हेटौंडाः हेटौंडा–१ स्थित मकवानपुर सहकारी अस्पतालले हेटौंडा–२ स्थित ओम वृद्धाश्रममा आश्रितलाई निशूल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्ने भएको छ । आश्रममा आश्रित व्यक्तिहरुको त्रैमासिक रुपमा आश्रममै पुगेर उपचार सेवा प्रदान गर्ने सम्झौता पनि भएको छ ।
आवश्यकताअनुसार अस्पतालमै उपचार गराउन आउँदा निशूल्क सेवा दिने, अस्पताल आउन नसकेको अवस्थामा आश्रममै पुगेर पनि उपचार सेवा प्रदान गर्ने सम्झौता भएको छ । सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जन र वृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ ।
यस्तै सहकारी अस्पतालले वार्षिक २५ हजार रुपैयाँ नगद सहयोग समेत गर्ने भएको छ । पहिलो किस्तावापत ६ महिनाको १२ हजार ५ सय रुपैयाँ शनिबार नै हस्तान्तरण गरिएको मकवानपुर सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिनुभयो । संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्नुका साथै आवश्यक ठाउँमा सहयोगको प्रयास गरिएको अध्यक्ष महर्जनको भनाइ छ । आश्रममा अहिले २५ जना आश्रित छन् ।