हेटौंडाः मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डेले अशक्त नागरिकलाई घरमै पुगेर नागरिकता वितरण गर्नुभएको छ । शनिबार बिदाको दिनमा समेत प्रजिअ पाण्डेले मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेकी ३२ वर्षीया लिलावती गिरीलाई नागरिकता वितरण गर्नुभएको हो । मानसिक सन्तुलन गुमाएकी गिरीलाई परिवार र आफन्तले जिल्ला प्रशासन कार्यालयसम्म पुर्याएर नागरिकता दिलाउन सम्भव नभएको भन्ने जानकारीपछि प्रमुख जिल्ला अधिकारी आफैं नागरिकता वितरणका लागि गिरीको घर पुग्नुभएको हो ।
शनिबार बिहान मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको समेत उपस्थितिमा प्रजिअ पाण्डेले गिरीलाई नागरिकता हस्तान्तरण गर्नुभएको छ । २०५९ सालमा माओवादी द्वन्द्वको समयमा घर नजिकै एम्बुस विष्फोट हुँदा श्रवणशक्ति गुमाउनुका साथै मानसिक सन्तुलन समेत गुमाएकी गिरीले नागरिकता प्राप्त गरेसँगै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सजिलो हुने गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।
गाउँपालिकाले नै नागरिकता शिविरको आयोेजना गर्दा विशेषगरी अशक्त, ज्येष्ठ नागरिकहरु लाभान्वित भइरहेको जानकारी गराउनुहुँदै अध्यक्ष उप्रेतीले आगामी दिनमा पनि शिविरको आयोजना गर्ने विषयमा प्रमुख जिल्ला अधिकारी पाण्डेसँग सल्लाह भएको जानकारी दिनुभएको छ । प्रजिअ पाण्डेले पनि आवश्यकताअनुसार शिविरको आयोजना गर्दा प्रशासनले सहयोग गर्ने बताउनुभएको छ ।