मकवानपुरको शैक्षिक धरोहरका रुपमा रहेको मकवानपुर बहुमुखी क्याम्पसको ख्याति जिल्ला बाहिर पनि राम्रो छ । समुदायस्तरबाट सञ्चालित बहुमुखी क्याम्पसले यस क्षेत्रमा पु¥याएको शैक्षिक योगदानको उच्च कदर हुनै पर्दछ । त्यसैले त्रिभुवन विश्वविद्यालय अनुदान आयोगबाट पनि आर्थिक सहयोग पाउँदै आएको छ । आर्थिक, भौतिक तथा गुणस्तर सबै दृष्टिकोणबाट क्याम्पस सफल नै देखिन्छ । लोकप्रिय र सफल क्याम्पसले आफ्ना लागि केही नयाँ काम गर्न कसैलाई गुहार्नुपर्ने अवस्था छैन र हात फैलाइएको अवस्थामा रित्तो हात हुने अवस्था पनि छैन । तर क्याम्पसले अन्य सामाजिक क्षेत्रमा अझै आफूलाई उभ्याउन सकेको छैन । यसका लागि क्याम्पस नेतृत्वमा भरपर्ने देखिन्छ । नयाँ दृष्टिकोण र हुटहुटी भएको नेतृत्व आवश्यक हुन्छ ।

क्याम्पसलाई आजको अवस्थासम्म पु¥याउन विभिन्न व्यक्तित्वको योगदान छ । त्यसमध्ये संस्थापकहरुको मिहिनेत र लगनशीलताको मूल्यांकन हुनुपर्दछ । तर कुनै पनि संस्थाको स्थापनापछि मानिसहरुले संस्थापकलाई बिर्संदै गएका हुन्छन् । संस्थाको आवश्यकता महशुस गर्नुदेखि स्थापना, तत्कालीन कठिनाई, अवरोध, आर्थिक संकट तथा नैतिक समर्थनजस्ता कुराबाट संस्था स्थापना गर्नु र अघि बढाउनु चुनौतीको विषय हो । संस्था स्थापित भएपछि आउने नेतृत्वबीच हानाथाप हुनथाल्छ । सुरुवातका कठिन अवस्था थाहा नहुनेहरु नै पछिल्लो पटक संस्थाको ठूलो योगदानदाता कहलिन पुग्छन् । यस्तो अवस्था आउन नदिन र इतिहासलाई जीवित राख्ने काम हुनुपर्दछ । इतिहासबाट नै नयाँ योजना बनाउन सहयोग पुग्ने भएकाले ती पात्रहरुलाई कुनै न कुनै माध्यमले जीवित राख्ने प्रयास गरिनुपर्दछ ।

जिल्लाको उच्च शिक्षामा महत्वपूर्ण योगदान दिन सफल क्याम्पसको संस्थापक क्याम्पस प्रमुखको योगदानलाई चिरस्थायी बनाउने अभियान सुरु भएको छ । क्याम्पसका पूर्वविद्यार्थीहरुले नै यसको अगुवाई गरेका छन् । अत्यन्त सकारात्मक कामको सुरुवात हो । ढिलै भए पनि विद्यार्थीहरुले राम्रो अभियान सुरु गरेका छन् । संस्थापक क्याम्पस प्रमुख मुकुन्ददास श्रेष्ठको अर्धकदको शालिक निर्माण गरिने भएको छ । श्रेष्ठले क्याम्पसको स्थापना र विकासमा पु¥याउनुभएको योगदानको सम्मान गर्दै पूर्वविद्यार्थीहरुको संगठनले शालिक निर्माण गर्ने भएको हो । २०७२ सालको भूकम्पमा परी श्रेष्ठको निधन भएको थियो । २०३७ सालमा क्याम्पस स्थापना भएदेखि क्याम्पस प्रमुख हुनुभएका श्रेष्ठले २०४५ सालसम्म क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको थियो । शालिक निर्माण गरी २०७९ साल बैशाख १२ गते अनावरण गरिने बताइएको छ ।

भूकम्प गएको लामो समयपछि क्याम्पसका पूर्वविद्यार्थीहरुले संस्थापकलाई सम्झेका छन् । २०७२ सालको महाभूकम्पमा परी काठमाडौंमा निधन हुनुभएका श्रेष्ठको योगदानलाई स्मरण गर्ने अभियानमा स्थानीय तहदेखि क्याम्पस स्वयम्को योगदान आवश्यक हुन्छ । मकवानपुरका धेरैजनाले महाभूकम्पमा ज्यान गुमाएका थिए । त्यसमध्येका श्रेष्ठलाई क्याम्पसले स्मरण गर्नु आवश्यक थियो । तर लामो समयसम्म पनि उनलाई कुनै प्रकारले स्मरण गर्ने प्रयास नभएकाले पूर्वविद्यार्थीहरु सक्रिय भएका छन् । कुनै व्यक्तित्वलाई स्मरण गर्न गरिने अन्य कुनै कार्यक्रम भन्दा शालिक निर्माण दीर्घरुपी हुन्छ । क्याम्पस परिसरमा शालिक स्थापना गर्दा भावी पुस्ताले समेत उनको योगदानबारे जानकारी पाउनेछन् । यसका लागि शालिकसहित पूर्ण जानकारीसहितको विवरणसमेत राखिनु आवश्यक छ ।