हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडा अव्यवस्थित फुटपाथ र ठेलाहरुले अस्तव्यस्त बनेको छ । नगर प्रहरीले अव्यवस्थित फुटपाथ पसल तथा ठेलामार्फत् हुने व्यापार व्यवस्थित गर्न प्रयास गरे पनि प्रभावकारी हुन सकिरहेको छैन ।
बजारमा हुने भिडभाड कम गर्ने र फुटपाथ नियन्त्रण गर्ने उद्देश्यले ठेलाका तरकारीहरु सडकमा फालिएका उदाहरण थुप्रै छन् । तर व्यापारीहरुले भने हेटौंडा बजारकै मेनरोड तथा चोकहरुमा चाडपर्वको बेला सडकपेटी तथा ठेलाहरुमा तरकारी, चटपटे र मःम पसलहरु राख्ने गरेका छन् । हेटौंडाकै बसपार्क आसपास र खोपेगल्ली सडकपेटीको तरकारी पसलमा १८ वर्षभन्दा मुनिका बालबालिका व्यापारी बन्दै बसेको अवस्था छ ।
करिब ११ वर्षका एक बालकले गोलभेँडाको मूल्य दुई केजीको ५ सय रुपैयाँ पर्छ भनेपछि असोज २६ गते फूलपातीका दिन दुई ग्राहकले अपशब्द प्रयोग गर्दै पिट्ने कामसमेत गरेका थिए । तर सोही ठाउँमै तरकारी बेचिरहेका अर्का व्यापारीले बालक त हो, तरकारीको मूल्य थाहा हुँदैन भने । ती दुई पुरुष ग्राहकले बच्चालाई तरकारी बेच्न राख्ने हो भन्दै गोलभेँडा नकिनेरै हिँडे । यो एक उदाहरणमात्रै हो, यस्ता अन्य घटना भने नभएका होइनन ।
चाडपर्वसँगै तरकारीको मूल्यवृद्वि भएको छ । बिचौलियाकै कारण पनि ग्राहकहरुले बढी मूल्य तिरेर दैनिक तरकारी किन्न बाध्य छन् । यसबेला तिहार पर्व नजिकिँदै छ तर अनुगमन समितिको अत्तोपत्तो छैन । आगामी दिनमा पनि यस्ता घटना नदोहोरिएला भन्न सकिँदैन ।
मकवानपुर उद्योग वाणिज्य संघ र अनुगमन समितिको मूकदर्शकजस्तै बनेका छन् । फुटपाथ पसलमा व्यापार गरिँदा सर्वसाधारणलाई सास्ती हुनुका साथै व्यापारी बालबालिकालाई ग्राहकले हेपाहा व्यवहार देखाउँदै आएका छन् । चाडपर्वको बेला सर्वसाधारणको भिड बढ्ने गर्दछन् । यसले ट्राफिक व्यवस्थापनमा चुनौती बन्नुका साथै सर्वसाधारणलाई सास्ती हुने गर्दछ ।
ट्राफिक व्यवस्थापनमा प्रहरी प्रशासन र नगर प्रहरीसहित चाडपर्वको बेला सुरक्षाका लागि खट्ने गरेका छन् । प्रहरी प्रशासनमाथि ठूला व्यापारीलाई कारबाही गर्न नसकेको आरोप छ । तर प्रहरीले न फुटपाथ पसल राख्ने व्यापारीलाई कारबाही गर्न सके, न त व्यापारी बनेका बालबालिकालाई प्रश्न गर्न सके । यस्तै अस्तव्यस्तरुपमा मोटरसाइकल, अटोहरु पार्किङ गरेर राखिएका छन् । बढ्दो सवारी चाप, साँघुरो सडक, व्यवस्थित र पर्याप्त पार्किङ क्षेत्र नभएको कारण अहिले हेटौंडा बजारको मेनरोडमा सवारी जाम हुने गरेको छ ।
२०५३ सालदेखि नै अहिलेसम्म मकवानपुरमा ११ पोष्टका लागि ३३ जनामात्र ट्राफिक प्रहरीको जनशाक्ति रहेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख प्रकाश पाण्डेले बताउनुभयो । उहाँका अनुसार ५० जनाको ट्राफिक प्रहरी जनशक्ति भएमा ट्राफिक व्यवस्थापनमा सहज हुनुका साथै नगर प्रहरीले समेत फुटपाथ पसलको नियन्त्रण गर्न सकिने बताउनुभयो ।