महिलालाई पुरुषले हेर्ने दृष्टिकोण फरक छ । महिलाहरु पनि समाजका सबै क्षेत्रमा पुरुषसरह अघि बढिरहेका छन् । साहित्य संगम मकवानपुरको ३४ वर्षको इतिहासमा पहिलो महिला अध्यक्ष बन्नुभएको छ, अनिता न्यौपाने । थुप्रै महिलाहरु साहित्यिक क्षेत्रमा क्रियाशील भए पनि संगममा हालसम्म महिला अध्यक्ष हुनु भएको थिएन । महिला साहित्यकारहरु विभिन्न पदमा रहेर काम गर्दै आउनुभएको छ । विभिन्न कारणले शीर्ष नेतृत्वमा पुग्न नसकिरहेको सन्दर्भमा मकवानपुरे साहित्यिक इतिहासमा विशेष पहिचान बनाउन सफल साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपानेसँग समृद्व समाज राष्ट्रिय दैनिककी संवाददाता जमुना थिङले गर्नुभएको कुराकानीको सम्पादित अंश ।
समाजः साहित्य संगम मकवापनुरको इतिहासमा पहिलो महिला अध्यक्ष हुनुभएको छ । कस्तो महसुस भइरहेको छ ?
न्यौपानेः खुसी छु । साथमा अवसरसँगै चुनौती थपिएको महसुस गरेकी छु । साहित्य संगमको ३४ वर्षे इतिहासमा कोही महिला अध्यक्ष हुनु भएन । यसको मतलब यो होइन कि महिला नै थिएनन् । महिला साहित्यकारहरु विभिन्न पदमा रहेर काम गरिसक्नु भएको छ । विभिन्न कारणले नेतृत्वमा पुग्न सक्नु भएको थिएन । नेतृत्वको हिसाबले पहिलो महिला हुने अवसर पाएपनि मकवानपुरे सबै साहित्यकारको प्रतिनिधित्व गरेर म यहाँ पुग्न सफल भएको छु । अब चुनौती र खुसीलाई एकसाथ मिलाएर यो अवसरलाई मकवानपुरे साहित्यको श्रीवृद्धिमा लगाउनेछु ।
समाजः साहित्य संगममा सर्वसम्मत अध्यक्ष चयन हुन सफल हुनुका कारणहरु के के देख्नुहुन्छ ?
न्यौपानेः ठ्याक्कै किन सर्वसम्मत भएँ त्यो त मलाई नै थाहा छैन । तर म साहित्यमा निरन्तर हिँडिरहेको मान्छेचाहिँ हुँ । एउटा कारण यो पनि हुनसक्छ । अर्को, संगमका विभिन्न पदमा मैले धेरै वर्ष बिताएको छु । धेरै अग्रज नेतृत्वसँग काम गरिसकेको छु । पक्कै पनि साहित्यमा मेरो लगनशीलता, इमान्दारिता, लगानीका साथै नेतृत्व गर्न सक्छे भन्ने विश्वासले नै सर्वसम्मतरुपमा नेतृत्व दिनुभएको होला । मैले अर्काे साहित्यिक संस्थाको अध्यक्ष भएर काम पनि गरिरहेकी छु । त्यसमा गरेको कामको प्रभाव पनि होला ।
समाजः संगमको नेतृत्व गर्दै गर्दा तपाईंले के कस्ता योजना बनाउनुभएको छ ?
न्यौपानेः साहित्य संगम मकवानपुरको अग्रणी साहित्यिक संस्था हो । संगमका नियमित साहित्यिक गतिविधिहरूलाई कायम राख्दै नयाँ र उपयोगी कार्यक्रमहरु ल्याइनेछ । मकवानपुरको साहित्यिक इतिहासको बारेमा पुस्तक प्रकाशन गरिनेछ । नवसर्जकहरूका लागि कार्यशालाहरू सञ्चालन हुनेछन् । संगमलाई नै बलियो बनाउन कोषहरू खडा गरिनेछ । साहित्यमा रुचि भएकाहरुलाई साहित्यका विभिन्न विधाहरुका बारेमा ज्ञान दिन अन्य साहित्यिक संघसंस्थासँग सहकार्य गरेर प्रशिक्षण, गोष्ठीहरु सञ्चालन गरिनेछ । हामी कार्ययोजना नै निर्माण गरेर व्यवस्थितरुपमा काम गर्नेछौं ।
समाजः मकवानपुरे साहित्यको सबल र दुर्बल पक्ष के के छन् ?
