विदेशी दलालको इशारामा रहेर राजनीति हाँक्ने नेपाली राजनीतिज्ञहरुको मनोवृत्तिको चर्चा यसमा रहेको छ । चाडवाडको चटारोमा कला र संस्कृतिभित्र फैलिएको विकृतिमाथि व्यङ्ग्य गरिएको छ । बुद्धिपुराणमा आधा आकाश ढाक्न पुग्ने बुद्धिजीवीको बाहुल्यता हुँदाहुँदै पनि बुद्धिकै अभावमा बिग्रदो राजनैतिक अवस्थालाई इङ्गित गरिएको छ । मेरा मित्रहरुमा विविध सोच र स्वभाव भएका मित्रहरुसँगको सामिप्यतालाई स्मरण गरिएको छ ।
होलसेल शास्त्रमा जुनसुकै शास्त्रका अगाडि आत्मबलशास्त्र नै विजयी हुनेछ भन्ने भावद्वारा ढोङ्गी प्रवृति भएका ज्योतिष भनौदाहरुप्रति लक्षित व्यङ्ग्य पाईन्छ । लामखुट्टे विकास मन्त्रीमा निमुखाहरुको रगत पसिना चुस्न पल्केकाहरुको हिन मानसिकताप्रति व्यङ्ग्य पाईन्छ । छामछुममा शासन सत्तामा पुगेकाहरुले राष्ट्रिय ढुकुटीमाथि वेपर्वाह दोहन गरेर राष्ट्रलाई खोक्रो बनाएकोमा आक्रोश व्यक्त गरिएको छ । लेदर क्यापमा नेपाली टोपीका आफ्नै विशेषताबारे बयान गरिएको छ । हिसाब दाह्रीको मा दाह्री पाल्दैमा आध्यात्मिक बन्न नसकिने विचार प्रस्तुत गरिएको छ । शक्तिजलमा रक्सिको करामत र यसले पार्ने शारीरिक, मनोवैज्ञानिक, सामाजिक, आर्थिक असरहरुबारे प्रस्ट्याइएको छ । पुरस्कारको पगरीमा पैसामा पुरस्कार किनेर पुरस्कृत हुनेहरुको कर्तुतलाई छर्लङ्ग पारिएको छ र जो सम्मानित हुनुपर्ने हो उसलाई उचित सम्मान गर्न नसकेकोमा खिन्नता प्रकट गरिएको छ । हाड नभएको जिब्रोमा बेतुकका कुरा गरेर जनतालाई झुक्याई रहेका बेकामे राजनीतिज्ञहरुप्रति व्यङ्ग्य । दरको रहरकला र संस्कृतिमा देखिएको विकृतिमाथि व्यङ्ग्य ।
हरेक क्षेत्रका पात्र र परिवेशलाई समेटेर बुद्धिपुराणको सिङ्गो संरचना निर्माण गरिएको छ । स्वाभिमान बेचेर उदेक लाग्दो जिन्दगी बाँच्न विवश विदेशिएको युवाको पीडा लेखिएको छ । उद्घाटन र शिलान्यासमा आफूलाई व्यस्त गराइरहनेहरुले ठूला ठूला राष्ट्रिय आयोजनाहरुलाई लथालिङ्ग पारेर भ्रष्ट्राचारमा लिप्त भएको वास्तविकतालाई उजागर गरेको छ । भगवान सबैको साझा हुन् भन्ने प्रसङ्गबाट सबैमा समभाव राख्नुपर्ने आदर्श विचार प्रस्तुत गरिएको छ । आफू नै सर्वेसर्वा हुँ भन्दै भकारी जत्रा गफ गर्नेले देशको स्थितिमा वेथिति ल्याएको प्रति व्यङ्ग्यवाण प्रहार गरिएको छ । कला ,धर्म, भाषा र संस्कृतिमाथि देखिएको विसङ्गति र विकृतिलाई लिएर चिन्ता व्यक्त गरिएको छ । नेपाली राजनीति र राजनैतिक व्यक्तिका कार्यव्यवहारप्रति रुष्ट भएका आमजनमानसको बोली बोलिएको छ ।
समग्रमा हेर्दा लामखुट्टेदेखि हात्तीसम्म, टुप्पीदेखि पैतालासम्म, नेतादेखि निमुखासम्म, जिरोदेखि हिरोसम्म, हाकिमदेखि पिउनसम्म लगायतका विविध पक्ष र पाटाहरुमा हुने गरेका समस्या र विकृत रुपहरुलाई यस पुस्तकले आफ्नो विषयवस्तु बनाएको छ । यसरी सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक, धार्मिक एवम् शैक्षिक पक्षलाई समेटेर त्यसमा देखिएका कमिकमजोरीहरुलाई हाँस्य व्यङ्ग्यको माध्यमद्वारा प्रस्तुत गर्नु यस कृतिको सवल पक्ष रहेको छ । जाति, लिङ्ग, धर्म, भाषा, पेशाका आधारमा कसैप्रति पनि उपहास नगरिनुले कृति अब्बल गुणले भरिएको छ साथै बिम्ब र प्रतिकको सही प्रयोगले कृतिलाई आस्वादनीय बनाएको छ । भाषगत रुपमा देखिएका केहि त्रुटीहरुले सम्पादकीय रुपमा कमजोरी हुनपुगेको देखिन्छ ।