हेटौंडाः गत बैशाखमा आयोजना हुनु अगाडी नै स्थगित भएको अन्तरपालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिता पुनः यहि मंसिर १८ गतेबाट हुने भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा मकवानपुरका १० वटै स्थानिय तहहरुबिच फुटबल प्रतियोगिता हुन लागेको हो ।
जिल्ला समन्वय समिति मकवानपुरको आईतबार बसेको ८४औं बोर्ड बैठकले मकवानपुर जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनामा मंसिर १८ गतेदेखि २५ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभएको छ । स्थानीय स्तरमा फुटबलको विकास गर्ने, नयाँँ खेलाडी उत्पादन गर्ने तथा प्रदेश लिग र राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्न समेत मद्धत पुग्ने उद्देश्यका साथ जिल्ला स्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको प्रमुख खुलालले बताउनुभयो ।
प्रतियोगिताको लागि ७ लाख ५८ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । हेटौंडा–४ स्थित लोकतान्त्रिक हुप्र चौरमा हुने प्रतियोगिताको बिजेताले नगद २ लाख रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । यस्तै विभिन्न विधागत रुपमा समेत पुरस्कारको व्यवस्था गरिएको जिसस मकवानपुरले जनाएको छ । प्रतियोगितामा सहभागि हुने टिमले स्थानीय तहको सिफारिसमा मंसिर १५ गतेसम्म टिम दर्ता गर्नुपर्ने जनाइएको छ । साथै नकआउट चरणमा हुने फुटबल प्रतियोगितामा खेलाडीहरू तथा टिमको सम्पुर्ण व्यवस्थापन तथा खर्चहरु सम्बन्धित स्थानीय तहले गर्नुपर्ने प्रमुख रघुनाथ खुलालले बताउनुभएको छ ।
जिससले गत बैशाखमा नै प्रतियोगिता आयोजना गर्नेगरी तयारी गरेकोमा कोरोना भाइरसको दोस्रो लहरको संक्रमणका कारण अन्तिम समयमा आएर प्रतियोगिता स्थगित भएको थियो । बैशाखमा हुने भनिएको प्रतियोगिताको लागि थाहा नगरपालिकाको टिम समेत हेटौंडा आइसकेको थियो ।