उहिले राम्रो म पढेको हो । आजकाल म बाहेक अरु बिग्रिएर मकल म बनेका छन् । अरुका कुरा छोड्नोस् आफू परिवर्तन हुनुहोस् भनेपछि म बदलिएको छु । यसैले म आजकाल आफूलाई महिलावादी व्यक्तित्व पो ठान्दछु । अरुले ठान्लान् नठान्लान् के चासो ।
आज आफ्नो मोजा आफैं धोएँ । योभन्दा ठूलो प्रमाण के देखाउँ ? अँ हिजो आफूले खाना खाएको थाल पनि आफैंले माझेको थिएँ । यति भैसकेपछि म पुरुष मात्रै किन बनिराख्ने ? म महापुरुषै बनिसकेको छु ।
नारी दिवसका दिन थुप्रै भाषण दिनुपर्नाले भ्याइनभ्याई हुन्छु । बिहानै श्रीमतीलाई चिया खुवाएर दिवसको उद्घाटन गरेको हुँ । घरमा गनगन पनि के सुन्नु भन्या । लुगा अस्ती मोजा धोइसकेकै हो । भाँडा हिजै माझेकै हो । नारी दिवसहरु आएको आमा दिदीबहिनीले पनि प्रष्टै थाहा पाउन् न हो ।
बाहिर पिउँदा घरमा तनाव हुनाले श्रीमान् श्रीमती दुवैले पिउनुपर्छ भन्ने ठानेको हुँदा यस सोचलाई समानता सोच मान्नुपर्छ भन्ने कुरामा विश्वास गर्दछु । आफूले एउटा सितनसँग १ गिलास पिउँदा श्रीमतीले पनि बराबरी नै खानु र पिउनुपर्छ भन्ने मान्यतालाई समता भनेको छु ।
श्रीमतीले प्रसुती विदा पाउँदा त्यति नै मैले पनि पाउनुपर्छ भन्ने कुरालाई मानिसहरुले जसरी लिउन् लिउन् । कुखुराको टाउको र ज्वानोको झोल एक्लै एक्लै खाएपछि महिला–पुरुष समानता हुँदै हुन्न भन्ने सोचलाई दिगो सोचका रुपमा राष्ट्रिय योजनामै समावेश गर्नुपर्ने हो ।
यति धेरै महिलावादी सोच पालिराख्दा पनि मानिसहरू सत्तो सराप गर्दछन् । जस्तोः बाइकमा हिँड्दा स्कूटर चढ्ने नानीलाई एक आँखा झिम्काउँदा गाली गर्ने त होइन नि । अर्काकी श्रीमती भए पनि भाषण दिनेक्रममा मञ्चमा उक्लँदा हात थाप्न पनि नपाउनुले कत्ति खल्लो महसुस हुन्छ । फिल्म हलमा आँशु पुछ्न रुमाल दिनु, एउटै पोकामा पपकर्न खानु, एकै आइसक्रिम पालैपालो खाएर आर्थिक मितव्ययिता सिकाउनुमा मेरो के कमजोरी ?
यत्तिका महापुरुषलाई पनि मान्छेहरू चिन्दै चिन्दैनन् कि क्या हो । आफू सच्चा महिलावादी सोच भएकोमा आफैं फलानो श्री र फलानो रत्नवाला पदक बनाएर भित्तामा झुण्डाउन रहर नलागेको कहाँ हो र ? लौ न कसै न कसैले त रहर पूरा गरिदिनु प¥यो । इति ।