काठमाडौंबाट सहयोगापेक्षी सडकमानवको उद्दार गरिँदै ।

हेटौँडाः मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनले संयुक्तरुपमा आयोजना गरेको मेचि–महाकाली राष्ट्रिय उद्दार यात्रामा २ सय २६ जना सहयोगापेक्षी सडकमानवको उद्दार गरिएको छ । “चाडपर्वको बेला कसैले बस्न नपरोस् सडकपेटीमा” भन्ने उद्देश्यले यात्रा सुरु गरिएको थियो । असोज १६ गतेदेखि सुरु गरिएको सहयोगापेक्षी सडकआश्रित मानवहरुको मेचीमहाकाली राष्ट्रिय उद्वार यात्रा–२०८१ सोमबार काठमाडौंमा समापन गरिएको छ ।

कात्तिक २६ गतेसम्म आयोजना गरिएको यात्राको काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । २८ दिने उद्दार यात्राको विवरण सार्वजनिक गर्नुहुँदै आश्रमका संयोजक रामजी अधिकारीले एक सय ७९ जना पुरुषको उद्दार गरिएको जानकारी दिनुभयो । यस्तै ५७ महिला, ५ बालिका र ४ बालकको उद्दार गरिएको छ ।

कोशी प्रदेशबाट ३५ पुरुष र महिला गरी ४४ जना, मधेस प्रदेशबाट २९ पुरुष र ११ महिला गरी ४० जनाको उद्दार गरिएको छ । बागमती प्रदेशबाट ४० पुरुष र १७ महिला गरी ५७ जना, गण्डकी प्रदेशबाट २७ पुरुष र ८ महिला गरी ३५ जना, लुम्बिनी प्रदेशबाट ४० पुरुष र ९ महिला गरी ४९ जनाको उद्दार गरेका छन् । कर्णाली प्रदेशबाट २ पुरुष र एक महिला गरी तीन जना र सुदूरपश्चिम प्रदेशबाट ६ पुरुष र २ महिला गरी ८ जनाको उद्दार गरेको अधिकारीले जानकारी दिनुभयो ।

७ वटा प्रदेशका ४४ जिल्लामा पुगेर सहयोगापेक्षी सडकआश्रितहरुको उद्दार गरिएको मानसेवा आश्रमले जनाएको छ । काठमाडौं, झापा, पोखरा, हेटौँडा, सर्लाही, पर्वत लगायतका सहरहरुमा पुगेर उद्दार टोलीले सहयोगापेक्षी सडकआश्रितको उद्दार गरेका थिए । जसले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माण एवम् घोषणा वर्ष सफल बनाउन सहयोग पुग्ने छ । २०८२ सालभित्र सडकमानवमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्यसहित मानवसेवा आश्रमले अभियान सञ्चालन गरिरहेको छ । अभियानमा आनी छोइङ डोल्मा पनि सहभागी हुनुहुन्छ ।