हेटौंडाः हेटौंडाको एक मन्टेश्वरी विद्यालयलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले १० हजार रुपैयाँ जरिवाना गरेको छ । हेटौंडा बजारस्थित शुभारम्भ बालबाटिकाले निषेधाज्ञाको अटेर गर्दै संचालन गरेकोमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले संचालन गर्नेलाई पक्राउ गरी आइतबार जरिवाना गरेर छाडेको हो ।
आइतबार मकवानपुर प्रहरीले जिल्लामा जारी निषेधाज्ञा अवज्ञा गर्दै पसल संचालन गर्ने एक जनालाई पनि पक्राउ गरेको छ । उनलाई पनि जिल्ला प्रशासन मकवानपुरले ५ हजार रुपैयाँ जरिवाना गरेर छाडेको छ ।
यसैगरी जिल्लामा मास्क नलगाई हिड्ने ८८ जनालाई प्रहरीले एक सयको दरले जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय मकावनपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो । प्रहरीले सुरु गरेको मास्क अभियान अन्तर्गत ३५१ थान मास्क आइतबार वितरण भएको उहाँले बताउनुभयो ।