न्यौपानेः सबल र दुर्बल पक्ष सबै क्षेत्रमा हुन्छन् । मकवानपुरमा धेरै साहित्यिक संघसंस्था क्रियाशील छन् । सबैले आआफ्नो ठाउँबाट काम गरिरहनु भएको छ । यहि माटोबाट यहि क्षेत्रमा लागेर धेरैले आफ्नो पहिचान बनाइसक्नु भएको छ । साहित्यमार्फत् समाज परिवर्तनमा योगदान पनि दिइरहनु भएको छ । समाजका विभिन्न क्षेत्रका विकृति, विसंगतिविरुद्ध अनवरतरूपमा कलम चलिरहेकै छ । साहित्यमार्फत् समाजलाई सचेत गराउन सफल भएको देखिन्छ । यस हिसाबले हेर्दा मकवानपुरे साहित्यमा दुर्बल पक्ष भन्दा सबल पक्ष धेरै देखिन्छ । यसो भन्दै गर्दा दुर्बल पक्ष नदेखिएका भने होइनन् । बेलाबेलामा वैैचारिक द्वन्द्व भइरहेका छन् । साहित्यमा समयसमयमा हुने राजनीतिले पनि केहि समस्या पारिरहेको छ । तर पनि बहस छलफलले एउटा निचोडमा पुगिने भएकाले यसलाई नराम्रो मान्न सकिँदैन ।
समाजः मकवानपुरे साहित्यमा महिलाको उपस्थिति कस्तो पाउनुभएको छ ?
न्यौपानेः पुरूषहरूको तुलनामा मकवानपुरको साहित्यमा महिलाको उपस्थिति न्यून छ । परिवार, विवाह, जागिरलगायत कारणले पनि साहित्यमा महिलालाई निरन्तरतामा समस्या देखिन्छ । एउटा उमेर भएपछि फरक परिवेश, भूगोलमा पुग्नुपर्ने भएकाले पनि कतिपयले यसलाई चाहेर पनि निरन्तरता दिन सक्नुभएको छैन । तर पनि पहिलाको तुलनामा साहित्य लेख्ने महिलाहरुको संख्या वृद्धि भएको छ । पछिल्लो समय विभिन्न समस्या र अवरोधका बीच पनि साहित्य लेखनीमा महिलाहरु लागिरहनु भएको छ । जुन मकवानपुरे साहित्यका लागि खुसीको कुरा पनि हो । त्यसमा पनि महिला साहित्यकारहरुको मात्रै संस्था आँचल साहित्य कला पुञ्जको स्थापनापछि भने छरिएर रहेका नारीहरू एकीकृत हुँदै गएका छन् । जसले संस्थामा आवद्ध हुने र त्यसले लेखनीमा उत्साह थप्ने काम गरिरहेको छ ।
समाजः मकवानपुरे साहित्यको विकासका लागि के के गर्नुपर्ने देख्नुहुन्छ ?
न्यौपानेः मकवानपुरे साहित्यको विकासमा सम्पूर्ण साहित्यिक संस्था र राज्यको सहकार्य हुनु जरूरी देखिन्छ । राज्यले साहित्यको विकासमा खासै ध्यान दिएको पाइँदैन । परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनमा साहित्यकार र साहित्यिक संघसंस्थाको ठूलो भूमिका छ । हामी पनि परिवर्तनका लागि सडकमा उत्रिएका थियौं । साहित्यमार्फत् खबरदारी गरेका थियौं । तर अहिले राज्यले साहित्यलाई उपेक्षा गरिरहेको छ । स्थानीय तहहरुले यसलाई उपयोगविहीन क्षेत्रको रुपमा लिइरहनु भएको छ । जबसम्म जनप्रतिनिधिहरुले साहित्य पनि एउटा आन्दोलन हो भन्ने बुझ्नुहुन्न, तबसम्म यसको विकासमा समस्या छ । हामी सिमित स्रोतसाधनका बाबजुद पनि निरन्तर क्रियाशील छौं । सहयोगी मनहरुको साथले गर्दा अहिलेको स्थानसम्म आइपुगेका छौं । अझै धेरै काम गर्न बाँकी छ । जुन हामीमा भएको स्रोतसाधनले मात्र सम्भव छैन ।